मात्तिमलाई केरा पकेट क्षेत्र विस्तार गरिने

  • प्रकाशित मितिः असार २, २०८१
  • 232 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २–साकेला गाउँपालिका–५ मात्तिमबिर्ता क्षेत्रलाई केरा उत्पादनका लागि पकेट क्षेत्रको रूपमा विस्तार गरिने भएको छ । केरा खेती प्रबद्र्धन कार्यक्रम अन्तरगत चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशबाट प्राप्त २० लाख र २५ प्रतिशत स्थानीयको लागत साझेदारीमा उक्त वडामा केरा खेती विस्तार गरिने भएको हो ।
उक्त वडाको चार सय ६६ रोपनी क्षेत्रफलमा यस वर्षदेखि केरा खेती सुरु गरिएको गाउँपालिकाले जनाएको छ । जसका लागि जी नाइन जातको तन्तु प्रजनन (टिस्यु कल्चर)बाट उत्पादन गरिएको २८ हजार विरुवा रौतहटको चन्द्रनिगाहपुरबाट खरिद गरी ल्याएर किसानलाई वितरण गरिएको छ ।
केरा खेतीका लागि खाडल खन्ने तीन वटा उपकरण मेसिन किसानलाई हस्तान्तरण गरिसकिएको छ । गाउँपालिका प्रमुख रविप्रकाश राईले रोपिएको केराको बिरुवालाई जगाउन र सिंचाई सुविधा पु¥याउन २५ एमएमको १० हजार ८७० मिटर पाइप उक्त योजनाबाट खरिद गरी टोल सुधार समिति मार्फत किसानलाई जेठ ३२ गते हस्तान्तरण गरेका छन् ।
केरा खेती विस्तार गर्न स्थानीय मात्तिम कृषि तथा पशुपंक्षी कृषक समूह मार्फत काम अघि बढाइएको उक्त वडाका वडाध्यक्ष जीवन खत्रीले बताए । गाउँपालिका अध्यक्ष राईले वडा नम्बर ५ लाई केरा उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरि संघ प्रदेश तथा स्थानीय तहबाट लगानी बढाउँदै लैजाने बताए । किसानले उत्पादन गरेको कृषिजन्य वस्तुलाई बजार व्यवस्थापन गर्ने जिम्मा गाउँपालिकाले लिने बताए ।
पालिका भित्रका विभिन्न स्थानको माटो परीक्षण गरिसकिएको छ । कुन भूगोलमा के लगाउने भन्ने विस्तृत प्रतिवेदन आएपछि निर्धारण हुने र तत्कालका लागि वडा नम्बर ५ को भूगोलमा सुहाँउदो केरा, कफी, कागती, लिची लगायतका विरुवा रोप्न किसानलाई प्रोत्साहन गरिने अध्यक्ष राईको भनाई छ । गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, वडाध्यक्ष लगायतको उपस्थितिमा केरा उत्पादक कृषकहरुलाई पाइप हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित