चितुवा आतङ्क : दुई दर्जन पशुचौपाया खायो (भिडियो सहित)

  • प्रकाशित मितिः साउन २४, २०८१
  • 757 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २४–चितुवाले जिल्लामा पछिल्लो समयमा करिब दुई दर्जन पशुचौपाया खाएपछि किसान आतङ्कित भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा पशुचौपाया खाएपछि किसान आतङ्कित भएका हुन् ।
साउन २१ गते राती बाराहापोखरी गाउँपालिका–१ का हाकिमध्वज राईको घर छेउको गोठमा एउटा खसी मार्नुका साथै गोठबाट लगेर करिब पाँच सय मिटर पश्चिममा लगेर आधा खाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाडाँगाउँका कृष्ण कार्कीको दुई वटा बाख्रा र एउटा खसी साउन २१ गते दिउसो मारेको तथा एउटा खसी घाइते बनाएको कार्कीले बताए ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका भीममायाँ चौहानको घर बाहिर बाधेको कुकुर साउन १९ गते मारेको छ । त्यसै दिन उक्त गाउँकै पशुपति भण्डारीको खोरमा बाधिराखेको एउटा खसी मारेको र साउन १८ गते दिउसो चराउन जङ्गल लगेको बेला त्यही गाउँका देवीबहादुर कार्कीको एउटा बोका खाएको प्रहरीले जनाएको छ ।
केपिलासगढी गाउँपालिका–२ खार्तम्छा मामतिममा सबैभन्दा बढी पशुचौपाया क्षति गरेको छ । वडाअध्यक्ष मिलन राईका अनुसार समला राईको एउटा बाख्रा, रञ्जीत राईको दुई वटा बाख्रा, देवराज राईको दुई वटा बाख्रा, मिनालक्ष्मी राईको एउटा बाख्रा, भरत विष्टको एउटा बाख्रा, हर्काश खड्काको दुई वटा बाख्रा, कुमारी खड्काको दुई वटा बाख्रा, बुद्धिराज राईको चार वटा सुगुर खाएको छ ।
उक्त टोलमा मारेको पशुचौपाया गाउँपालिकाको राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तरगत अनुदानबाट वितरण गरिएको वडाअध्यक्ष राईको भनाई छ ।
जिल्लामा पशुचौपाया मार्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरीले डिभिजन वन कार्यालय खोटाङलाई पत्र मार्फत आग्रह गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । डिभिजन वन कार्यालय खोटाङका प्रमुख पशुपति दाहालले पशुचौपाया क्षति नियन्त्रणका लागि मातहतका वन कार्यालयहरूलाई पत्राचार गरिएको र क्षतिपूर्तिका लागि पहल सुरु गरेको बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित