शी लिड्स कार्यक्रमले ल्याएको परिवर्तन

  • प्रकाशित मितिः असार १७, २०८१
  • 366 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार १७–‘सुरुमा आफ्नो कुरा समेत निर्धक्कले राख्न सक्दिन थिएँ’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी दलित महिला सदस्य रेखा रम्तेलले भनिन्–‘अहिले भने आफ्नो मात्र होइन, जनताको आवश्यकताको विषयमा आवाज उठाउन सक्ने भएकी छु ।’
२०७६ सालमा दलित महिला केन्द्र नेपाल अन्तरगत शी लिड्स कार्यक्रमले महिलाको क्षमता विकासका लागि तालिम दिलाएपछि दलित तथा महिलाहरूको आवाज उठाउन सक्ने भएको रम्तेल बताउछिन् ।


त्यस्तै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमकी महिला सदस्य गमिता राई, दिक्तेल रूपाकोट मझुवागढी नगरकार्यपालिका सदस्यहरू धनशोभा राई, अन्जना केसी बस्नेत, मिना कार्की, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी दलित महिला सदस्य गोमा विश्वकर्मा लगायतमा पनि शी लिड्सको तालिमले मनोबल बढेको छ । पहिलेदेखि नै राजनीति गर्ने भए पनि तालिमपछि अझ सशक्त रूपमा आवाज उठाउन खुराक बनेको अन्जना केसी बस्नेतले बताइन् । ‘पहिले भाषण गर्न सक्दिन थिएँ, अहिले त जहीँ पनि बोल्न सक्ने भएकी छु, त्यत्ति मात्र होइन, योजना माग गर्न सक्ने, जनताका लागि सबै गर्न सक्ने भाकी छु ।’


पछिल्लो समय मुलुकमा संघीय संरचना लागू भएपछि महिला जनप्रतिनिधिहरू निर्वाचित हुने व्यवस्था भए पनि दलका पुरुष नेताहरूको मुख ताक्नु पर्ने अवस्था भएको, दलका पुरुष नेताहरूको आफू अनुकूलको तथा क्षमताविहीन लगायतकालाई निर्वाचित गराउने गरेकाले अधिकारको पक्षमा बोल्न र निर्णय हुन नसक्ने अवस्थाको अन्त्यका लागि यो कार्यक्रमले सहयोग गरेको उनीहरूको भनाई छ । यस्ताखाले अधिकारमुखी कामका लागि कसैले पनि काम नगरेको तर शी लिड्सले भने चेतना दिलाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका कार्यपालिका सदस्य मीना कार्कीले बताइन् ।
‘अब महिलाहरू घरको काममा मात्र होइन, सामाजिक, राजनीतिक निर्णय तहमा पनि पुग्न सक्छ भन्ने पुष्टि भइसकेको छ,’ कार्कीले भनिन्–‘अब पहिलाकोजस्तो दुस्प्रचार, द्वेषपूर्ण अभिव्यक्तिसंग डराएर घरमा सिमित हुदैन, नीति निर्माण गर्ने तहमा पुगेर आफ्नो अधिकार प्राप्तिका लागि लड्न सक्छ ।’
शी लिड्सले तालिम दिलाएपछि जनताको काम गर्न सहज भएको कार्कीको भनाई छ । ‘निर्वाचित भएपछि के गर्ने भन्ने थाहा थिएन,’ कार्कीले भनिन्–‘तालिम लिएपछि के गर्ने, के नगर्नेदेखि अरु धेरै विषयमा सिकियो, खुसी लागेको छ ।’


उनीहरूलाई जस्तै अन्य महिला जनप्रतिनिधिहरूलाई आवाज उठाउन शी लिड्स्ले होस्टेमा हैसे गरेको छ । जिल्लाका एक सय ३७ जना महिला जनप्रतिनिधिहरूले तालिम लिएका छन् । जिल्लाका आठ स्थानीय तहका महिला जनप्रतिनिधिहरूको क्षमता विकासका लागि शी लिड्सले काम गरिरहेको शी लिड्स कार्यक्रम जिल्ला संयोजक मिलन चाहारले बताए । यसअन्तरगत पारिवारिक तालिम ९९ जना, मेन्टरिङ तालिम ७२ जना, मेन्टरिङ फेमिली मिटिङ ७२, स्थानीय सरकारसंग समन्वयत्मक बैठक गरी लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति (जेसी पोलेसी) सम्वन्धी जानकारी १९ जना, मेन्टरिङ कार्यक्रमका लागि ४ जना, महिला कार्यपालिका सदस्यका लागि पुनर्ताजगी तालिम ३६ जना, जिल्लाका ८ स्थानीय तहसंग जेसी पोलेसीसम्वन्धी अन्तरक्रिया कार्यक्रम, प्रदेशस्तरमा दुई पत्रकार र दुई महिलालाई तालिम, राजनीतिक दलका महिला विभाग प्रशिक्षण विभागलाई अभिमुखीकरण लगायतका कार्यक्रम गरिएको चाहारले बताए ।


शी लिड्स कार्यक्रम स्वीस सरकार, अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा आइफेसको प्राविधिक सहयोगमा दलित महिला केन्द नेपालको आयोजनामा सञ्चालन भएको हो । खोटाङको दश स्थानीय तहमध्ये ऐसेलुखर्क, रावावेसी, साकेला, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा गाउँपालिका तथा हलेसी तुवाचुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालित छ । आठै पालिकाका महिला कार्यपालिका सदस्य, महिला सदस्य, दलित महिला सदस्य तथा खुल्ला महिला सदस्यहरूलाई महिला जनप्रतिनिधिका लागि विभिन्न तालिमहरू सञ्चालन गरिएको छ ।


यो कार्यक्रमले स्थानीय तहहरूमा प्रभाव परेको छ । विभिन्न स्थानीय तहहरूले बजेट समेत विनियोजन गर्न थालेका छन् । हलेसी तुवाचुङ नगरपालिकाले जेसी नीति कार्यान्वयनका लागि चार करोड विनियोजन गरेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र जन्तेढुङ्गा गाउँपालिकाका लागि प्रदेश प्रशिक्षण केन्द्रले जेसी नीति निर्माण गर्ने तय गरेको चाहारले सुनाए । यसबाहेक साकेला गाउँपालिकाले दुई लाख, रावाबेसी गाउँपालिकाले तीन लाख, खोटेहाङ गाउँपालिकाले चार लाख तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्ने नीति पारित गरेको छ । समता मुलुक समाज निर्माणमा महिला नेतृत्वको भूमिका रहने भएकाले यो कार्यक्रमको अवधि थप्नु पर्ने सहभागीहरूको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित