क्षयरोगी खोज्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका

  • प्रकाशित मितिः चैत्र १२, २०८०
  • 76 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत १२–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्षयरोगीको खोजी सुरु गरेको छ । नगरक्षेत्रभित्र रहेका क्षयरोगीको पहिचान गरी उपचार गर्न खोजी सुरु गरेको हो ।
नगर स्वास्थ्य संयोजक खेम आचार्यका अनुसार नगरको १५ वटै वडामा स्वास्थ्यकर्मी खटाएर क्षयरोग पीडितको खोजी सुरु गरिएको छ । क्षयरोग अन्त्यका लागि नगरस्तरीय समिति निर्माण गरी खोजी सुरु गरिएको छ ।
नगरमा यो वर्ष ११ जना क्षयरोगी पहिचान गरी औषधी उपचार सुरु गरिएको समेत आचार्यले बताए । अघिल्लो वर्ष पहिचान भएका १८ क्षयरोगीमध्ये एक जनाको मृत्यु भएको र अन्य १७ जना औषधी उपचारपछि निको भएको आचार्यले सुनाए । मृत्यु भएका विरामीले औषधी छुटाएकाले मृत्यु भएको आचार्यले दाबी गरे । आर्थिक वर्ष २०७८÷७९ मा ११ जना क्षयरोगीको पहिचान भएको थियो । उनीहरू सबै औषधी उपचारपछि निको भएका छन् ।
आचार्यका अनुसार क्षयरोगी पहिचानका लागि एक जना ल्यावस्वास्थ्यकर्मी समेत वडा–वडामा खटाइएको छ । यसका साथै क्षयरोग अन्त्यका लागि वडास्तरीय समिति समेत निर्माण अभियान जारी राखिएको आचार्यले बताए । उनका अनुसा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा, १३ नुनथला लगायतका वडामा वडास्तरीय समिति निर्माण गरी क्षयरोगी पहिचान अभियान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित