जिल्लाबासीको उपचारमा जुट्यो खोटाङ सेवा समाज बेलायत

  • प्रकाशित मितिः चैत्र १६, २०८०
  • 208 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १६–खोटाङ सेवा समाज बेलायत (युके)ले जिल्लाका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँन बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका जिल्लाबासीलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई÷दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने गरी जिल्लाका ११ ठाउँमा बृहत स्वास्थ्य शिविर आयोजना गरेको हो ।


खोटाङमा जन्मिएर बेलायतमा बसोबास गरी विभिन्न पेशा व्यवसायमा आवद्धहरूको साझा संस्था ‘खोटाङ सेवा समाज बेलायत’ले शुक्रबारदेखि जिल्लाका विभिन्न ११ ठाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । उक्त शिविर चैत २३ गतेसम्म हुने खोटाङ सेवा समाज बेलायतका अध्यक्ष डा. प्रमोद कोयी राईले बताए । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नाराका साथ सञ्चालन गरिएको बृहत स्वास्थ्य शिविरको पहिलो दिन जिल्लाका विभिन्न चार ठाउँमा सञ्चालन गरिएको छ । उक्त शिविरको पहिलो चरणमा चैत १६ र १७ गते खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित स्वास्थ्य चौकी, जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी नमूना माविमा, रावाबेसी गाउँपालिकाको प्राङ्गढ र साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पतालमा आयोजना गरिएको छ ।


चैत–१७ र १८ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजार, चैत–२० र २१ गते हलेसी तुवाचुङ नगरपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ । चैत–२२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपा र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा शिविरको आयोजना गरिएको छ ।


खोटाङ सेवा समाज बेलायतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट सङ्कलित करिब तीन करोड दश लाख बराबरको रकम स्वास्थ्य शिविरमा खर्च गरिने आयोजकले जनाएको छ । चैत–२३ गतेसम्म सञ्चालन हुने शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकहरू सहित एक सय ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीको सहभागिता रहने खोटाङ सेवा समाज बेलायतका महासचिव राजेन रामजङ राईले बताए । शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजी लगायत रोगको उपचार र परीक्षण गरी करिब ५० हजार जिल्लाबासीको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित