चिट चोर्ने पनि अनेक जुक्ति

  • प्रकाशित मितिः चैत्र २२, २०८०
  • 190 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २२–एसइइ परीक्षामा मोबाइलबाट प्रश्नपत्र बाहिर पठाएर चिट चोरेको आरोपमा तीन जना विद्यार्थी निस्काशित भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जालपा मावि केन्द्रमा मोबाइल सहित तीन जना विद्यार्थी चैत २२ गते निस्काशित भएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका निमित्त प्रमुख नन्दबहादुर विश्वकर्माका अनुसार चैत २२ गतेको ऐच्छिक प्रथम अर्थशास्त्र विषयको परीक्षा अनुगमनको क्रममा मोबाइलमा मेसेन्जर ग्रुप बनाएर चिट चोरिरहेको भेटिएपछि तीन जनालाई निस्काशित गरिएको हो । फरक–फरक दुई कोठामा मोबाइलमार्फत चिट चोरिरहेको र दुवै कोठाका निरीक्षकलाई समेत हटाइएको विश्वकर्माले बताए । उनका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित सरस्वती माविका हरिप्रसाद भट्टराई र ११ खार्मीस्थित कालिका माविकी सुमना दाहाललाई हटाइएको हो ।
ऐच्छिक प्रथम अर्थशास्त्र विषयको ‘इकोनोमिक्स ग्रुप’ बनाएर परीक्षार्थीले प्रश्नपत्र पठाउँने र कालिका मावि खार्मीका प्रधानाध्यापक प्रकाश राईले बाहिरबाट उत्तर पठाइरहेको पाइएको विश्वकर्माले बताए । त्यस्तै सरस्वती माविका विद्यार्थीको मोबाइलमा ‘क्वास टेन स्टुडेन्ट’ नामक नामक म्यासेन्जर ग्रुपबाट प्रश्नपत्र पठाउँने र उत्तर आउने गरेको समेत विश्वकर्माले बताए । उक्त ग्रुपमा कसले उत्तर पठाएको भन्ने खुल्न बाँकी रहेको विश्वकर्माले बताए । निस्काशित भएका तीनै जनाको ऐच्छिक प्रथम अर्थशास्त्र विषयको परीक्षा रद्द गरिएको छ । चैत २३ गते हुने परीक्षा भने दिन पाउँने विश्वकर्माले बताए ।

तस्विर साभार : गुगल

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित