दिक्तेलमा जारी राष्ट्रिय कराते प्रतियोगितामा आयोजकको अग्रता

  • प्रकाशित मितिः जेठ ८, २०८१
  • 676 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ ८–दिक्तेलमा जारी राष्ट्रिय कराते प्रतियोगिताको सुरुवाती चरणमा आयोजकले अग्रता लिएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा माटिकोरेस्थित बहुउद्देश्यीय कबर्डहलमा जेठ ८ गते सुरु प्रतियोगितामा आयोजकले अग्रता लिएको हो ।
विभिन्न पाँच इभेन्टमा भएको खेलमा आयोजकले तीन स्वर्ण सहित अग्रता लिएको आयोजकले जनाएको छ । महिला एकलकातामा रुस्मा राई, महिला टिमकातामा अनिशा राई, विसुका राई र करुणा राई तथा पुरुष टिमकातामा रुरीहाङ दुमी, अर्जुन श्रेष्ठ र सूर्यचन्द्र राईले आयोजकलाई स्वर्ण दिलाएको छ ।
महिला एकलकातामा गण्डकीकी सुमिना तामाङले रजत र कोसीकी कृति राईले कास्य चुमिन् । महिला टिमकातामा कोसीकै सोमी राई, प्रमिला विश्वकर्मा र कृति राईले कास्य हात पारिन् । पुरुष टिमकातामा अमीर राई, निदे शेर्पा र रोजल थामीले कोसीलाई कास्य दिलाए ।
पुरुष एकलकातामा अन्जन यार्साली मगरले वागमतीलाई स्वर्ण दिलाए । आयोजकलाई सूर्यचन्द्र राईले कास्य दिलाए । कोसीका अमीर राई र मधेसका सदम पटेलले रजत पाए ।
४५ केजी पुरुष कुमितेमा मधेसका प्रिन्स साहले स्वर्ण, आयोजकका प्रणयविक्रम राईले रजत र कर्णालीका भुवनसुन्दर श्रेष्ठ तथा वागमतीका आशिक कुयालले कास्य पाएको आयोजकले जनाएको छ । अन्य खेल जेठ ९ र १० गते हुने आयोजकले जनाएको छ ।
करातेमा टिम प्रथम हुनेले एक लाख ११ हजार एक सय ११, दोश्रो हुनेले ५५ हजार पाँच सय ५५, तेश्रो हुनेले ४४ हजार चार सय ४४, चौथो हुनेले २२ हजार दुई सय २२, उत्कृष्ट पुरुष र महिला खेलाडी एक–एक जनाले जनही २२ हजार दुई सय २२ रुपैयाँ र उत्कृष्ट व्यवस्थापनले ११ हजार एक सय ११ रुपैयाँसहित ट्रफि र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगितामा सहभागी खेलाडीलाई आवास, खाना, खाजा लगायतका व्यवस्था आयोजकले गरेको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सन्जयकुमार राईले बताए । ‘प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत बैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म विभिन्न प्रतियोगिताहरू भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित