मध्यपहाडी लोकमार्गका तीन पुल सकियो, निर्माण व्यवसायीलाई सम्मान (भिडियो सहित)

  • प्रकाशित मितिः असार ७, २०८१
  • 413 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ७–मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा पर्ने तीन वटा पुल निर्माण सकिएको छ । भालुखोला, मेवाखोला र छेपेखोलाको पुलको काम सकिएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित भालुखोला र उक्त नगरपालिकाकै वडा नं ६ नेर्पास्थित मेवाखोलामा २०–२० मिटर लम्बाइको पुल सकिएको छ । आठ करोड ९४ लाख रुपैयाँमा सक्ने गरी उक्त दुवै पुल निर्माणको ठेक्का केएम इन्जिनियर्स विल्डर्स प्रालिले लिएको हो । २०८१ असार–२२ गतेभित्र सक्ने गरी २०७९ असार २२ गते सडक विभागसँग सम्झौता गरेको थियो । निर्माणमा संलग्न केएम इन्जिनियर्स विल्डर्स प्रालिका प्रबन्ध निर्देशक मोहन कार्कीले पुलको सम्पूर्ण काम सकिएको बताए ।


यस्तै उक्त सडक खण्डकै नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलाको पुलको काम पनि सकिएको छ । तीन करोड पाँच लाख ८० हजार एक सय ३७ रूपैयाँको लागतमा २०८० कात्तिक ११ गतेभित्रै सक्ने गरी सगरमाथा सजिव जेभीले ठेक्का लिएको थियो । तर स्थानीय, प्रदेश र संघीय चुनाव तथा कोसी प्रदेशमा पहिचानपक्षधरहरूले सञ्चालन गरेको आन्दोलनका कारण काममा अवरोध आउँदा बेलामा सक्न नपाए पनि अहिले भने काम सकिएको निर्माणमा संलग्न कृष्ण घिमिरेले बताए ।


यसै बीच भालुखोला र मेवाखोलाको पुल बेलामै सकेकाले निर्माण कम्पनी सम्वद्ध मोहन कार्कीलाई असार ७ गते सम्मान गरिएको छ । देशभर विकास निर्माण थलिएको बेला दुई पुल भने बेलामै सकिएकाले सम्मान गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित