मझुवागढी मासेर खानेपानी ट्याङ्की (भिडियो सहित)

  • प्रकाशित मितिः साउन २७, २०८१
  • 176 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २७–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ऐतिहासिक मझुवागढी मासेर खानेपानी ट्यांकी निर्माण गरिएको सरोकारवालाहरूले गुनासो गरेका छन् । ऐतिहासिक सम्पदा संरक्षण गर्नुको साटो त्यसलाई मासेर ट्यांकी निर्माण गरिएको भन्दै गुनासो गरेका हुन् ।
मझुवागढीको दक्षिण–पश्चिततर्फको बंकरभित्रै लिफ्टिङ प्रविधिको खानेपानी ट्यांकी निर्माण गरिएकाले ऐतिहासिक सम्पदा ध्वस्त भएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए । मेवाखोला लिफ्टिङ खानेपानी योजनाको डिष्टिब्युसन ट्यांकी मझुवागढीको बङकरभित्रै निर्माण गरिएको र यसले पुरातात्विक सम्पदा ध्वस्त पारिएको किरातको भनाई छ ।
मझुवागढी संरक्षण समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका पूर्वप्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे लगायतको अगुवाइमा ट्यांकी बनाउने निर्णय गरिएको खुलेको छ । ऐतिहासिक सम्पदा मासेर ट्याङ्की निर्माण गरिनु निन्दनीय विषय बनेको सरोकारवालाहरूको भनाई छ ।
नगरप्रमुख तीर्थराज भट्टराईले पनि मझुवागढी संरक्षण समिति, सामुदायिव वन उपभोक्ता समूह, खानेपानी उपभोक्ता समिति लगायतको सहमतीमै ट्याङ्की बनाउने ठाउँ निर्धारण गरिएको बताएका छन् ।
किरात राई यायोक्खा खोटाङका अध्यक्ष किरातले भने यसबारे भएको एउटा मात्रै बैठकमा सहभागी भएको र अन्यमा सहभागी नभएको बताएका छन् ।
५४ करोड ६७ लाख नौ हजार सात सय १४ रूपैयाँको लागतमा दिक्तेल, खाल्ले, लफ्याङ, बाम्राङ लगायतका करिब ५ हजार घरधुरीलाई पुग्ने गरी योजना सञ्चालन गरिएको हो । २०८२ भदौ ४ गतेसम्म सक्ने गरी २०७९ साउन २२ गते मृत संजीवनी सगरमाथा जेवीले सम्झौता गरेको थियो । उक्त ठाउँमा १८०४ सालसम्म रणवीर राईले राज्य गरेको स्थानीयको भनाई छ ।
ऐतिहासिक गढीको जग्गा स्थानीयले कब्जा गरेर आफ्नो नाममा दर्ता गरेको र उक्त जग्गा सशस्त्र प्रहरी बल हलेसी गुल्मलाई बेचिएको समेत गुनासो छ । गढीका पूर्वतर्फको जग्गामा भएको सशस्त्र प्रहरी बल हलेसी गुल्मको ब्यारेक अन्य ठाउँमा व्यवस्थापन गर्नुपर्ने समेत सरोकारवालाहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित