२९ वर्षमा पनि सकिएन गाइघाट–दिक्तेल सडक

  • प्रकाशित मितिः चैत्र २१, २०८०
  • 310 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २१–निर्माण सुरु भएको २९ वर्षमा पनि सगरमाथा लोकमार्ग (गाइघाट–दिक्तेल) पूरा हुन सकेको छैन । विभिन्न निर्माण कम्पनीहरूले काम थाले पनि अलपत्र पारेपछि सडक अपूरै रहेको हो ।
उक्त सडक अन्तरगत चार वटा खण्डमा निर्माण कम्पनीले काम अलपत्र पारेपछि ठेक्का तोडिएको छ । उदयपुरको दियाले–फोक्सिङटार सडक खण्ड (३२ किलोमिटर) मा कन्चन्जङ्घा गोल्डेन गुड्सले २०७५ भदौ १० गतेभित्र सक्ने गरी २०७३ भदौ १२ गते संझौता गरे पनि काम अलपत्र पारेपछि गत माघ २ गते ठेक्का तोडिएको छ । करिब ३१ करोडको लागतमा सक्ने गरी सुरु गरिएको उक्त सडकको भौतिक र वित्तीय प्रगति ८२.६० प्रतिशत पुगेको गाइघाट–दिक्तेल सडक आयोजना गाइघाटका इन्जिनियर नारायण थापाले बताए ।


त्यस्तै देवनारायण मैनाचुलीनसकी खम्पाची जेभीले २०७७ साउन १० गतभित्र सक्ने गरी ठेक्का लिएको खोटाङको फोक्सिङटार–सिम्पानी (२६ किलोमिटर) सडक पनि नसकी ठेक्का तोडिएको छ । करिब ४९ करोडको लागतमा २०७३ साउन ११ गते संझौता गरी सुरु सडकको भौतिक ६२ र वित्तीय ६०.३ प्रतिशत प्रगति देखिन्छ । उक्त निर्माण कम्पनीले काम अलपत्र पारेपछि २०७९ भदौमा ठेक्का तोडिएको थियो । निर्माण कम्पनीले पाटनस्थित उच्च अदालतमा ठेक्का तोड्ने निर्णय विरुद्ध दिएको उजुरीपछि उच्च अदालतले फेरि विभागको निर्णयलाई सदर गर्दै २०८० असोजमा फैसला सुनाएको थियो ।


त्यसै गरी फोक्सिङटार–सिम्पानी सडक खण्डको कन्ट्रक्सन निर्माणका लागि ठेक्का लिएको मैनाचुली–सिद्धिसायी–प्रकाश जेभीले पनि काम अलपत्र पारेपछि उक्त ठेक्का पनि तोडिएको छ । करिब ११ करोडको लागतमा २०७७ साउन १० गतेभित्र सक्ने गरी २०७३ साउन ११ गते संझौता गरी काम थाले पनि ८० प्रतिशत मात्र भौतिक र वित्तीय प्रगति देखिएको छ । उक्त ठेक्का पनि २०७९ भदौमा तोडिएको थियो । त्यसमा पनि निर्माण कम्पनीले पाटनस्थित उच्च अदालतमा ठेक्का तोड्ने निर्णय विरुद्ध अन्तरिम आदेशका लागि दिएको उजुरीमा विभागको निर्णयलाई सदर गर्दै २०८० असोजमै फैसला सुनाएको थियो ।


सिम्पानी–महुरे (२२ किलोमिटर) सडक निर्माणको ठेक्का लिएको भारत कन्ट्रक्सन–सिद्धिसायी जेभीले २०७७ असार ३० गतेभित्र सक्ने गरी ठेक्का लिए पनि काम अलपत्र छाडेर हिडेपछि गत माघ २९ गते ठेक्का तोडिएको हो । करिब ४६ करोडको लागतमा निर्माण थालिएको उक्त सडक खण्डको भौतिक र वित्तीय प्रगति ४३.६२ प्रतिशत देखिएको थापाले सुनाए । यस सडक अण्ड अन्तरगतका निर्माण कपनी सम्वद्ध कामदारले स्थानीयहरूबाट लिएका दैनिक उपभोग्य वस्तुको रकम समेत नतिरी भागेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ का वडाअध्यक्ष दिनेश राईले बताए ।
खोटाङ क्षेत्रको सडक निर्माणका लागि बहुवर्षीय बजेट सुनिश्चिता, र ठेक्का सहमतीका लागि प्रक्रिया बढाइएको थापाले बताए । ‘बहुवर्षीय बजेट सुनिश्चिता र ठेक्का सहमतीका लागि अर्थमन्त्रालयमा फायल पुगेको छ ।’ थापाले भने–‘आशा गरौं, स्वीकृति हुन्छ होला ।’
२०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु भएको गाइघाट–दिक्तेल सडक अझै पूरा भएको छैन । त्यत्ति बेला खोटाङ क्षेत्र नं ३ बाट निर्वाचित तत्कालीन यायातायात राज्य मन्त्री अशोककुमार राईको पहलमा सुरु भएको उक्त सडक अलपत्र पारेपछि तराईसंग यातायात सम्वन्ध जोडिन नसकेको हो । बेलामा सडक नबन्दा जिल्लाको विकासमा बाधा पुगेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित