विश्व प्रशिद्ध हलेसीको गुरु योजना बन्दै
- प्रकाशित मितिः फाल्गुन १३, २०७५
- 1391 पटक पढिएको
- संवादताता
नमस्ते खोटाङ संवाददाता-
खोटाङ, फागुन १३–विश्व प्रशिद्ध हलेसीको गुरुयोजना निर्माण सुरु भएको छ । हलेसी विश्व प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले त्यसै आधारमा गुरु योजना निर्माण सुरु गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसीलाई विश्व सम्पदा सूचीको मापदण्डमा आधारित रहेर गुरु योजना बनाउ“न सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए । उनका अनुसार धार्मिक क्षेत्र, पर्यटकीय क्षेत्र, त्रिधार्मिक हब (हिन्दू, बौद्ध र किरात), सांस्कृतिक क्षेत्र, ध्यान केन्द्र, खानेपानी, अस्पताल, बसपार्क लगायतको अन्तरराष्ट्रिय मापदण्ड अनुसारको संरचना निर्माणका लागि विभिन्न विषयका विज्ञहरुसंग छलफल भइरहेको छ । ‘विश्व सम्पदा सूचीमा रहने गरी गुरु योजना निर्माण भइरहेको छ ।’ नगरप्रमुख राईले भने–‘यसका लागि विभिन्न विषयका विज्ञहरुसंग छलफल भइरहेको छ ।’
गुरु योजनाका लागि विभिन्न प्राविधिक समिति गठन गरिएको छ । धार्मिक, सांस्कृतिक, पर्यटन, भूगर्व, सहरी योजना लगायतका विज्ञहरुसंग छलफल भइरहेको नगरप्रमुख राईले सुनाए । केही दिनमै बृहत गुरु योजनामा के के विषय समेटिन्छ र कति क्षेत्रफल उपयोग गरिन्छ भन्ने टुङ्गो लाग्ने नगरप्रमुख राईले बताए ।
हलेसी मन्दिर आसपासका करिब चार सय घर–टहरा रहेको र त्यसको व्यवस्थापन कसरी गर्ने, मध्यपहाडी लोकमार्ग पनि हलेसी मन्दिर क्षेत्रभित्रै रहेकाले त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने लगायतका अन्य विषयमा समेत विज्ञहरुको परामर्शपछि गुरुयोजनामा समावेश गरिने नगरप्रमुख राईले सुनाए । हलेसी सुक्खा क्षेत्र रहेकाले पानीको नियमित श्रोत चुनौति भएकाले यसको व्यवस्थापनमा समेत दीर्घकालीन योजना बनाइने छ ।
सुविधा सम्पन्न अस्पताल, बसपार्क लगायतको समेत निर्माण गर्नु पर्ने भएको यसका लागि सरकारले बजेट विनियोजन गर्नु पर्ने नगरप्रमुख राईले बताए । बसपार्कका लागि आठ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध भएको र मापदण्डको अनुसारको बसपार्क निर्माणका लागि डिटेल स्टीमेटपछि टेन्डर गर्ने चरणमा पुगेको समेत नगरप्रमुख राईले सुनाए ।
गुरु योजना निर्माणका लागि करिब चार करोडको हाराहारीमा बजेट लाग्ने नगरप्रमुख राईले सुनाए । यसमध्ये नगरपालिकाले ७० लाख रुपैया“ मात्र छुट्टयाएको नगरप्रमुख राईले सुनाए । अपुग बजेटका लागि प्रदेश र संघ सरकारलाई अनुरोध गरिएको छ । नगरप्रमुख राईका अनुसार गुरु योजना कार्यान्वयनका लागि करिब १२ अर्ब रुपैया“ जति लाग्छ ।