गाइघाट–दिक्तेल सडक अलपत्र पार्ने दुई भारतीय सहित पाँच निर्माण कम्पनी कालो सूचीमा

  • प्रकाशित मितिः साउन २८, २०८१
  • 233 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २८–गाइघाट–दिक्तेल सडक अलपत्र पार्ने दुई भारतीय निर्माण कम्पनी सहित पाँच निर्माण कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालय बबरमहलले गाइघाट–दिक्तेल सडक अलपत्र पार्ने विभिन्न पाँच निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो ।
गत साउन २५ गते प्रकाशित सूचना अनुसार साउन २४ गतेको सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्णयले सूचना प्रकाशित भएको मितिले लागू हुने गरी भारत कन्ट्रक्सन पी.पी.सी.एल. हरिद्वारवाइपास, देहरादुन भारत र सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि क्षेत्रपाटी काठमाडौंलाई तीन वर्ष, देवनारायण पवन कन्स्ट्रक्सन प्रालि मुलीगन्ज मधेपुरा बिहार भारत, मैनाचुली निर्माण सेवा प्रालि भद्रपुर–४ झापा र खम्पाचे शेर्पा निर्माण सेवा प्रालि काठमाडौंलाई दुई वर्षका लागि कालो सूचीमा राखेको हो ।


देवनारायण मैनाचुलीनसकी खम्पाची जेभीले गाइघाट–दिक्तेल सडक अन्तरगत खोटाङको फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर) सडक करिब ४९ करोडको लागतमा २०७७ साउन १० गतभित्र सक्ने गरी २०७३ साउन ११ गते संझौता गरेर काम थालेको थियो । तर उक्त निर्माण कम्पनीको प्रगति भौतिक ६२ र वित्तीय ६०.३ प्रतिशत मात्र देखिन्छ । उक्त निर्माण कम्पनीले काम अलपत्र पारेपछि २०७९ भदौमा ठेक्का तोडिएको थियो । निर्माण कम्पनीले पाटनस्थित उच्च अदालतमा ठेक्का तोड्ने निर्णय विरुद्ध दिएको उजुरीपछि उच्च अदालतले फेरि विभागको निर्णयलाई सदर गर्दै २०८० असोजमा फैसला सुनाएको थियो ।
त्यसै गरी फोक्सिङटार–सिम्पानी सडक खण्डको कन्ट्रक्सन निर्माणको काम लागि ठेक्का लिएको मैनाचुली–सिद्धिसायी–प्रकाश जेभीले करिब ११ करोडको लागतमा २०७७ साउन १० गतेभित्र सक्ने गरी २०७३ साउन ११ गते संझौता गरेर काम थाले पनि अलपत्र पारेकापछि २०७९ भदौमा ठेक्का तोडिएको थियो । उक्त निर्माण कम्पनीको काम ८० प्रतिशत मात्र भौतिक र वित्तीय प्रगति देखिएको छ । ठेक्का तोडिएपछि निर्माण कम्पनीले पाटनस्थित उच्च अदालतमा ठेक्का तोड्ने निर्णय विरुद्ध अन्तरिम आदेशका लागि दिएको उजुरीमा विभागको निर्णयलाई सदर गर्दै २०८० असोजमै फैसला सुनाएको थियो ।
भारत कन्ट्रक्सन–सिद्धिसायी जेभीले सिम्पानी–महुरे (२२ किलोमिटर) सडक निर्माणको ठेक्का २०७७ असार ३० गतेभित्र सक्ने गरी लिए पनि काम अलपत्र छाडेर हिडेपछि गत माघ २९ गते ठेक्का तोडिएको थियो । करिब ४६ करोडको लागतमा निर्माण थालिएको उक्त सडक खण्डको भौतिक र वित्तीय प्रगति ४३.६२ प्रतिशत गाइघाट–दिक्तेल सडक आयोजना गाइघाटका इन्जिनियर नारायण थापाले बताए ।
२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु भएको गाइघाट–दिक्तेल सडक अझै पूरा भएको छैन । त्यत्ति बेला खोटाङ क्षेत्र नं ३ बाट निर्वाचित तत्कालीन यायातायात राज्य मन्त्री अशोककुमार राईको पहलमा सुरु भएको उक्त सडक अलपत्र पारेपछि तराईसंग यातायात सम्वन्ध जोडिन नसकेको हो । बेलामा सडक नबन्दा जिल्लाको विकासमा बाधा पुगेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित