जनसेवा सामुदायिक अस्पताल नगर अस्प्तालमा रूपान्तरण

  • प्रकाशित मितिः बैशाख २६, २०८१
  • 160 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २६–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयको सहयोगबाट स्थापना गरिएको जनसेवा सामुदायिक अस्पताल नगरपालिकालाई हस्तान्तरण गरिएको छ । स्थनीयले व्यवस्थापन धान्न नसकेपछि बैशाख २६ गते नगरलाई हस्तान्तरण गरेको हो ।
जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शैयाको जनसेवा सामुदायिक अस्पताललाई अब नगर अस्पतालमा रूपान्तरण गरेर सेवा समेत प्रवाह गर्ने गरी नगरलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए ।
सामुदायिक अस्पताललाई नगर अस्पताल सञ्चालन गर्न नगरप्रमुख तीर्थराज भट्टराई, नगर स्वास्थ्य शाखा संयोजक खेमराज आचार्य, जनसेवा समाजका अध्यक्ष हिरालाल राई र जनसेवा सामुदायिक अस्पतालका अध्यक्ष ध्रुव श्रेष्ठ बीच संझौता भएको छ । संझौता अनुसार अस्पतालमा भएका कर्मचारी तथा स्वास्थ्यकर्मीको तलव भत्ता नगरले ब्यहोर्ने सहमती भएको छ । उक्त अस्पतालमा ल्याव टेक्सिसियन, अनमी, स्वास्थ्य सहायक, कार्यालय सहयोगी, लेखा गरी जम्मा ७ जना कर्मचारी छन् । अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीको असार मसान्तसम्मको तलव भत्ता नगरले ब्यहोर्ने सहमती भएको छ । अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीका लागि मासिक एक लाख २९ हजार खर्च हुन्छ ।
अस्पतालको चार रोपनी एक आना दुई दाम जग्गा, १४ वटा कोठा भएको चार वटा कच्ची भवन, चार कोठा भएको एउटा पक्की भवन, सात वटा सौचालय, तीन वटा कोठा भएको क्यान्टिन तथा स्टोर समेत नगरलाई बुझाइएको छ । दुई करोड बराबरको जग्गा तथा भवन, एक करोड ५० लाख बराबरको उपकरण र करिब आठ लाख बढीको औषधी, चस्मा, फार्मेसीसम्वन्धी सफ्टवेर लगायत समेत नगरलाई बुझाइएको छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि गठन गरिएको समिति नगर अस्पताल सञ्चालनपछि विघटन हुने संझौतामा उल्लेख छ । सामुदायिक अस्पतालको विभिन्न बैंक तथा वित्तीय संस्थाहमा खोलिएको खाताहरू लेखा परीक्षणपछि बन्द हुने संझौतामा उल्लेख छ । नगर अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० मा भएको ब्यवस्था अनुसार जनसेवा समाज नेपालको तर्फबाट १ जना महिला सहित २ सदस्य चयन गरी पठाउँने शर्तमा उल्लेख छ । अस्पतालले तिर्नु पर्ने १२ लाख १० हजार बाँकी बक्यौता नगरले ब्यहोर्ने संझौताको सर्तमा उल्लेख छ ।
जालपास्थित स्वास्थ्य चौकी र जनसेवा सामुदायिक अस्पतालले प्रवाह गर्दै आएको सेवा एकिकृत रुपमा सञ्चालन गर्ने शर्ममा उल्लेख छ । नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० मा भएको व्यवस्था अनुसार मेडिकल अधिकृत सहितको आवश्यक कर्मचारीको व्यवस्था गरी सेवा प्रवाह गर्ने समेत शर्तमा उल्लेख छ ।
जनसेवा सामुदायिक अस्पतालद्वारा तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौंसंगको साझेदारीमा प्रवाह गर्दै आएको जनसेवा ग्रामीण आँखा क्लिनिक सेवा तथा वडा कार्यालयसंगको साझेदारीमा सञ्चालन हुने दाँत उपचार सेवालाई आवश्यक बजेट व्यवस्थापन गरी निरन्तरता दिने समेत शर्तमा उल्लेख छ ।
जनसेवा सामुदायिक अस्पतालले सेवा सञ्चालन पूर्व १५ शैयाको सेवा सञ्चालनको स्वीकृति पाएको र त्यही बमोजम सेवा सञ्चालन भइरहेको भए पनि हाल पाँच शैयाबाट जनसेवा नगर अस्पताल सञ्चालनमा रहने र आगामी दिनमा बृद्धि गरी १५ शैया पु¥याउँने शर्तमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित