नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २०–बुइपास्थित यलम्बर रङ्गशालामा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता असार २० गते सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजन सुरु खेलको पहिलो दिन भएका चार खेलमा खोटाङ, ओखलढुङ्गा, ताप्लेजुङ र इलामले जितेको छ ।
पहिलो खेलमा सोलुखुम्बुलाई शून्यको विरुद्ध एक गोलले हराउँदै ओखलढुङ्गाले विजयी यात्रा सुरु गरेको छ । खेलको पहिलो हाफको पाँचौँ मिनेटमा ओखलढुङ्गाकी सम्झना राईले गरेको गोल नै निर्णायक भएको छ । उक्त खेल अवधिभरको म्यान अफ दि म्याच ओखलढुङ्गाकी सम्झना राई घोषित भइन् । उनले नगद दुई हजारको साथमा मेडल र प्रमाणपत्र पाइन् ।
त्यस्तै इलाम र उदयपुर बीच भएको दोस्रो खेलमा ट्राइब्रेकरमा इलाम विजयी भयो । पहिलो हाफको ३२ औँ मिनेटमा इलामकी मनिता तामाङले गोल गर्दै अग्रता दिलाएको खेलमा दोस्रो हाफको तीन मिनेटमै उदयपुरकी अनिशा राईले गोल फर्काएपछि बराबरी भयो । निर्धारित समयमा दुवैतर्फको एक÷एक गोल भएपछि खेल ट्राइब्रेकरमा इलामले दुई गोल गर्दा उदयपुरका खेलाडीले कुनै पनि गोल गर्न नसकेपछि इलामले जित हात पारेको हो । उक्त ट्राइब्रेकरमा उदयपुरका खेलाडीका सबै गोल इलामकी गोलरक्षक समिक्षा राईले रोकेपछि इलाम विजयी भएको हो । इलाम र उदयपुरबीचको खेलमा इलामकी गोलरक्षक समीक्षा राई म्यान अफ दि म्याच घोषित भइन् ।
धनकुटा र ताप्लेजुङबीच भएको तेस्रो खेलमा ताप्लेजुङ विजयी भएको छ । पहिलो हाफमा दुवैतर्फ कुनै पनि गोल नभएको खेलको दोस्रो हाफको आठौँ मिनेटमा ताप्लेजुङकी सुजता लिम्बुले गोल गरेकी थिइन् । उक्त खेल अवधिभरको म्यान अफ दि म्याच ताप्लेजुङकी सुजता लिम्बु घोषित भइन् ।
चौथो खेलमा खोटाङ ट्राइब्रेकरमा विजयी भएको छ । सुनसरी र खोटाङ बीच भएको खेलको निर्धारित समयमा दुवैतर्फका एक÷एक गोलको बराबरी भएपछि ट्राइब्रेकर भएको थियो । पहिलो हाफमा खोटाङकी सजना राई गोल गर्दै टिमलाई अग्रता दिलाए पनि दोस्रो हाफमा सुनसरीकी योगिता निरौलाले एक गोल फर्काएपछि बराबरी भएको थियो । पाँच÷पाँच जना खेलाडीले प्रहार गरेको ट्राइब्रेकरमा खोटाङ ४–३ गोल अन्तरले विजयी भएको हो । सुनसरी र खोटाङबीच भएको खेल अवधिभरको म्यान अफ दि म्याच खोटाङकी सजना राई घोषित भइन् ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको २० लाख सहयोग सञ्चालन भएको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने जिल्ला खेलकुल विकास समिति खोटाङका अध्यक्ष रमेश राईले बताए । प्रतियोगितामा वेष्ट गोलकिपर, वेष्ट डिफेण्डर, वेष्ट मिडफिल्डर, वेष्ट फरवार्ड, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार र वेष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई जनही दुई हजारसहित मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिता सम्पन्न गर्न ४२ लाख लागत लाग्ने अनुमान गरिएको राईले बताए । रकम अपुग हुन भएपछि जिल्लास्थित स्थानीयतहलाई समेत सहयोग मागिएको उनले सुनाए ।
आगामी असार २५ गतेसम्म हुने खेलको उद्घाटन कोशी प्रदेश सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गरेका हुन् । प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित