एमाले खोटाङको आठौं जिल्ला अधिवेशन सुरु, अध्यक्षमा दङ्गाल र राईको आकांक्षा

  • प्रकाशित मितिः चैत्र २८, २०८०
  • 188 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २८—नेकपा एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन चैत २८ गते माटिकोरेमा सुरु भएको छ । अधिवेशनको एमाले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेकी हुन् । अधिवेशनमा जिल्लाका ७९ वडाबाट पाँच सय ७९ प्रतिनिधि सहभागी छन् ।
अधिवेशनले पार्टीको राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए ।
अधिवेशनबाट दंगाल आफैँ फेरि दोहोरिएर अध्यक्ष बन्न चाहेका छन् । तर उपाध्यक्ष देवविक्रम राईले पनि अध्यक्षमै दाबी गरेका छन् । नेताहरुले सकेसम्म सर्वसम्मतरुपमा र नभए चुनावबाट नेतृत्व चयन हुने बताए ।
श्रोतका अनुसार दंगाल र राई दुवैले आ–आफ्नो प्यानलै तयारी गरिसकेका छन् । उपाध्यक्षमा उपीनकुमार राई, वर्तमान सचिव कुमार आचार्यको प्रतिष्पर्धा हुने देखिएको छ । सविचमा सुरेन्द्रकुमार राई सर्वसम्मत बन्ने सम्भावना छ भने उपसचिवमा ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष समेत रहेका गिरेन्द्रबहादुर राई, दिलचक्र राई, राजन बन्जारा, गोपी खड्का र कमल ढकाल आकांक्षी देखिएका छन् । महिला उपसचिवमा कविता राई र पूर्णमाया तामाङ आकांक्षी देखिएका छन् ।
राईको पक्षमा एमाले नेता विशाल भट्टराई उभिएका छन् भने दंगालको पक्षमा केन्द्रीय सदस्यहरू खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल लगायतका नेताहरू छन् । एमाले नेता पाँचकर्ण राई पनि दङ्गालकै पक्षमा देखिएको श्रोतले बताएको छ । दङ्गाल र राईको प्यानल देखिए पनि भट्टराई र अन्य नेताहरू बीचको शक्ति संघर्ष भएको श्रोतको भनाई छ । ‘देख्नलाई दङ्गाल र राईको प्यानल देखिन्छ, तर यो भट्टराई र उनलाई मन नपराउँने नेताहरू बीचको शक्ति संघर्ष हो ।’ उनले भने–‘चुनाव भयो भने कसको कति शक्ति रहेछ भन्ने थाहा हुन्छ ।’
कतिपय भने दुवै भन्दा फरक व्यक्तिले नेतृत्व लिनु पर्ने बताउछन् । श्रोतले भन्यो–‘दङ्गाल आफैंमा सक्षम भए पनि दुई चोटी नेतृत्व लिइसकेका छन्, राईले नेतृत्व लिए उही भट्टराईले चलाउने हो, दुई मध्ये दुवै उस्तै हुन्, दोधारमा परियो, नेतृत्व जाम हुने भएकाले अर्को विकल्प खोज्नुपर्ने हो तर त्यस्तो देखिएन ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित