हलेसी तुवाचुङ नगरपालिकाका किसानलाई भैसी

  • प्रकाशित मितिः चैत्र ११, २०८०
  • 260 पटक पढिएको
  • संवादताता

खोटाङ, चैत ११–हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई भैसी वितरण गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट नगरका ५० किसानलाई एक–एक वटाका दरले भैसी वितरण गरेको हो ।
दूधमा आत्मनिर्भर बनाउन भैसी वितरण गरिएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईले बताइन् । नगरपालिकाले ८० प्रतिशत अनुदान दिएको छ । किसानले २० प्रतिशत व्यहोर्नु पर्ने राईले सुनाइन् । एउटा भैसीको एक लाख रूपैयाँको मुल्य निर्धारण गरेर नगरपालिकाले ८० हजार अनुदान दिएको राईले बताइन् । ‘किसानको जीवनस्तर उकास्दै नगरलाई दूधमा आत्म निर्भर बनाउँन भैसी वितरण गरिएको हो ।’ राईले भनिन्–‘यसमा नगरको ८० प्रतिशत अनुदान र किसानले २० प्रतिशत व्यहोरेका छन् ।’
उक्त नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷८० को बजेटबाट पनि ४४ किसानलाई भैसी वितरण गरेको थियो । गत आर्थिक वर्ष दुई वटा भैसी हुनेलाई एउटा थपेर तीन वटा बनाइएको राईले बताइन् । ‘तीन वटा भैसी भयो भने दूहून नटुट्ने रैछ, बाह«ैमास आम्दानी होस् भनेर तीन वटा भैसी बनाइएको हो ।’ उनले भनिन्–‘यो वर्ष पनि दुई वटा भैसी हुनेलाई नै दिइएको हो ।’
गत र यो आर्थिक वर्ष दिइएको भैसीबाट दूध पनि उत्पादन सुरु भएको राईले बताइन् । एउटा भैसीले प्रतिदिन १०–१५ लिटर दूध दिन थालेको राईको भनाई छ । दूध उत्पादन हुन थालेपछि १०–१५ दिनभित्रै डेरी सञ्चालनको तयारी समेत गरिएको राईले बताइन् । डेरी सञ्चालनका लागि किसानलाई तालिममा पठाइएको र उनीहरूमध्ये डेरी सञ्चालनका दुई वटा दरखास्त परेको राईले बताइन् । डेरी सञ्चालनका लागि दश लाख रूपैयाँ बराबरको आवश्यक उपकरण नगरपालिकाले नै उपलब्ध गराउँने छ । ‘उपकरण चाहिँ नगरपालिकाकै स्वामित्वमा रहने छ ।’ राईले भनिन्–‘केही कसो गरी डेरी सञ्चालन बन्द भए अर्को व्यक्तिलाई सञ्चालन गर्न दिनका लागि उपकरण नगरपालिकाको स्वामित्वमा राखिएको हो ।’
इकान्तिपुरबाट साभार

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित