दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ११ औं नगर सभाबाट पारित नीति तथा कार्यक्रम (भिडियो सहित)
प्रकाशित मितिः असार १०, २०८१
962 पटक पढिएको
संवादताता
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आ.व. २०८1।082 को वार्षिक नीति तथा कार्यक्रम
यस सम्मानित नगर सभामा उपस्थित आदरणीय नगर उपप्रमुखज्यू,
सम्मानित नगरसभाका सदस्यज्यूहरु,
राष्ट्र सेवक कर्मचारीज्यूहरू,
आमन्त्रित राज्यका चौथो अंगपत्रकार साथीहरु,
सर्वप्रथम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनार्थ संघर्षका हरेक मोर्चाको अग्रपंक्तिमा रहेर बलीदान दिने तमाम् वीर शहीदहरू प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्न चाहन्छु। त्यसै गरी सुन्दर सपना बोकेर राष्ट्रको उन्नयनका निम्ति घाइते, अङ्गभङ्ग तथा वेपत्ता हुनुभएका तमाम योद्धाहरु तथा योगदान गर्नु हुने महानुभावहरू प्रति शिर झुकाएर सम्मान प्रकट गर्न चाहन्छु।
सम्मानित नगरसभाका सदस्यज्यूहरु,
अव म चालु आ.व.मा भए गरेका मूख्य-मूख्य तथा उल्लेखनीय कामहरू संक्षिप्तमा प्रस्तुत गर्न चाहन्छु।
खोटाङ जिल्लाको सदरमुकाममा अवस्थित यो नगरपालिका प्राकृतिक स्रोत, साधन तथा मानवीय संशाधनको हिसाबले अग्रणी नगरको रुपमा रहेको छ। हामी निर्वाचित भएपछि नगरको समृद्धि र समुन्नतिका लागि "मेरो नगर-म बनाउँछु", "अहिले नबनाए कहिले बनाउने?मैले नबनाए कस्ले बनाउने?" भन्ने दृढता बोकेर सहकार्य गर्दै हामी निरन्तर सक्रिय रहेका छौं।
"नगर हाम्रो प्राण-नगर हाम्रो शान, नगरमै छ जिन्दगी-विकासमा छ ध्यान" भन्ने मूल उद्देश्य लिएर नगरपालिकाको समग्र भौतिक पूर्वाधार विकासका साथ-साथै सामाजिक, आर्थिक, सुशासन तथा संस्थागत विकासका क्षेत्रमा समेत हामी निरन्तर लागि परेका छौं। नगरभित्रका प्राकृतिक श्रोत र साधनको वृहत्तर सदुपयोग गर्दै यहाँका बौद्धिक, सामाजिक, साँस्कृतिक, साहित्यीक एवं उद्यमशील जनशक्तिलाई सम्मानित ढंगबाट स्वत:स्फुर्त रुपमा यो नगरको समृद्धिमा सहभागी गराउन सकियो भने मात्रै समाजवादङा छुमा तेम्माखारुतिम मुमा तेम्मासुङ, चारिकू हमा होसुङरिलुङ दिम पोर्मैमा (समाजवादउन्मुख नगरपालिका निर्माणका आधार, पर्यावरण तथा संस्कृतिमैत्री विकास) भन्ने हाम्रो उद्देश्य प्राप्त हुने कुरामा हामी विश्वस्त छौं।
सम्बन्धित निकायहरू र निर्माण व्यवसायीहरूसंगको हाम्रो निरन्तरको समन्वय र ताकेताका कारण वर्षौदेखि अलपत्र रहेको मध्य पहाडी लोकमार्ग अन्तर्गत रहेका मेवा खोला, छेपे खोला र भालु खोलाका पक्की पुलहरू सम्पन्न भएका छन्, त्यसै गरी, अस्पताल चोक-खानीडांडा-आहाले सडक खण्ड, हुर्लुङ-जाल्पा सडक, दिक्तेल बजार ढलान, अस्पताल चोक-दोर्पा-दुम्ली सडक लगायतका योजनाहरूको काम धमाधम भईरहेका छन् र कुनै-कुनै योजनाहरूको स्रोत सुनिश्चितता भएको छ, भने अस्पताल चोक-लफ्याङ साप्सु, मध्य पहाडी लोकमार्ग अन्तर्गत रहेका केही सडक खण्ड तथा पक्की पुलहरू लगायत केहि योजनाहरू निर्माण व्यवसायीको गैह्र जिम्मेवारीपनका कारण सुस्त रुपमा भर्इ रहेका छन् भने केही अझै अलपत्र नै रहेका छन्। तर, हामी नागरिकको शक्ति लिएर निर्माण व्यवसायी र सम्बन्धित निकायहरूमा विभिन्न प्रकारका दबाबहरु निरन्तर गरिरहेका छौँ र गरिरहने छौं।
दिक्तेल-आहाले-दिखुवा-रेग्मिटार सडकलाई प्रदेश गौरवको योजनामा समावेश गर्ने हाम्रो निरन्तर प्रयत्न जारी रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको संयुक्त आयोजनामा मिति 2080 असोज 17 देखी 23 गतेसम्म यस नगरपालिकाको विभिन्न स्थानहरूमा मुन्दुम अनतर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी-२०८० को प्रथम चरणको कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको थियो। उक्त कार्यक्रममा नेपाल लगायत 14 देशका ४३ जना मुर्धन्य चित्रकारहरुको महत्वपूर्ण उपस्थिति रहेको थियो। त्यसै गरी, मिति 2080 फाल्गुण 5 देखी 17 गतेसम्म बबरमहल, काठमाडौं स्थित नेपाल आर्ट काउन्सिलमा दोस्रो चरणको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८० कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको थियो। समग्र जिल्ला तथा नगरपालिकाको कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी गर्ने देशकै पहिलो नगरपालिका बन्न सफल भएका छौं। उक्त दुवै कार्यक्रमलाई सभ्य र भव्य तवरले सफल बनाउन आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुहुने राजनैतिक दल, विभिन्न तह-तप्काका व्यक्तित्वहरू, संघ-संस्था लगायत सम्पूर्ण सरोकारवालाहरूलाई पुनः हार्दिक धन्यवाद तथा आभार प्रकट गर्न चाहन्छु। यस कार्यक्रमबाट खोटाङ जिल्ला तथा हाम्रो नगरपालिकाको कला, संस्कार, संस्कृति, सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गरेर आफ्नो पहिचान अन्तर्राष्ट्रिय रूपमा संस्थागत ढंगले स्थापना गर्न सफल रहेको हाम्रो विश्वास रहेको छ।
कालिका भगवती र मझुवागढीको गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम सम्पन्न गरिएको छ भने, प्रदेश सरकारसंगको सहकार्यमा कालिका भगवती र मझुवागढीको सौन्दर्यकरण योजनाको सुरुवात यसै वर्षबाट गरिएको छ। नगरपालिकाको पर्यटन प्रवर्द्धनको क्षेत्रमा यो महत्वपूर्ण योजना हुने विश्वास लिईएको छ।
यस नगरपालिकाको वडा नं. 6, नेर्पाको तालखर्कमा फलफूल प्रशोधन केन्द्र र वडा नं. 1, दिक्तेलको हाटडांडामा कृषि बजार निर्माणको थालनी गरिएको छ। निकट भविष्यमा यी योजनाहरूले नगरपालिकाको कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त छौं।
चालु आ.व.मा करिब 12 टनको रोलर खरिद सम्पन्न गरिएको छ, भने गत वर्ष ब्याक हो लोडर खरिद गरिएको थियो। यी उपकरणहरूको सही परिचालन गरी नगरपालिकाको महत्वपूर्ण सडकहरूको स्तरोन्नती गर्ने लक्ष्य लिईएको छ।
विगतमा बनेका संरचनाहरूलाई व्यवस्थित गर्दै जाने लक्ष्य अनुरुप यस वर्षदेखी कम्पोष्ट प्लान्टलाई निजी क्षेत्रसंगको सहकार्यमा व्यवस्थित गर्ने कार्यको थालनी गरिएको छ भने, रत्नपार्क सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्कलाई पटक-पटक सूचना निकालेर भाडामा लगाउने कोशिस गरिएको छ तर, हालसम्म भाडामा गएको छैन। अतः यसलाई समयानुकुल राजश्व परामर्श समितिबाट निर्णय गरी व्यवस्थित गर्ने प्रयत्न भई रहेको छ। यी कार्यहरूलाई आगामी वर्षहरूमा थप परिष्कृत रूपमा अगाडि बढाईनेछ।
सम्मानित नगरसभाका सदस्यज्यूहरु
विगत दुई वर्षदेखी सदरमुकामबाट तराई जोड्ने आहाले-रेग्मीटार सडक र दिक्तेल-पाथेका-खार्मी सडकलाई नगर गौरवको आयोजनाको रूपमा र अल्छेढुङ्गा-नेर्पा-दुम्ली-लामदुवाली, दिक्तेल-डल्लेदोभान-बुईपा-बिजुले सडक, अस्पताल चोक-मियाखोला-दुम्ली, हुर्लुङ-खार्मी लगायत सडकहरूलार्इ उच्च प्राथमिकतामा राखी काम अघि बढाएका छौं। हाम्रो निरन्तरको समन्वय र सक्रियताको परिणाम स्वरुप यी मध्ये दिक्तेल-पाथेका-केपिलासगढी सडक संघीय समपूरक अनुदान कार्यक्रममा पर्न सफल भएको छ भने अस्पताल चोक-दोर्पा-दुम्ली सडकमा संघीय सशर्त अनुदान प्राप्त भएको छ। त्यसै गरी, केही महत्वपूर्ण र दूरगामी प्रभाव पर्ने योजनाहरु छनौट भर्इ संघीय तथा प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ। यस प्रति म सम्पूर्ण नगरबासीको तर्फवाट पहल गर्नुहुने तत् तत् व्यक्तित्वलार्इ हार्दिक धन्यवाद दिन चाहन्छु।
सानो-सानो कामका लागि सरकारको मुख ताक्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै गत वर्ष देखी सुरुवात गरिएको श्रमदान अभियानलाई अझ परिष्कृत गर्दै यस वर्ष महत्वपूर्ण योजनाहरू सम्बन्धित स्थानका स्थानीयबासीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न गरिएको छ। बाम्राङ स्थित थापागाउँ, सामातुङ हुँदै पाँचगरे सडक स्तरोन्नती, सिंचाई गेटदेखि माटिकोरे खेल मैदानसम्म सडक स्तरोन्नती, दोर्पा काहुले थापा गाउँ देखि वडा कार्यालय सम्मको बाटो स्तरोन्नती, विजयखर्क मालामा खानेपानी योजना, अस्पताल चोक-अल्छेढुंगा सडक सरसफाई श्रमदान अभियानका केही उदाहरणहरू हुन्। आगामी दिनमा श्रमदानलाई अझ परिष्कृत गर्दै बढी भन्दा बढी योजनाहरूमा स्थानीयहरूको समेत सहभागिता रहने गरी निरन्तरता दिईनेछ।
सम्मानित नगर सभाका सदस्यज्यूहरु,
बाल विकास केन्द्रका शिक्षक तथा विद्यालय कर्मचारीहरूको सेवा सुविधामा नगरपालिकाको तर्फबाट आवश्यक थप रकमको लागत सहभागितालाई निरन्तरता दिईएको छ।
नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक तथा भौतिक अवस्थाको वस्तुस्थिति, विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान, विद्यालय मर्ज, नक्साङ्कन, वडा शिक्षा समितिको सिफारिसमा शिक्षक काज सरुवा सिफारिस लगायत कार्यक्षेत्रगत शर्तहरू सहित “शैक्षिक सुधार कार्यदल” गठन गरी कार्यदलबाट सम्पूर्ण विद्यालयहरूको स्थलगत अध्ययन गरी सो कार्यदलबाट नगरपालिकाको शिक्षा क्षेत्रको समग्र सुधारका लागि महत्वपूर्ण सल्लाह-सुझावहरू प्राप्त भई सोही बमोजिम केही महत्वपूर्ण कार्य सम्पन्न भएका छन्। स्थानीय पाठ्यक्रमलाई पूर्ण रुपमा वडा र विद्यालयहरूको स्थानीय परिवेश अनुरुप बनाउनका लागि क्लष्टर बनाई कार्यशालाहरू संचालन गरी पाठ्यक्रम परिमार्जन गर्ने कार्य सम्पन्न गरिएको, सूचना प्रविधि र निरन्तर मूल्यांकन प्रणाली सम्बन्धी सबै विद्यालयहरूका लागि कार्यशाला सम्पन्न गरिएका छन्। शिक्षालाई जीवनोपयोगी, व्यावहारिक र उत्पादनमुखी बनाउने कार्यको थालनी गरिएको छ। आगामी दिनमा शैक्षिक सुधार कार्यदलबाट प्राप्त महत्वपूर्ण सल्लाह-सुझावहरूलाई क्रमशः कार्यान्वयन गर्दै नगरपालिकाको शिक्षा क्षेत्रको समग्र सुधार गर्ने लक्ष्य लिईने छ।
सामुदायिक विद्यालयको शिक्षा क्षेत्रको सुधारका लागि पहिलो पटक खुल्ला प्रतिस्पर्धा मार्फत् सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक छनोट गर्ने कार्यको थालनी गरिएको छ। जसबाट यस वर्ष 44 वटा सामुदायिक विद्यालयहरूमा नियमानुसार प्रधानाध्यापक नियुक्तीको प्रक्रिया सफलता पूर्वक सम्पन्न गरिएको छ, भने बाँकी विद्यालयहरूमा समेत सो प्रक्रिया मार्फत् प्र.अ. छनोट कार्यलाई निरन्तरता दिने निर्णय भई सकेको छ। निकट भविष्यमा छनोट प्रक्रिया अगाडि बढाईनेछ।
सामुदायिक विद्यालयहरूको निरन्तर अनुगमनको कार्यलाई निरन्तरता दिईएको छ।
स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि प्रयासहरू भएका छन्।
महिलाहरूको पाठेघरको क्यान्सर र स्तन क्यान्सरको समयमै पहिचान गरी शिघ्र उपचारमा सहयोग पुर्याउन विभिन्न वडाहरुमा पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क शिबिर संचालन भएकोमा उक्त शिविरमा अपरेसन गर्नु पर्ने भनी पहिचान भएका ६२ जनालाई बनेपा स्थित शीर मेमोरीयल अस्पतालसंग सहकार्य गरी शल्यक्रियाको लागि लगिएको, जसमध्ये २६ जना महिलाको निःशुल्क शल्यक्रिया सफल भएको र बाँकी ३६ जनाको सम्पूर्ण स्वास्थ्य परीक्षण गराई घर फर्काईएको छ।
नेत्रज्योती संघ, दिक्तेलसंगको सहकार्यमा नगरका विभिन्न स्थानहरूमा आँखा जाँच शिविर, जेष्ठ नागरिक, अपाङ्गता लगायत लक्षित वर्गको लागि आँखा जाँच तथा दिक्तेलमा निःशुल्क आँखा अपरेशन शिविर सञ्चालन गरी १०२ वर्षका एक जना बृद्ध सहित कुल १४१ जना विरामीको आँखाको सफल शल्यक्रिया सम्पन्न भएको छ।
अमेरिकन मेडिकल फाउण्डेसन नेपालबाट निःशुल्क 12 वटा बेबी वार्मरहरू प्राप्त भएका छन्, ती बेबी वार्मरहरूलाई विभिन्न स्वास्थ्य संस्थाहरूमा जडान गरिएका छन्।
समुदायमा मानसिक रोगको बड्दो भार न्यूनीकरण गर्न महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुलाई मानसिक रोग सम्वन्धी अभिमुखिकरण गरिएको छ।
नेपाल सरकारद्वारा तोकिएका निःशुल्क उपलब्ध हुने औषधी तथा उपकरणको वर्ष भरी अभाव नहुने गरी ब्यवस्था मिलाइएको छ।
नगर भित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्ने जटिलतायुक्त गर्भवति तथा नवजात शिशुलाई स्वास्थ्य संस्थाले प्रेषण गरी माथिल्लो निकायमा पठाईएको अवस्थामा अस्पतालसम्म लान लाग्ने सम्पूर्ण खर्च बेहोरी गर्भवती तथा सुत्केरी महिलाहरु साथै बेसहारा तथा विपन्न वर्गका अन्य विरामीलाई समेत उपचारको लागि नगरकै खर्चमा सम्बन्धित अस्पतालसम्म पुर्याउने ब्यवस्था गरिएको छ।
जटिलता रहित प्रसुती सेवाका लागि नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट मासिक ग्रामिण घुम्ती भिडियो एक्सरे सेवालाई नियमितरुपमा संचालन गरिएको छ।
नगरपालिकाभित्रका स्वास्थ्य संस्थाबाट प्रवाह हुने स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारीरूपमा संचालन गर्नका लागि स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड अबलम्बन गरी निरन्तर फलोअप गरिएको छ।
कोभिड १९ लगायत महामारी तथा प्रकोप व्यवस्थापनका लागि पालिका र वडा स्तरका RRT श्रोत सहित चुस्त र तयारी वर्षभरी रहेको साथै नगरपालिकामा आपतकालिन स्वास्थ्य प्रतिकार्ययोजना तयार भएको छ।
नगरभित्रका गर्भवती तथा प्रसुती महिलाहरूलाई निःशुल्क फोलिक एसिड र क्याल्सियम चक्की वितरण गरिएको छ।
नगरपालिका स्थित जालपामा संचालनमा रहेको जनसेवा सामुदायीक अस्पताललाई आवश्यक प्रक्रिया पुरा गरी नगरपालिकाको स्वामित्वमा ल्याई ५ बेडको नगर अस्पताल सञ्चालन गरिएको छ।
मानसिक रोगबाट लामो समय देखी अस्वस्थ्य भई कष्टकर जीवन बाँचीरहनु भएको नुनथलाका एक विपन्न महिलालाई उद्दार गरी ललितपुर स्थित लगनखेलमा रहेको मानसिक अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क रूपमा गर्ने व्यवस्था गरिएको छ।
प्रदेश सरकार, नगरपालिका र करुणा फाउण्डेसनको साझेदारीमा संचालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत सबै वडाहरूमा अपाङ्गता शिविर संचालन सम्पन्न गरिएको छ।
विभिन्न वडाहरूमा घुम्ती शिविर संचालन गरी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण तथा स्वास्थ्य शिविर समेत संचालन गरिएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन र यस नगरपालिकाबीच कृषि (वनस्पती विज्ञान र पशु विज्ञान) र वन विज्ञान सम्बन्धी अनुसन्धान, तालिम र विस्तार गर्ने समझदारी-पत्रमा हस्ताक्षर भए बमोजिम यस वर्ष एकीकृत पशु तथा बाली स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएको छ। आगामी दिनमा समेत समझदारी-पत्र बमोजिमका कार्यहरूलाई निरन्तरता दिईनेछ।
उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम संचालन गरी प्याज, तोरी, मह, कोदो र फापर बालीमा 79 जना कृषकलाई प्रोत्साहन अनुदान उपलब्ध गराईएको छ। आगामी दिनमा समेत यस कार्यक्रमलाई निरन्तरता दिईनेछ।
कृषि र पशु वीमामा संघीय सरकारले दिँदै आएको वीमाको प्रिमियमको अनुदानमा थप गरी ९० प्रतिशत अनुदानको व्यवस्थालाई निरन्तरता दिईएको छ।
वेमौसमी तरकारी खेती, मकैको वीउ उत्पादन, सुन्तला जात पकेट कार्यक्रम संचालन गरिएको छ।
बाँझो जग्गा उपयोग कार्यक्रम संचालन गरी कागती, एभोकाडो र केरा खेती विस्तार गरिएको छ। आगामी दिनमा समेत यस कार्यलाई निरन्तरता दिईनेछ।
कफी र किवी फल खेती विस्तारका लागि विरुवा वितरण गरिएको छ।
कृत्रिम गर्भाधान सेवालाई निरन्तर संचालन गरिएको छ।
गाई तथा भैंसी प्रवर्द्धन कार्यक्रम संचालन गरी उन्नत नश्लका भैंसी पालन कार्यलाई प्रोत्साहन गरिएको छ र यस कार्यलाई निरन्तरता दिईनेछ।
दुग्ध प्रवर्द्धन कार्यक्रम मार्फत् यस नगरपालिकाको वडा नं. 1 मा दुग्ध डेरी संचालनमा ल्याईएको छ।
मानिसमा कुकुरको टोकाईबाट हुने रेबिजको संक्रमणलाई शून्यमा झार्नका निमित्त नगरपालिकाको 15 वटै वडामा सामुदायिक तथा घरपालुवा कुकुर तथा बिरालाहरूमा रेबिज रोग विरुद्धको खोप अभियान संचालन गरिएको छ।
लम्पि, खोरेत, पि.पि.आर. लगायतका विषाणुजन्य रोगहरूका विरुद्ध सबै वडाहरूमा खोप अभियान संचालन गरिएको छ।
ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को लगानीमा दिक्तेल हाटडाँडामा रु. 2 करोड 21 लाख लागतमा सुविधासम्पन्न कृषि तथा पशुपंछी सेवा केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको छ। निकट भविष्यमा नै सो भवन नगरपालिकालाई हस्तान्तरण हुने तयारी रहेको छ।
हाम्रो निरन्तरको पहलबाट बहुवर्षीय क्रमागत योजनामा पर्न सफल भई बुईपा-पञ्चदोबाटो-विजयखर्क-ढकालवेसी हुँदै खानिडांडा जाने बाटोको काम तिब्र रूपमा भईरहेको छ।
संघ तथा प्रदेश सरकारहरूसंगको साझेदारीमा बुईपाको पञ्चदोबाटोमा यलम्बर पार्क, नुनथलामा हतोंलुङ पार्क, नेर्पामा साकेला पार्क लगायत पर्यटन प्रवर्द्धनसंग सम्बन्धित निर्माण कार्यहरू धमाधम भईरहेका छन्।
अस्पताल चोकदेखी दोर्पा-दुम्ली जाने सडकको करिब 38 मिटर सडक खण्ड ढलान र स्वास्थ्य चौकी भवन, लफ्याङको निर्माण सम्पन्न गरिएको छ, हाटडांडा-देविथान सडक खण्ड र बैंकचोक-सामातुङ-कट्टी सडक खण्डको स्तरोन्नती, ल्याण्डफिल्ड साईट व्यवस्थापन कार्य अन्तिम चरणमा रहेको छ।
साना सिंचाई आयोजना अन्तर्गत विभिन्न वडाहरूमा सिंचाई योजनाहरू केही सम्पन्न भएका छन् भने केही अन्तिम चरणमा रहेका छन्।
उपभोक्ता समितिबाट संचालन हुने योजनाहरूलाई व्यवस्थित गरी सबै योजनाहरूको सम्झौता देखि फरफारकसम्म एकरुपता कायम गर्ने, योजनाहरूको प्रभावकारी कार्यान्वयन गर्ने र उपभोक्ता समितिलाई योजनासंग सम्बन्धित काममा सहजीकरण गर्ने उद्देश्यका साथ “योजना कार्यान्वयन पुस्तिका” तयारी गरी सफलतापूर्वक लागू गरिएको छ।
विभिन्न निकायहरू तथा संघ-संस्थासंगको समन्वय र साझेदारीमा रोजगारी सिर्जना गर्ने तथा स्वरोजगार बन्न सहयोग पुग्ने किसिमका घरेलु तथा साना उद्यम, दोर्पा र बाम्राङमा बांसबाट फर्निचर लगायत सामग्रिहरू बनाउन तालिम, सुरक्षा गार्ड, व्युटीसियन लगायत विभिन्न विषयहरूका तालिम कार्यक्रमहरू संचालन गरिएका छन्। रोजगारी प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिईनेछ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगर भित्रका सडक मर्मत लगायत आयोजनाहरूमा 94 जना विपन्न बेरोजगार व्यक्तिहरूलाई न्यूनतम रोजगारीको प्रत्याभूति गरिएको छ।
वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूका लागि अनलाईन प्रणाली मार्फत श्रम स्वीकृति प्रक्रियामा सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिईएको छ। चालु आ.व. मा करिब 100 जना व्यक्तिहरूलाई यो सेवा प्रदान गरिएको छ।
आगलागिजन्य, मनसुनजन्य लगायतका विपद्मा उद्वार, राहत लगायत कार्यहरूमा निरन्तर सहायता प्रदान गरिएको छ।
संविधान र स्थानीय सरकार संचालन ऐनद्वारा प्रदत्त अधिकार अनुसार हालसम्म करीव 8० वटा स्थानीय कानूनहरू निर्माण गरी लागू गरिएका छन्।
न्यायिक समितिबाट नियमित रुपमा न्याय सम्पादनका कार्यहरु भईरहेका छन्।
सबै वडाबाट 2 जनाका दरले मेलमिलापकर्ता उत्पादन तथा पुनर्ताजगी क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ।
महालेखा परीक्षकको कार्यालयको ६१ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा यस नगरपालिकाको बेरुजु 1.53 प्रतिशत कायम भएको छ, जुन यस अगाडिका आर्थिक वर्षहरूको तुलनामा उल्लेख्य सुधार भएको छ।
नगरवासीहरूको सहजताका लागि कृषि, भेटेनरी र ईञ्जिनियरिङ सेवाका प्राविधिकलाई वडा–वडामा खटाउने व्यवस्था गरिएको छ।
"शासक होइन सेवक बनौं, स्वावलम्बी र पारदर्शी भई समृद्ध बनौं" भन्ने हाम्रो मूल उद्देश्यलाई आत्मसात गर्दै नगरमा हुने फजुल खर्चलाई न्यूनीकरण गर्ने प्रयास जारी रहेको छ।
विभिन्न निकायहरूबाट विगतमा ठेक्का भई नगरभित्रका विभिन्न स्थानहरूमा अलपत्र पारिएका पूर्वाधार निर्माणका कार्यहरू यथासक्य चाँडो सम्पन्न गर्न निर्माण व्यवसायीहरू तथा सम्बन्धित निकायहरूलाई पटक-पटक दबाब दिने काम निरन्तर भईरहेको छ।
माननीय सांसदहरु, राजनैतिक दल, विभिन्न संघीय तथा प्रादेशिक कार्यालय तथा अन्य सरोकारवाला निकायहरुसंग छलफल, संवाद, परामर्श, समन्वय र सहकार्य गर्ने कार्यलाई निरन्तरता दिईएको छ।
नगरप्रमुख र उपप्रमुखको मित्रराष्ट्र दक्षिण कोरिया भ्रमणबाट त्यहाँका शिन आन्सान विश्वविद्यालय र नोङ्घ्युप विश्वविद्यालयबीच छुट्टा-छुट्टै दुवै देशको भाषा, संस्कृति र शिक्षा क्षेत्रमा आपसी सम्बन्ध मजबुत बनाउने, अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान र संयुक्त परियोजनाहरुको विकास कार्यान्वयन गर्ने, पर्यटन, उद्योग लगायतका विषयमा एकआपसमा आदान-प्रदान गर्ने समझदारी-पत्रमा हस्ताक्षर गरिएको छ। यसलाई मूर्तरुप दिन प्रचलित कानून बमोजिम सम्बन्धित मन्त्रालय तथा निकायहरूसंगको समन्वयमा थप प्रक्रिया अगाडि बढाईने छ।
सम्मान्नित नगर सभाका सदस्यज्यूहरुः–
बाँसबाट निर्मित फर्निचरको प्रयोगको चर्चा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत भएको स्मरण गराउँदै त्यसैको फलस्वरूप विषयविज्ञहरूको समुपस्थितिमा मिति 2081 कार्तिक 2 देखी 4 सम्म यस नगरपालिकामा राष्ट्रिय बाँस सम्मेलन गर्ने तय भएको अवगत गराउन चाहन्छु। नगर क्षेत्रभित्र अत्यधिक मात्रामा पाईने विभिन्न जातका बाँसको व्यवसायिक विकास, स्थानीयस्तरमा रोजगारी तथा आय-आर्जन बढाउने लक्ष्य लिईएको छ। बाँसको प्रवर्द्धनका लागि ख्यातिप्राप्त कलाकार श्री सुनिल थापा (राते-काईंला) स्वयंको ईच्छाले बाँस एम्बेसेडर बनाउने निर्णय गरिएको छ। अब उप्रान्त नगरपालिकामा फर्निचर खरिद गर्दा स्थानीयस्तरमा पाईने कच्चा पदार्थबाट बनाईएको फर्निचर मात्र खरिद गरी प्रयोग गर्ने नीति लिईनेछ।
वरिष्ठ चित्रकारहरूले बनाउनु भएका चित्रहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि रत्नपार्कमा मुन्दुम संग्रहालय स्थापना गरी व्यवस्थापन गर्ने तयारी भईरहेको अवगत गराउन चाहन्छु। उचित स्थानमा संग्रहालय भवन बनाउन आवश्यक पहल गरिनेछ।
"नागरिक सँग -नगरप्रमुख" कार्यक्रमलाई निरन्तरता दिईनेछ। सार्वजनिक जग्गालाई व्यवस्थित गर्दै प्रचलित मापदण्ड अनुसार जग्गा कायम गरिनेछ।
नागरिकको स्वास्थ्यलाई हानी गर्ने जंकफुड र अन्य बोतलमा भएको पेय पदार्थ (कोल्ड ड्रिङ्क्स) लाई निरुत्साहित गरिनेछ। नगरपालिकाको पर्यावरणलाई स्वच्छ र सफा राख्न सिसाको बोतलमा आउने पेय पदार्थहरु आयात गर्ने व्यक्ति वा पसललाई खाली सिसाहरुको व्यवस्थापन स्वयं व्यक्ति वा पसलले नै गर्नुपर्ने गरी जिम्मेवार बनाईनेछ, व्यवस्थापन नगर्ने व्यक्ति वा पसललाई दण्डित र प्रतिबन्धित गरिनेछ। सार्वजनिक स्थानहरूमा धुम्रपान गर्न रोक लगाईनेछ।
उद्योग वाणिज्य संघ, होटल एशोसिएशन आदिको समन्वय तथा सहकार्यमा नगरको आन्तरिक आयश्रोत वृद्धि गर्न विशेष नीति लिइनेछ।
विद्युतीय चुलोको प्रयोगलाई बढावा दिंदै सम्बन्धित निकाय तथा संघ-संस्थासंग समन्वय गरी सहुलियत दरमा नागरिकलाई विद्युतीय चुलो र सामग्रिहरू उपलब्ध गराउन पहल गरिनेछ।
उपस्थित नगरसभाका सदस्यज्यूहरु,
अब म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक वर्ष २०८०।०८१ को प्रमुख प्राथमिकताहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आर्थिक बर्ष २०८1।082 का प्रमुख प्राथमिकताहरुः
शिक्षा क्षेत्र सुधारलाई प्रमुख प्राथमिकतामा राख्ने आयोजना तथा कार्यक्रमहरू।
कृषि र पर्यटनलार्इ मूख्य आर्थिक गतिविधि मानी गरिने विकासका योजना तथा कार्यक्रमहरू।
स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने कार्यक्रमहरू।
"मेरो नगर - म बनाउँछु" भन्ने नीतिलाई कार्यान्वयन गर्न जनश्रमदानलाई प्रोत्साहित गर्ने, रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादनमा वृद्धि र बजारीकरण गरी स्वावलम्बी र आत्मनिर्भर गाउँ बनाउने आयोजना तथा कार्यक्रमहरू।
स्थानीय गौरवका आयोजनाहरू।
आर्थिक पारदर्शिता सहित "सुशासन युक्त- भ्रष्टाचार मुक्त" नीतिसंग सम्बन्धित कार्यक्रमहरू।
पर्यावरण प्रवर्द्धन, विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू।
महिला, शिल्पी समुदाय, फरक क्षमता भएका व्यक्तिहरू, आदिवासी जनजाती, एकल महिला, विपन्न वर्ग लगायत लक्षित आयोजना तथा कार्यक्रमहरू।
संघीय तथा प्रादेशिक आवधिक योजना, दिगो विकास लक्ष्य, आवधिक नगर विकास योजनाले निर्देशन गरेका कार्यक्रमहरू।
अव म आ.व. २०81।082 का विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न गईरहेको छु:
सर्वप्रथम, म आर्थिक विकास तर्फको विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु।
आर्थिक विकासः
कृषि र पशुपन्छीः
"उत्पादन साथमा-अनुदान हातमा" कार्यक्रमलार्इ प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन तोरी, प्याज, वेसार र महको उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमलाई निरन्तरता दिईनेछ।
"खेत खेतमा प्राविधिक, गोठगोठमा प्राविधिक" कार्यक्रम कार्यान्वयनका लागि व्यवसायिक किसानहरुलाई बाली, पशुपन्छी तथा मत्स्य पालनमा विद्यमान समस्या समाधान गर्न विज्ञ तथा प्राविधिकहरुबाट स्थलगत रुपमा एकीकृत घुम्ती सेवा संचालन गरिनेछ।
ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा हाटडाँडामा निर्मित कृषि तथा पशु सेवा केन्द्रबाट कृषि विकास तथा पशु सेवा सम्बन्धी सेवा प्रवाह तथा कार्यक्रमहरू संचालन गरिनेछ।
नेर्पामा स्थापना भएको फलफूल प्रशोधन केन्द्रलार्इ संचालनमा ल्यार्इनेछ।
विगतका वर्षहरुमा अभ्यास गरिदै आएको प्रतिष्पर्धी कृषि अनुदान प्रणालीलाई स्थगन गरी व्यवसायिक रुपमा कृषि उत्पादन, प्रशोधन तथा बजारीकरण सम्बद्ध उन्नत प्रविधि प्रयोग तथा व्यवसाय विस्तारका लागि अधिकतम किसानहरूको पँहुच पुग्ने गरी बैंक, वित्तिय संस्था तथा सहकारी संस्थाहरू मार्फत सर्वसुलभ रुपमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिनेछ।
नगरपालिकाद्वारा गुणस्तरीय बीउ तथा वेर्ना उत्पादन, आपूर्ति र नियमनको कार्यलाई प्रभावकारी रुपमा संचालन गरिनेछ।
माटोको गुणस्तर सुधारका लागि नगरपालिका भित्रका विभिन्न वडाहरुमा स्थलगत रुपमा घुम्ती माटो शिविर संचालन गरी अस्वस्थ्य माटो सुधारका लागि कार्यक्रम संचालन गरिनेछ।
घरेलु उद्योगका लागि कच्चा पदार्थ उत्पादनका लागि अकबरे खुर्सानी तथा साग उत्पादनमा विशेष पहल गरिनेछ।
खाद्य पोषणसँग प्रत्यक्ष सरोकार राख्ने रैथाने बालीहरुको पहिचान, संरक्षण, प्रवर्द्धन, परिकार विविधिकरण तथा बजारिकरण गरिनेछ।
हाल सञ्चालनरत किसान सूचीकरण कार्यलाई अन्य वडाहरूमा विस्तार गरी डिजिटल किसान परिचयपत्र वितरण गर्नुका साथै कृषि तथ्याङ्क संकलन कार्यक्रम कार्यान्वयनमा ल्याईनेछ।
हाम्रो नगरपालिकाको मात्र नभई राष्ट्रियरूपमा समस्यामा रहेको जङ्गली वन्यजन्तुबाट कृषकहरूले व्यहोर्नु परेको हैरानीलाई मध्यनजर गरी बांदर नियन्त्रण तथा व्यवस्थापनको उचित बिधि तथा प्रविधि खोजी गरिनेछ।
तरकारी तथा फलफूल शीत भण्डारण, ग्रेडिङ, प्याकेजिङ कार्यक्रम संघीय तथा प्रादेशिक सरकार र कृषिसँग सम्बन्धित संघ संस्थासंगको समन्वय र साझेदारीमा गरिनेछ।
सोल्मामा रहेको दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमुना कृषि स्रोत केन्द्रलाई निजी क्षेत्रसंगको सहकार्यमा व्यवस्थित ढंगले संचालन गरिनेछ।
बुइपा चिस्यान केन्द्र संचालनमा ल्याउन प्रयत्न गरिनेछ।
कृषि तथा पशुपन्छी क्षेत्रमा आवश्यक विज्ञ परिचालनका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालय,रामपुर, चितवन संग भएको MOU लार्इ कार्यान्वयनमा ल्यार्इनेछ।
कृषि उत्पादनमा बढावा दिन बृहत कृषि तथा पशु पन्छी मेला प्रदर्शनी गरिनेछ र उत्कृष्ट किसान र कृषक समूहलाई आकर्षक पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम गरिनेछ।
व्यवसायिक पशुपालनमा प्रोत्साहनका लागि गार्इ/भैसी स्रोत केन्द्र स्थापना गरिनेछ।
दुग्ध व्यवसायलार्इ व्यवसायिकरणका लागि दुधको उत्पादनमा आधारित अनुदान कार्यक्रम का साथै गार्इ/भैसी पकेट स्थापना गरिनेछ।
पि.पि.आर, लम्पी स्किन डिजिज, खोरेत रोगका अतिरिक्त अन्य पशुरोगका लागि खोप व्यवस्थापन तथा महामारी व्यवस्थापनका कार्यक्रम संचालन गरिनेछ।
उच्च उत्पादन दिने उन्नत नश्लका पशुहरुको नगरमा नै आपुर्ति व्यवस्था गर्न कृत्तिम तथा प्राकृतिक पशु नश्ल सुधार कार्यक्रम संचालन गरिनेछ।
कुकुरको टोकाइबाट मानिसमा हुने रेबिज रोगको संक्रमणलाई शून्य पार्न सामुदायिक तथा घरपालुवा कुकुरहरुलाई रेबिज विरुद्बको खोपको व्यवस्था गरिनेछ। साथै सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
सिंचाईः
केही नयाँ मझौला तथा साना सिँचाई योजनाहरू निर्माणको सुरुवात गरिनेछ। विगतबाट सुरु भएका क्रमागत योजनाहरूलाई सम्पन्न गरिनेछ।
खेतियोग्य जमिन तथा तरकारी उत्पादनका लागि सम्भावना बोकेका सुख्खा ठाउँहरुलाई लक्षित गरी उपयुक्त सिँचाई सुविधाको व्यवस्था गर्न पहल गरिनेछ।
उद्योग बाणिज्य, घरेलु तथा साना उद्योगः
सञ्चालनमा रहेका घरेलु उद्योग, खांडी, ढाका कपडा, राडीपाखी लगायतलाई विकास तथा स्तरोन्नतीमा सहयोग गरिनेछ।
लघु उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना गरिनेछ।
नगरपालिका क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोत र कृषि उपजबाट प्राप्त कच्चा पदार्थ (बाँस, लोक्ता, अल्लो, गैरकाष्ठ वनपैदावार) को सदुपयोग हुने गरी साना तथा मझौला उद्योग स्थापना गर्न पहल गरिनेछ।
घरेलु तथा साना उद्योग कार्यालय तथा अन्य निकायहरूसंगको सहकार्यमा ढाका तथा बाँसको तालिम संचालनका लागि पहल गरिनेछ।
नगरमा औद्योगिक विकासका लागि निजी क्षेत्र र संघीय तथा प्रदेश सरकारसंगको सहकार्यमा एक उद्योग ग्रामको स्थापना गर्न पहल गरिनेछ।
सहकारीः
सहकारी संस्थाहरूको नियमन, अनुगमन, सूचना संकलन तथा सम्प्रेषणमा ठोस कार्यहरू गरिनेछ।
निष्क्रिय सहकारी संस्थालाई खारेज गर्ने र सहकारी संस्थामा रहेको दोहोरो सदस्यताको अन्त्य गर्ने व्यवस्था मिलाईनेछ।
सानो पूँजी भएका प्रकृति मिल्ने सहकारी संस्थाहरुलाई एकाआपसमा एकीकरण हुन प्रेरित गरिनेछ।
कृषि तथा गैर कृषि सहकारी संस्थाहरुको प्रवर्द्धन गरी कृषि उत्पादन तथा बजारीकरण प्रवर्द्धन गरिनेछ।
पर्यटन र अन्य सेवाः
यस नगरपालिका भित्र रहेका महत्वपूर्ण धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार तथा प्रवर्द्धनका लागि आवश्यक व्यवस्था गरिनेछ।
बुईपामा प्रदेश सरकारसंगको सहकार्यमा निर्माण भईरहेको विश्वकै सबैभन्दा अग्लो यलम्बरको मूर्ति निर्माण कार्यलाई सम्पन्न गर्न आवश्यक पहल गरिनेछ।
नुनथलाको खाम्लामा हँतोलुङ सांस्कृतिक पार्क निर्माण कार्यलाई निरन्तरता दिइनेछ।
प्रदेश सरकारसंगको साझेदारीमा नेर्पामा व्यवस्थित साकेला भिलेज पार्क निर्माण कार्यलार्इ निरन्तरता दिर्इनेछ।
कालिका भगवती तथा मझुवागढी संरक्षण र प्रवर्द्धनका लागि स्वीकृत गुरुयोजना अनुरुप यसलाई फूलै-फूलको पहाडको रुपमा विकसित गर्दै लगिनेछ।
सहदेउ गढी संरक्षण कार्यको सुरुवात गरिनेछ। नगरभित्रका विभिन्न स्थानहरूमा मन्दिर, आर्यघाट निर्माण लगायत योजनाहरू संचालन गरिनेछ।
नगरपालिकाभित्रको उपयुक्त स्थानहरूमा पार्क तथा पर्यटकीय पूर्वाधार निर्माण योजनाहरू संचालन गरिनेछ।
हलेसी आएका तीर्थयात्रीलाई दिक्तेल स्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्न आउने वातावरण तयार गरिनेछ।
नगरपालिकामा पर्यटकहरूको आवागमन बढाउनका लागि होटल ब्यवसायी संघ खोटाङसँग आवश्यक सहकार्य गरिनेछ।
कालिका भगवती मन्दिर परिसर आसपासमा शिव-पार्वतीको मुर्ति स्थापना गर्न दाताहरूसंग आवश्यक पहल गरिनेछ।
नगरपालिकाको हुर्लुङबाट प्रचुर पर्यटकीय सम्भावना रहेको रुपाकोट, मैयुङ, मेरुङ हुँदै मुन्दुम ट्रेलको विकासका लागि पहल गरिनेछ र खोटाङको भू-भागलाई रेडपाण्डा ट्रेल नामाकरण गर्न आवश्यक पहल गरिनेछ।
पर्यटन पत्रकारितालाई प्रोत्साहन गरिनेछ।
रोजगार प्रबर्द्धनः
श्रम तथा रोजगारसँग सम्बन्धित तथ्यांक तथासूचना संकलन, विष्लेषण गरी नगरपालिकाभित्र रोजगारीको माग र आपूर्तिको अवस्थाको पहिचान गरिनेछ।
नगरपालिकाको रोजगार सेवा केन्द्रमा सूचिकृत भएका विपन्न बेरोजगारहरुलाई कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरु सञ्चालन गरी कार्यस्थलमा आधारित सीप/क्षमता विकास तालिम र जीवन उपयोगी सीप विकास तालिम सहित न्यूनतम रोजगारीको प्रत्याभूती गराइनेछ।
पालिका स्तरीय नियमित विकास निर्माणका योजनाहरुमा आवश्यक श्रमिकहरुको लागि रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ।
दक्ष तथा सक्षम जनशक्तिको विकास गरी आन्तरिक रोजगारी प्रवर्द्धन गर्न श्रम बजारमा माग बमोजिमका सीपमूलक तालिमको पहिचान गरी बेरोजगार ब्यक्तिलाई तालिम प्रदायक सस्था सङ्ग समन्वय गरी तालिम दिइनेछ।
आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय र निजी, सहकारी तथा गैर सहकारी क्षेत्र सँग समन्वय र सहकार्यमा जोड दिइनेछ।
नगरपालिकाभित्र आवश्यकता र औचित्यताको आधारमा"श्रमको सम्मान, राष्ट्रको अभियान" का विभिन्न क्रियाकलापहरु सञ्चालन गरिनेछ।
रोजगारीको हकको प्रभावकारी कार्यान्वयन, स्थानीय तहमा उपलब्ध हुने रोजगारीको अवसरको पहिचान, समस्याको निदान र रोजगारीको क्षेत्रमा नविनतम् उपाय र विधिको पहिचान गरी आवश्यकता अनुसार स्थानीय तहलाई राय सुझाव प्रदान गर्न रोजगार संवाद मञ्च गठन एवं सञ्चालन गरिनेछ।
रोजगार रणनीति तर्जुमा गरी कार्यान्वयन तथा आन्तरिक रोजगारी प्रवर्द्धन अभियान सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ।
वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न आवश्यक सहजिकरण तथा परामर्श सेवा प्रदान गर्नुका साथै वैदेशिक रोजगारबाट फर्केका श्रमिकको सामाजिक र आर्थिक पुन: एकीकरण सम्बन्धी क्रियाकलापहरु सञ्चालन गर्न संघ, प्रदेश, नगरपालिका तथा गैसससंगको सहकार्यलाई निरन्तरता दिईनेछ।
बैदेशिक रोजगारी बाट फिर्ता आएका श्रमिकहरुको सिप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्न गराउन पहल गरिनेछ साथै स्वरोजगारमूलक कार्यमा संलग्न स्थानीय यूवा उद्यमीहरुलाई प्रोत्साहित गरिनेछ।
नगरपालिकाभित्र प्राप्त विप्रेषणलाई आयमूलक क्षेत्रमा लगानी गर्नका लागि वित्तीय साक्षरता कक्षा संचालन गर्दै उद्यमशीलता र लगानी प्रवर्द्धन गरिनेछ ।
बैदेशिक रोजगारीका क्रममा हुने ठगीलाई कम गर्नका लागि जनचेतनामुलक कार्यक्रमहरु संचालन गरिनेछ। गन्तव्य मुलुकमा समस्यामा परेकाहरुलाई सम्बोधन गर्नका लागि प्रभावकारी संयन्त्रको विकास गरिनेछ।
महिला,पुरुष लगायत लैंगिक तथा यौनिक अल्पसंख्यक उपर हुने श्रमको ज्यालामा विभेद अन्त्य गर्दै रैथाने र आप्रवासी कामदार तथा श्रमजीवी उपर हुने सबै किसिमका विभेदको अन्त्य गरिनेछ।
आदरणीय सदस्यज्यूहरु,
अव म सामाजिक विकास विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु।
सामाजिक विकासः-
शिक्षा:
अति न्यून पारिश्रमिक सहित पठनपाठनमा संलग्न बालविकास केन्द्रका सहयोगी कार्यकर्ता, विद्यालय कर्मचारीहरुलाई नेपाल सरकारले तोके बमोजिम नगरपालिकाबाट थप लागत साझेदारी सहित न्यूनतम पारिश्रमिकको व्यवस्था गरिनेछ।
नगरभित्रका सामुदायिक विद्यालयहरुको समग्र शैक्षिक सुधार गर्नका लागि शैक्षिक सुधार कार्यदल मार्फत् राय सुझाव संकलन गरी सो कार्यदलबाट प्राप्त सुझावलाई क्रमशः कार्यान्वयन गर्ने व्यवस्था गरिनेछ।
सबै शिक्षक तथा विद्यार्थीहरुलाई श्रमसंग जोड्दै लगिने छ। हप्तामा एक दिन पाठ्यपुस्तक भन्दा वाहिरको जीवनउपयोगी, उत्पादनमुखी कार्यक्रमलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।
विद्यालयको शैक्षिक गुणस्तरका लागि नियमित अनुगमन तथा निरीक्षण गरी पृष्ठपोषण प्रदान गर्ने अनुगमन प्रणालीको व्यवस्था गरिनेछ।
प्रा.वि., नि.मा.वि., मा.वि. प्रधानाध्यापकहरुका लागि प्र.अ. भत्ता थप गरिनेछ।
दृष्टिविहीन, सुस्त श्रवण, सुस्तमनस्थिति लगायत अपाङ्गता भएका बच्चाको विशेष शिक्षा दिने विद्यालयको कार्यक्रमलाई निरन्तरता दिईनेछ।
नगरका सम्पूर्ण विद्यालयहरुमा भवन, फर्निचर, शौचालय, पिउने पानी, विद्युत, खेल मैदान, बगैँचा जस्ता पूर्वाधारहरुले पूर्ण बनाउन निरन्तर पहल गरिनेछ। यसका लागि सरकार तथा अन्य संस्थाहरुको समेत सहयोग परिचालन गरिनेछ।
विद्यालयको परीक्षा व्यवस्थालाई परिमार्जन गरी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगरपालिकाबाट लिंइदै आएको कक्षा ८ को परिक्षालाई लिखितका साथै प्रयोगात्मक, अझ व्यवस्थित र उद्देश्यमूलक बनाइनेछ।
समयानुकुल सूचना प्रविधि सम्बन्धी सीप लगायत प्रभावकारी शिक्षण क्रियाकलाप व्यवस्थापनको लागि विद्यालयका सरोकारवाला सबै पक्षहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी तालिमको व्यवस्था गरिनेछ।
विद्यालयमा जाउँ-जाउँ र बसौं-बसौं लाग्ने सुन्दर र हराभरा विद्यालय वातावरण निर्माणको लागि विद्यालयलाई प्रोत्साहित गरिनेछ।
स्थानीय पाठ्क्रममा मातृभाषा र मौलिक सँस्कृतिको अध्ययन गराउन कार्य योजना बनाईनेछ।
शिक्षकको कक्षा कोठामा बिताउने समय दैनिक पाठयोजना सहितको कक्षा शिक्षण प्रभावकारी मापन र मूल्याङ्कनको सुनिश्चितताका लागि प्रधानाध्यापकलाई थप जवाफदेही बनाइनेछ।
परिमार्जित (राष्ट्रिय‚ स्थानीय) पाठ्यक्रम विषयक कार्यशाला गोष्ठी वा तालिमको व्यवस्था गरिनेछ।
नगर भित्रका सम्पूर्ण विद्यालयहरुलाई लेखा व्यवस्थापन र IEMIS को New version अपडेट गर्नका लागि तालिम दिइने व्यवस्था गरिने छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा स्थानीय विषयको रुपमा अध्यापन गराउनका लागि दि.रु.म. ज्ञानमाला संशोधन तथा परीमार्जन गरी नयाँ पाठ्यक्रम प्रकाशन गरी कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई वितरण गर्ने व्यवस्था गरिने छ।
आवश्यकताको पहिचान गरी अनुकुलताको आधारमा विद्यालय मर्ज तथा दरवन्दी मिलानको व्यवस्था गरिने छ।
विद्यार्थीको सृजनात्मक खेलकुद, सङ्गित, चित्रकला, अभिनय, साहित्यिक लगायतका सर्वाङ्गिण विकासका लागि नगरस्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।
शिक्षक विद्यार्थी, विद्यालय व्यवस्थापन समिति लगायत अभिभावकहरुसँग शैक्षिक समस्याको विषयमा छलफल र अन्तरक्रिया कार्यक्रम गरी शिक्षण सिकाई क्रियाकलाप सुधारका लागि आवश्यक व्यवस्था गर्दै लगिनेछ।
पाठ्यपुस्तक केन्द्रित पढाईलाई पाठ्यक्रम केन्द्रित सिकाईमा रुपान्तरण गर्दै लगिनेछ।
उच्च शिक्षालय मार्फत नगरको विविध विषयमा अनुसन्धानात्मक कार्यक्रमहरु सहकार्य मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।
नगर भित्रका विभिन्न सामुदायिक विद्यालयहरूमा मर्मत, घेराबारा, पूँजीगत सुधार तथा शैक्षिक पूर्वाधार व्यवस्थापन लगायतका योजनाहरू संचालन गरिनेछ।
स्वास्थ्य तथा पोषणः
बढ्दो नसर्ने रोग सम्बन्धी समस्यालाई मध्यनजर गर्दै सम्पूर्ण स्वास्थ्य संस्थाबाट उच्च रक्तचाप, मधुमेह, दम पाठेघरको मुखको तथा स्तन क्यान्सर र मिर्गौलाको लागि निःशुल्क स्कृनिङ कार्यक्रम संचालन तथा व्यवस्थापन गरिनेछ।
पोषणमैत्री स्थानीय शासनको अवधारणा बमोजिम यस नगरलाई पोषणमैत्री नगर निर्माण गर्न स्वास्थ्य र पोषणका सूचकाङ्कमा शतप्रतिशत प्रगति हाँसिल गर्न आवश्यक कार्यक्रमहरू संचालन गरिनेछ।
स्थानीय पाठ्यक्रममा पोषणका विषयवस्तु समावेश गरिनेछ। नगरपालिकामा स्तनपान कक्षको व्यवस्थापन गरिनेछ।
नगरभित्रका विद्यालयहरूमा वास कर्नरको व्यवस्थापन गर्न पहल गरिनेछ।
बेसहारा व्यक्तिहरूको पहिचान गरी निजहरूका लागि निःशुल्क औषधि उपचारको लागि समन्वय गरिनेछ।
महिला स्वास्थ्य स्वयम् सेविकाहरूको पेशागत दक्षता वृद्धि र सुरक्षामा जोड दिँदै प्रदान गरिंदै आएको प्रोत्साहन रकमलाई निरन्तरता दिइनेछ।
भौगोलिक अवस्था तथा जनघनत्व र जनताको पहुँचलाई आधार मानी पालिकाभित्रको स्वास्थ्यसंस्थाहरू मध्ये केही स्वास्थ्य संस्थालाई आधारभुत स्वास्थ्य केन्द्रमा स्तरोन्नति गर्न पहल गरिनेछ।
नेपाल सरकारद्वारा तोकिएका निःशुल्क उपलब्ध हुने औषधी तथा उपकरणको निःशुल्क वितरण गर्न आवश्यक व्यवस्था गरिनेछ।
विभिन्न सरोकारवालाहरूसंगको समन्वय तथा सहयोगमा पालिकाभित्रका विभिन्न वडामा विशेषज्ञ चिकित्सक सहित निःशुल्क बृहत एकीकृत घुम्ती स्वास्थ्य शिविर संचालन गरिनेछ।
नगर भित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्ने जटिलतायुक्त गर्भवति तथा नवजात शिशुलाई स्वास्थ्य संस्थाले प्रेषण गरी माथिल्लो निकायमा पठाईएको अवस्थामा सोको लागि एकतर्फी यातायात खर्च उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको छ।
घरमा शून्य प्रसुती सुनिश्चितताका लागि समुदायस्तरमा गर्भवती महिला समूह अभियान संचालन गरिनेछ साथै, प्रसुततीकेन्द्र नरहेका स्वास्थ्य संस्थाहरू मध्ये वडा स्वास्थ्य केन्द्र, बुवालुङ र स्वास्थ्य चौकी, बिजयखर्कमा प्रसुति केन्द्र संचालनमा ल्याईनेछ।
डेङ्गु लगायत महामारी तथा प्रकोप व्यवस्थापनका लागि पालिका र वडा स्तरका RRT श्रोत सहित चुस्त र तयारी अवस्थामा राखिनेछ।
पालिकाभित्रका शिघ्र कुपोषित बालबालिका पहिचान गरी पोषण अवस्था सुधारका लागि सहयोग गरिनेछ।
महिलाहरूको पाठेघरको क्यान्सर र स्तन क्यान्सरको समयमै पहिचान गरी शिघ्र उपचारमा सहयोग पुर्याउन नगरभित्र पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निःशुल्क शिबिर संचालन गरिनेछ।
नगरपालिका र नेपाल रेडक्रस सोसाईटीसंगको सहकार्यमा संचालित रक्तसंचार केन्द्रको सेवा निरन्तरता लागि आवश्यक व्यवस्था गरिनेछ।
नागरिकको स्वास्थ्य बीमामा पहुँच वृद्धि गर्न स्वास्थ्य बीमा बोर्डसँग आवश्यक समन्वय गरी प्रभावकारी कार्यक्रम संचालन गरिनेछ।
नगरभित्र संचालनमा रहेको जनसेवा नगर अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर बृद्धि गर्न आवश्यक औजार उपकरण र तालिमप्राप्त जनशक्ती ब्यवस्था गर्दै लौजाने साथै वीमा बोर्डसंगको समन्वयमा नगरअस्पतालबाट स्वस्थ्य विमा कार्यक्रम संचालनमा ल्याईनेछ।
रोग लाग्न नदिन सामुदायीक स्वास्थ्य शिक्षालाई टोल-घरमा पुर्याउने, मौसम अनुसारको स्वास्थ्य शिक्षालाई प्रभावकारीरूपमा लागू गरिनेछ।
नगरका विभिन्न स्थानहरूमा आँखा जाँच शिविर, विद्यालय आँखा जांच कार्यक्रम, जेष्ठ नागरिक, अपाङ्गता लगायत लक्षित वर्गको लागि आँखा जांच कार्यक्रमलाई प्रभावकारी तरिकाले संचालन गरिनेछ।
वडा नं. 11, खार्मीमा व्यवस्थित स्वास्थ्य चौकी भवन निर्माण कार्यको सुरुवात गरिनेछ।
युवा तथा खेलकुदः
वडा नं. 5 को उपयुक्त स्थानमा जिल्लाकै पहिलो क्रिकेट खेलमैदान निर्माण कार्यको सुरुवात गरिनेछ।
दिक्तेल बजारको माटिकोरे स्थित दिक्तेल रंगशालालाई व्यवस्थित रंगशालाको रुपमा विकास गर्न आवश्यक व्यवस्था मिलाईनेछ।
नगरपालिकाको विभिन्न वडाहरूमा रहेका खेलमैदानहरूको स्तरोन्नती तथा पूर्वाधार सुधार सम्बन्धी योजनाहरू संचालन गरिनेछ। आचार्यगाउँ कबर्डहल निर्माण कार्यलाई निरन्तरता दिईनेछ।
ग्रासरुट खेलकुद प्रशिक्षण कार्यक्रम तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि आवश्यक व्यवस्था गरिनेछ।
नगरभित्र संचालित प्रतिष्ठित खेलकुद प्रतियोगिताहरू संचालनका लागि आवश्यक व्यवस्था गरिनेछ।
नगर स्तरिय, वडास्तरीय तथा विद्यालयस्तरीय खेलकुद कार्यक्रमहरू संचालन गरिनेछन्।
सरोकारवालाहरूसंगको सहकार्य र समन्वयमा लागू पदार्थ दुर्व्यसनी विरुद्ध युवा लक्षित अभियानहरू संचालन गरिनेछ।
युवाहरूलाई सामाजिक र आर्थिक विकासमा आवद्ध गराउन सीपमूलक, स्वरोजगार उन्मुख कार्यक्रमहरू आयोजना गरिनेछ।
महिला,बालबालिका, जेष्ठ नागरिक तथा लक्षित वर्ग, समुदायः
लक्षित समुदाय विशेष गरी दलित समुदाय र एकल महिलाहरूको सीप विकास, रोजगारी सिर्जना तथा क्षमता विकास लगायतका विविध कार्यक्रमहरूलाई प्राथमिकता दिईनेछ।
महिला सशक्तिकरणका लागि आवश्यक कार्यक्रमहरू संचालन गरिनेछ।
हिंसा पिडित महिला तथा बालबालिकाहरूलाई न्यायमा पहुँच पुर्याउन न्यायिक समितिमा निःशुल्क कानूनी व्यवस्था गर्ने साथै ग्रामिणस्तरमा नै सचेतना मूलक कार्यक्रमहरू संचालन गरिनेछ।न्यायिक समितिको क्षमता अभिबृद्धि र सशक्तिकरण गरी लैगिंक मैत्री बनाईनेछ।
विपन्न, दलित, जनजाति र सिमान्तकृत महिलाहरुका लागि आत्मनिर्भर कार्यक्रमहरुलाई बढावा दिईनेछ।
राजनीतिक, आर्थिक, सार्वजनिक लगायत सम्पूर्ण निर्णायक तहमा महिला, दलित तथा सीमान्तकृत समुदायको सार्थक र समान पहुँचका लागि समान अवसरहरूको सिर्जना गरिने छ।
बालविवाह न्युनीकरणका लागि सरोकारवाला निकायहरुसँग पैरवी गर्ने कार्यक्रमहरू संचालन गरिनेछ।
बालक्लव तथा बालक्लव संजालहरुको क्षमता विकास, दर्ता, नवीकरणका विभिन्न कार्यक्रमहरू संचालन गरिनेछ।
जेष्ठ नागरिक मिलन केन्द्रलाई व्यवस्थित तरिकाले संचालन गरिनेछ।
जेष्ठ नागरिकहरुको हक अधिकार र संरक्षणको लागी सचेतनामूलक कार्यक्रमहरु, पुस्ता हस्तान्तरण कार्यक्रमहरु संचालन गरिनेछ ।
प्रदेश सरकार, करुणा फाउण्डेसन र नगरपालिकाको साझेदारीमा संचालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिईनेछ।
अपाङ्गता भएको व्यक्तिहरुको अधिकार तथा संरक्षणको निमित्त सीप तथा क्षमता विकास कार्यक्रम साथै सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रमहरू संचालन गरिनेछ।
सार्वजनिकस्थलहरुलाई बालमैत्री र अपाङ्गमैत्री बनाउंदै लगिनेछ।
विभेदरहित छुवाछुतमुक्त नगर निर्माण गरिनेछ।
दलित समुदायको लागि शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा विशेष कार्यक्रम लागू गरिनेछ।
खानेपानी तथा सरसफाईः
नगरपालिकाभित्रका सबै घरपरिवारमा आधारभूत खानेपानी तथा सरसफाईको प्रबन्ध मिलाउन पहल गरिनेछ।
बजार क्षेत्रका चलिरहेका खानेपानी आयोजना र गाउँका धारा कुवाको संरक्षण गर्ने नीति लिइनेछ।
दिक्तेल बजार लगायत बजार क्षेत्रका विभिन्न स्थानहरूमा सार्वजनिक शौचालयहरू निर्माण गरी सञ्चालन गर्न आवश्यक पहल गरिनेछ।
दिक्तेल बजार लगायत बजार केन्द्रहरु सरसफाईमा जोड दिँदै सफा र सुन्दर नगर बनाउने अभियान संचालन गरिनेछ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनाः
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नेपाल सरकारको निर्णयलाई कार्यान्वयन गर्न बायोमेट्रिक प्रणाली लगायत आवश्यक व्यवस्था मिलाईनेछ।
ज्येष्ठ नागरिक, फरक क्षमता भएका (पूर्ण र अति अशक्त अपाङ्ग), एकल महिला, दलित वालवालिकाको सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली (EFT) मार्फत सम्बन्धित लाभग्राहीको बैंक खातामा भुक्तानी हुने कार्यलाई निरन्तरता दिईनेछ।
सबै वडाहरूको सामाजिक सुरक्षा भत्ता बैङ्किक प्रणालीबाट वितरण प्रणालीलाई निरन्तरता दिंदै सामाजिक सुरक्षा भत्ता बैङ्क, वडा कार्यालय, सुरक्षा निकाय र नगरपालिकाबीच समन्वय गरी वडा-वडामा गई व्यवस्थित तवरले वितरण गर्ने व्यवस्था मिलाईनेछ।
व्यक्तिगत घटना दर्ता कार्यलाई प्रत्येक वडा-वडाबाट अनलाईन प्रणाली मार्फत व्यवस्थित गरिनेछ।
एम.आई.एस. अपरेटर तथा फिल्ड सहायकहरूको पारिश्रमिकका लागि नगरपालिकाबाट आवश्यक लागत सहभागिताको व्यवस्था मिलाईनेछ।
भाषा, संस्कार, संस्कृति तथा संरक्षणः
सबै समुदायका भाषा, संस्कार, संस्कृतिहरु संरक्षण, सम्वर्द्धनका तथा प्रवर्द्धनका लागि कार्यक्रमहरू संचालन गरिनेछ।
नगरपालिकाको उपयुक्त स्थानहरूमा साँस्कृतिक सम्पदाको संरक्षणका लागि साँस्कृतिक सङ्ग्रहालयहरूको निर्माण कार्यको थालनी गरिनेछ।
जिल्लालाई नै समेट्ने गरी खोटाङ सामुदायिक संग्रहालय निर्माण तथा स्थापनाको लागि आवश्यक पहल गरिनेछ।
नगर क्षेत्रभित्र रहेका ऐतिहासिक स्थलहरू, सबै जातजातिहरूको सांस्कृतिक सम्पदाहरूको खोजी, अध्ययन-अनुसन्धान गरी सूचीकृत गर्ने, संरक्षण, प्रवर्द्धन गर्ने नीति लिईनेछ।
आदरणीय सदस्यज्यूहरु,
अव म पूर्वाधार विकास विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु।
पूर्वाधार विकासः
सडक, पुल तथा यातायात व्यवस्थाः
दिक्तेल बजार ढलानलाई निरन्तरताका लागि पहल गरिनेछ।
संघ-प्रदेश सरकारसंगको सहकार्यमा हाटडाँडाबाट कालिका भगवती मन्दिरसम्म जाने सडक पक्की गर्ने कार्यको सुरुवात गरिनेछ।
दिक्तेल-खानीडांडा-आहाले-रेग्मिटार सडक र दिक्तेल-खार्मी र दिक्तेल-पाथेका सडकलाई स्थानीय गौरवको आयोजनाको रूपमा प्राथमिकतामा राखी स्तरोन्नती कार्यलाई निरन्तरता दिईनेछ।
सोल्मा बस पार्क र दिक्तेल आचार्य गाउंको बस पार्कलाई स्तरोन्नती तथा ब्यबस्थित गर्दै सुचारु गरिनेछ।
नयाँ ट्र्याक खोल्ने कार्यलाई निरुत्साहित गर्दै यस अगाडी खनिएका स्थानीय सडकहरुको स्तरोन्नती गरी नगर यातायात संचालन गर्न आवश्यक व्यवस्था मिलाईनेछ।
नगरपालिकाभित्रका नयाँ तथा पुराना सडकहरूको मापदण्ड पुनरावलोकन गरी लागू गरिनेछ।
आवागमन सुचारु गर्न आवश्यक स्थानहरूको पहिचान गरी झोलुङ्गे पुल तथा सडक पुलहरूको सम्भाव्यता अध्ययन र निर्माण कार्यलाई प्राथमिकता दिईनेछ।
भवन, आवास, वस्ती तथा शहरी विकासः
नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्नका लागि आवश्यक पहल गरिनेछ।
नगरपालिका क्षेत्रभित्र बन्ने सबै किसिमका घरहरू मापदण्ड अनुसार भुकम्प प्रतिरोधात्मक बनाउने नीति लिईनेछ।
पुराना पक्की घरहरूको अभिलेखीकरणलाई निरन्तरता दिईनेछ।
बजार क्षेत्रमा रहेका अव्यवस्थित पार्किङ, विजुली, टेलिफोन, ईन्टरनेट लगायतका विभिन्न तारहरु व्यवस्थित गर्न सम्वन्धित पक्षहरूसंग पहल गरिनेछ।
जलस्रोत, विद्युत तथा वैकल्पिक उर्जाः
उज्यालो नगर-दिक्तेल बजार कार्यक्रम अन्तर्गत नेपाल विद्युत प्राधिकरणसंगको सहकार्यमा दिक्तेल बजारमा सडक बत्ती जडान कार्य अघि बढाईनेछ।
सम्बन्धित निकाय तथा संघ-संस्थाहरूसंगको समन्वय र सहकार्यमा नगरपालिकालाई विद्युतीय चुल्हो युक्त नगरपालिका बनाउनका लागि आवश्यक व्यवस्था गरिनेछ।
नेपाल विद्युत प्राधिकरणसंग समन्वय गरी विद्युत क्षमताको विस्तार गर्न पहल गरिनेछ।
सूचना तथा संचारः
खोजमूलक पत्रकारिताको प्रवर्द्धन गरिनेछ।
जिल्लामा रहेका संचार माध्यमहरुलाई दिईने लोक कल्याणकारी विज्ञापनलाई समानुपातिक हिसाबले वितरण गरिनेछ।
नगरभित्र सञ्चालित सञ्चारगृहको स्तरोन्नति, क्षमता विकास र पूर्वाधार निर्माणका लागि पहल गरिनेछ।
दिक्तेल बजारको विभिन्न स्थानहरूमा जडान गरिएको फ्रि-वाईफाईलाई निरन्तरता दिंदै थप केही स्थानहरूमा फ्रि-वाईफाई जडान गरी विस्तार गरिनेछ।
आदरणीय सदस्यज्यूहरु,
अब म वन, वातावरण, फोहरमैला तथा विपद व्यवस्थापन विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु।
वन, वातावरण, फोहरमैला व्यवस्थापन तथा विपद व्यवस्थापनः
वन, वातावरणः-
वन-संरक्षण, भू-संरक्षण, तटबन्धहरुको निर्माण, वृक्षारोपण र जैविक विविधताको संरक्षण, जडिबुटीको उत्पादन गर्दै वन्यजन्तुहरुको व्यवस्थित संरक्षण गरिनेछ।
यस नगरको सार्वजनिक स्थान तथा सडक किनारामा बहुउपयोगी आकर्षक रुख विरुवाहरुको संरक्षण एवं रोपण गरिनेछ।
सबै पानीका मुहानहरुलाई पहिचान गरी संरक्षण अभियान सञ्चालन गरिनेछ।
वन तथा वातावरण संरक्षण विषयमा समुदाय तथा विद्यालयहरुमा सचेतना अभियान सञ्चालन गरिनेछ।
वन तथा वातावरण क्षेत्रमा गरिने सबै कार्यहरुमा सामुदायिक वन उपभोक्ता महासंघ तथा विषय र उद्धेश्य मिल्ने संस्थाहरुसँग सहकार्य गरेर काम गरिनेछ।
रुपाकोट, मेरुङ, साप्सुढाप लगायतका क्षेत्रलाई जडीबुटी उत्पादनको पकेट क्षेत्र बनाउन जोड दिईनेछ।
जलवायु परिवर्तनको जोखिममा रहेका वन, सिमसार क्षेत्रहरुको व्यवस्थापन कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ।त्यसै गरी जलवायु परिवर्तनको जोखिममा रहेका दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुको संरक्षण गर्न स्थानीय कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ।
प्राकृतिक स्रोतमा आश्रित गरिब, विपन्न महिला तथा संकटासन्न घरधुरी र समुदायका लागि अनूकुलन क्षमता बढाउने बैकल्पिक आय आर्जनको उपायहरु पहिचान गरी प्रवर्द्धन गरिनेछ।
जलवायु परिवर्तनको असर र जोखिम एवं अनूकुलन र न्यूनीकरणका उपायहरु समुदाय स्तरमा प्रचार- प्रसार गरिनेछ।
बन विनाश तथा बन डढेलोको प्रभावहरु एवं यसबाट निम्तिन सक्ने जोखिमको विषयमा सचेतना फैलाईनेछ।
जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना-Dcrl संगको सहकार्यमा स्थानीय स्तरमा उपयुक्त हुने फलफूल र विरुवा रोपी हुर्लुङ-जालपा रोडलाई हरित सडकको रूपमा विकास गरिनेछ।
फोहरमैला व्यवस्थापनः
नगरपालिकाको वडा नं. ५, लफ्याङ्मा रहेको ल्यान्डफिल साईटलाई थप व्यवस्थित बनाईनेछ।
देउले सामुदायिक वन क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्न वातावरणीय प्रभाव मूल्यांकन (EIA) का लागि पहल गरिनेछ।
स्रोतबाटै फोहरको बर्गिकरण गरी कुहिने फोहरलाई कम्पोष्ट मल र नकुहिने फोहरलाई ल्यान्डफिल्ड साईटमा विसर्जन गरी बजारको फोहर व्यवस्थापनलाई व्यवस्थित बनाईनेछ।
घरेलु फोहरमैला बाहेक अन्य स्वास्थ्य संस्थाजन्य फोहरमैला व्यवस्थापनका लागि सम्बन्धित व्यक्ति वा निकायलाई जिम्मेवार बनाईनेछ।
फोहरमैलाको प्रकृति र परिमाण अनुसार सेवा शुल्कको व्यवस्था गरी "फोहर गर्नेले तिर्ने" सिद्धान्तलाई अवलम्वन गरिनेछ।
फोहरमैला व्यवस्थापन सम्बन्धी असल अभ्यासहरुको आदान-प्रदान र समुदाय तहसम्म प्रचार-प्रसार गरिनेछ।
विद्यालय शिक्षाको पाठ्यक्रममा फोहरमैला व्यवस्थापन सम्बन्धी विषय समावेश गरी जनचेतना अभिवृद्धिलाई फराकिलो तथा संस्थागत गरिनेछ।
आवधिक रुपमा नगर क्षेत्रमा जनप्रतिनिधि, विभिन्न निकायका कर्मचारी एवं सर्वसाधारण नागरिकहरुको सहकार्यमा सरसफाई अभियान सञ्चालन गरिनेछ।
प्लाष्टिकका झोला वा प्लाष्टिकजन्य सामग्रीहरुको प्रयोगलाई निरुत्साहित गरिनेछ।
विपद् व्यवस्थापनः
विपद् व्यवस्थापनका सम्बन्धमा नगरपालिकाको संस्थागत क्षमता विकास गरिनेछ।
विपद्का घटना हुनासाथ खोज उद्धार र राहत लगायतका प्राथमिक कार्यहरु तत्काल गर्नको लागि संस्थागत संयन्त्र स्वत: परिचालित हुने वातावरण मिलाईनेछ।
नगरपालिकाका पदाधिकारी, कर्मचारी, स्वयंसेवक, सामाजिक परिचालक तथा समुदायलाई विपद् व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिने व्यवस्था मिलाईनेछ।
सरकारी, निजी एवं गैरसरकारी संस्था, स्थानीय स्वयंसेवक, सामाजिक परिचालक लगायत सम्बन्धित सबै पक्षको समन्वय र संलग्नतामा विपद् व्यवस्थापन सम्बन्धी कार्य गरिनेछ।
विपद् प्रतिकार्यका लागि सुरक्षा निकायहरुसँगको समन्वय र सहकार्यमा नमूना अभ्यासका क्रियाकलाप सञ्चालन गरिनेछ।
स्थानीय स्तरमा आपत्कालीन कार्यसञ्चालन केन्द्र र स्थानीय विपद् सहायता कक्ष (LDHD) स्थापना गरी सञ्चालन गरिनेछ।
विद्यालय तहको शैक्षिक पाठ्यक्रममा विपद् व्यवस्थापन सम्बन्धी विषय समावेश गर्न पहल गरिनेछ।
स्थानीय विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना तर्जूमा गरी कार्यान्वयन गरिनेछ।
प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट जोखिमयुक्त क्षेत्र, खुल्ला सुरक्षित स्थान तथा आपत्कालीन आश्रयस्थलको पहिचान र नक्साङ्कन गरिनेछ।
नगर विपद् व्यवस्थापन कोषमा सहयोग गर्न व्यक्ति तथा संस्थाहरूलाई आह्ववान गरिनेछ।
वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाई विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाईनेछ।
आदरणीय सदस्यज्यूहरु,
अब म संस्थागत विकास, सेवा प्रवाह र सुशासन विषयक्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु।
संस्थागत विकास, सेवा प्रवाह र सुशासनः
योजना व्यवस्थापन र तथ्याङ्क प्रणालीः
विभिन्न विषय क्षेत्रगत नीति, रणनीति, गुरुयोजना तथा योजनाहरू तयारी गरी कार्यान्वयन गरिनेछ।
उपभोक्ता समितिबाट संचालन हुने योजनाहरूलाई व्यवस्थित गर्नका लागि योजना कार्यान्वयन पुस्तिकालाई थप परिष्कृत गरी लागू गरिनेछ।
विस्तृत परियोजना प्रतिवेदन, संभाव्यता अध्ययन र प्राविधिक लागत अनुमानका आधारमा निर्माण सम्वन्धी कार्यमा बजेट विनियोजन गरिनेछ।
विकास कार्यक्रमहरूमा सार्वजनिक, निजी, सहकारी, गैर सरकारी साझेदारी एवं सामुदायिक सहभागितालाई प्रवर्द्धन गरिनेछ।
योजना तथा कार्यक्रम कार्यान्वयन, अनुगमन तथा सुपरिवेक्षण, विपद व्यवस्थापन, विपद प्रतिकार्य र पूर्वतयारी जस्ता क्षेत्रमा संस्थागत जिम्मेवारी स्पष्ट गरी कार्यान्वयन गरिनेछ।
योजना अनुगमन तथा बजार अनुगमनलाई थप प्रभावकारी बनाईनेछ।
नीति, कानून, न्याय र सुशासनः
संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्र भित्रको निर्माण गर्न बांकी रहेका ऐन, नियम, कार्यविधी, मापदण्डहरू क्रमशः निर्माण गरी कार्यान्वयन गरिनेछ।
निर्मित नीति तथा कानूनहरूको प्रभावकारी कार्यान्वयन, नियमन र अनुगमन गरी सुशासन कायम गरिनेछ।
विधिको शासन प्रवर्द्धन, जनसहभागिता अभिवृद्धि, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता, सेवा प्रवाहमा निष्पक्षता र महिला तथा लक्षित समूहलाई अग्राधिकार दिने नीति लिई सोही वमोजिम कार्यान्वयन गरिनेछ।
नगर प्रहरीहरूको क्षमता विकासका लागि आवश्यक व्यवस्था गरिनेछ।
निर्वाचित पदाधिकारी तथा कर्मचारीहरूका लागि आचारसंहिता तथा सदाचार पद्धति लागू गरी सुशासनको पूर्ण प्रत्याभूति दिँदै भ्रष्टाचारमुक्त नगर बनाइनेछ।
संगठनात्मक विकास, मानव संशाधन तथा सेवा प्रवाहः
प्रत्येक पदको कार्यविवरण तयार गरी कार्यसम्पादन सम्झौतालाई निरन्तरता दिईनेछ। कार्यसम्पादन सम्झौतालाई नगरको सबै क्षेत्रमा विस्तार गरिनेछ।
नगरपालिकाबाट प्रदान गरिने प्रशासनिक सेवालाई छिटो छरितो, जनमुखी, झन्झट्मुक्त, सर्वसुलभ एवम् पारदर्शी बनाउँदै लगिनेछ।
नगरपालिका र प्रत्येक वडामा सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण लगायत सुशासन प्रवर्द्धनका कार्यक्रमहरू संचालन गरिनेछ।
सार्वजनिक जबाफदेहिता, उत्तरदायित्व र पारदर्शिता कायम गर्न नागरिक समाजको भूमिकालाई प्रश्रय दिइनेछ।
स्रोत परिचालनः
नगरपालिकाको बजेट निर्माण गर्दा आवधिक योजनाले तोकेका प्राथमिकता, प्रदेश र केन्द्र सरकारबाट प्राप्त मार्गदर्शन एवं नगरपालिकाले तोकेको प्राथमिकताको आधारमा वित्तीय स्रोतहरूको व्यवस्था गरिनेछ।
नगरपालिकाको आन्तरिक श्रोत न्यून भएका कारण संघ र प्रदेश सरकार तथा अन्य निकायहरूसंग थप वित्तीय व्यवस्थापनको लागि पहल गरिनेछ।
करका दरहरु पुनरावलोकन गरी उचित प्रगतिशील दर कायम गरिनेछ। नगरमा करको दायरा फराकिलो बनाउँदै लगिनेछ।
राजश्व संकलनलाई अभियानको रुपमा अगाडी बढाईनेछ।
नगरपालिकाको सम्पूर्ण लेखा तथा आर्थिक विवरणको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराई कायम भएका बेरुजुको प्रतिवेदन उपर कानून बमोजिम कारबाही तथा फर्छ्यौट गरिनेछ।
अर्थ तथा सार्वजनिक लेखा समितिलाई सक्रिय बनाई बेरुजु फर्छ्यौटको कार्यलाई प्राथमिकतामा राखी अगाडि बढाईनेछ।
गैर बजेटरी तथा फजुल खर्चहरूलाई नियन्त्रण गरिनेछ। चालु खर्चलाई सकेसम्म कम गर्दै लगिनेछ।
नगरपालिकाको बजेट कार्यान्वयन गर्दा वित्तीय अनुशासनलाई दृढताका साथ लागू गरी पारदर्शिता कायम गरिनेछ।
आदरणीय सदस्यज्यूहरु,
हालसम्म भएका आर्थिक-सामाजिक-भौतिक उपलब्धीहरूलाई संरक्षण गर्दै थप उन्नत र विकास गर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा आमूल परिवर्तन गरी विकास कार्यलाई तीब्रता दिने लक्ष्यका साथ आर्थिक वर्ष 20८1।082 को नीति तथा कार्यक्रम प्रस्ताव गरिएको छ।
प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट राष्ट्रिय तथा प्रादेशिक नीति तथा कार्यक्रम, लक्ष्य र गन्तव्य प्राप्तिका लागि टेवा पुग्नेछ भने नगरको लक्ष्य प्राप्तिका लागि योगदान पुग्नेछ भन्ने विश्वास लिईएको छ।
नगरपालिकाको समग्र विकासमा योगदान पुर्याउनुहुने माननीयज्यूहरू, राजनैतिक दल तथा नेतागणहरू, राष्ट्रसेवक कर्मचारीहरू, खोटाङ उद्योग वाणिज्य संघ लगायत निजी-सहकारी-सामुदायिक क्षेत्र, संघ-संस्थाहरू, नागरिक समाज, आम संचार जगत लगायत सम्पूर्ण नगरवासी दिदिबहिनी-दाजुभाईहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
अन्त्यमा, प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सबै तह-तप्काबाट सिर्जनात्मक तथा सक्रिय सहयोग र सहभागिता रहने विश्वास समेत व्यक्त गर्न चाहन्छु।