सय फिट अग्लो यलम्बरको सालिक निर्माण रोकियो

  • प्रकाशित मितिः चैत्र १९, २०८०
  • 284 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको पञ्चदोबाटोमा निर्माणाधीन एक सय फिट अग्लो यलम्बरको सालिक अन्तिमचरणमा पुगेर रोकिएको छ । करिब ११ करोड ५८ लाख रुपैयाँको लागतमा निर्माणाधीन यलम्बरको सालिकको स्ट्रक्चर डिजाइन टुङ्गो नलाग्दा अन्तिम चरणमा पुगेर रोकिएको हो ।
प्रदेश र स्थानीय सरकारको ११ करोड ५८ लाख १६ हजार रुपैयाँको लागतमा सालिक निर्माण भइरहेको हो । यसमध्ये प्रदेश सरकारका ७० र स्थानीय सरकारको ३० प्रतिशत लगानीमा निर्माण भइरहेको हो । उमा–तुवाचुङ–अन्सुली जेभीले २०७९ माघ मसान्तसम्म सक्ने गरी २०७९ असार २८ गते संझौता गरे पनि दुई पटक म्याद थप गरिएको छ । पछिल्लो चोटी थपिएको म्याद २०८१ असोजमा सकिन्छ ।
मुर्तीको बाहिरी भाग लगभग सकिए पनि त्यसलाई थाम्ने भित्र राखिने स्ट्रक्चर डिजाइन फाइनल नहुदा काममा अवरोध आएको निर्माणमा संलग्न सुनिल राईले बताए । डिजाइन नदिदा आर्किटेक इन्जिनियर त्यत्तिकै बस्नु परेकाले घाटा ब्यहोर्न वाध्य भएको राईको भनाई छ । ‘काम धेरै थिएन, मुर्तीको भित्र राख्ने स्ट्रक्चरको फाइनल नहुदा तीन महिनादेखि काम रोकिएको छ,’ राईले भने–‘मुर्तीको बाहिरी भाग बनिसकेको छ, फेरि स्ट्रक्चर राख्दा फेरि खोलेर राख्नु पर्ने हुन्छ, नगरले धेरै दुःख दियो ।’
स्ट्रक्चर सम्वन्धी नगरमा विज्ञ नभएकाले त्यसका लागि कन्सल्टेन्ट व्यवस्थापन भइरहेको र केही दिनमै उपलब्ध हुने नगरप्रमुख तीर्थराज भट्टराईले बताए । ‘स्ट्रक्चरसम्वन्धी कन्सल्टेन्टको व्यवस्थापन भइरहेको छ ।’ भट्टराईले भने–‘अब केही दिनमै उपलब्ध हुन्छ ।’
उक्त मुर्ती धुन याक्खाको टिमले बनाएको हो । यो सालिक संसारकै अग्लो भनेर नगरले दाबी गरेको छ । सालिक बाहेक यलम्बर पार्कको संरचना पनि लगभग सकिन लागेको राईले बताए । पार्कको भौतिक प्रगति ९५ प्रतिशत पुगेको राईको भनाई छ । ‘सबै काम लगभग काम सकिएको छ, थोरै बा“की रहेको कामका लागि सबै सामान फिल्डमा झरिसकेको छ, नगरले हलो अड्काएर गोरु कुट्ने काम गरिरहेको छ, हाम्रो कारणले होइन नगरकै कारणले काम रोकिएको हो ।’
आर्थिक वर्ष २०७६÷०७७ मा नगरपालिकाबाट पार्क निर्माण सुरु भएको हो । त्यतिखेर विनियोजित ७२ लाख रूपैयाँबाट प्रवेशद्धार, घेराबार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेन्ट गृह र पसल सञ्चालन गर्ने गृहको भवन लगायतका भौतिक संरचना बनिसकेको राईले बताए । उक्त संरचना उपभोक्ता समितिमार्फत बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित