खुन डाका मुद्दाका तीन फरार पक्राउ

  • प्रकाशित मितिः जेठ १४, २०८१
  • 727 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १४–खुन डाका मुद्दामा फरार तीन जना पक्राउ परेका छन् । २०६८ चैत ४ गते केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका मनराज सुनुवारको हत्यामा संलग्न केपिलासगढी गाउँपालिका–७ सुङ्देलका ५७ वर्षीय भीमबहादुर राई, ५८ वर्षीय चमारसिंह राई र ४३ वर्षीय ताराबहादुर राईलाई जेठ १३ गते पक्राउ गरी जेठ १४ गते जेल चलना गरिएको हो ।
२०६८ चैत ४ गते सुङ्देलका दानबहादुर राईको घरमा डाका गरी गरगहना, पुरातात्विक सामान लुटेर निस्कने क्रममा दानबहादुर राईकै घरमा कटेरो बनाई बस्ने सुनुवारले थाहा पाई होहल्ला गर्दा घटनास्थलमै हत्या गरी करिब ५० मिटर पर लगेर फालेको प्रहरीले जनाएको छ । दानबहादुर सहित श्रीमती जानकी राई र भदौनी संगीता राई सुतिरहेको अवस्थामा प्रवेश गरी ८५ हजार रूपैयाँ नगद, शंख दुई थान, गौलचन एक थान, शिवलिङ्ग दुई थान, शालीग्राम एक थान, सुनको रिङ एक जोर र सुनको सौभाग्य एक थान गरी दुई तोला सुन लिएर बाहिर निस्कने क्रममा सुनुवारले थाहा पाएपछि होहल्ला गर्दा उनीमाथि धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।
उनीहरूलाई २०६८ चैत १२ गते पक्राउ गरी जिल्ला अदालत खोटाङले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएपछि उनीहरूलाई कारागार चलन गरेको तर २०७३ भदौ २० गते पुनरावेदन अदालत राजविराजले उनीहरू डाका गरेको कसुरमा ६ वर्ष कैद र जनही एक लाख ३० हजार पाँच सय रूपैयाँ फैसला सुनाएपछि छुटेका थिए । फेरि २०७९ माघ १५ गते सर्वोच्च अदालतले जन्मकैदको सजाय हुने फैसला सुनाएपछि भएका उनीहरूलाई लुकीछिपी बसेको अवस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । उनका अनुसार उनीहरूमध्ये भीमबहादुर राईलाई १४ वर्ष, चमारसिंह राईलाई १४ वर्ष र ताराबहादुर राईलाई १३ वर्ष ११ महिना १४ दिन जेल सजायको फैसला सुनाएको छ । ‘डाका केसमा पनि केही समय जेल भुक्तान गरेका थिए,’ खड्काले भने–‘बाँकी जेल भुक्तानका लागि जेल चलान गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित