दिक्तेल अस्पतालचौक–साप्सुखोला सडक स्तरोन्नति अलपत्र

  • प्रकाशित मितिः चैत्र ९, २०८०
  • 261 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत ९–सदरमुकाम दिक्तेल र दक्षिणीक्षेत्र जोड्ने दिक्तेल अस्पतालचौक–साप्सुखोला सडक स्तरोन्नतिको काम अलपत्र परेको छ । निर्माण कम्पनीको ढिला सुस्तीका कारण योजना कटौती गरी बजेट नै विनियोजन नगरिएकाले काम अलपत्र परेको हो ।
उक्त सडक दुई खण्ड बनाएर ठेक्का लागेको थियो । अस्पतालचौक–दुबेचिवा तीन किलोमिटर सडकको काम ढुकुचु–बगाले जेभीले लिएको थियो । ५ करोड ६ लाख ५५ हजार पाँच सय ८६ रूपैयाँको लागतमा २०७९ पुस २८ गतेभित्र सम्पन्न गर्ने गरी ओखलढुङ्गाको हर्कपुरस्थित सडक डिभिजन कार्यालयसंग २०७८ जेठ २० गते सम्झौता गरेको थियो ।
त्यस्तै दुबेचिवा–साप्सुखोला चार किलोमिटर सडकको काम सगरमाथा सजिव आरएन जेभीले लिएको थियो । दुई करोड ९६ लाख ३७ हजार पाँच सय ८६ रूपैयाँको लागतमा २०७९ माघ २५ गते सक्ने गरी २०७८ चैत २९ गते सडक डिभिजन कार्यालयसंग संझौता गरेको थियो ।
दुवै सडकको ग्राबेल बाहेक स्ट्रक्चरको काम ९०-९० प्रतिशत सकिएको ओखलढुङ्गाको हर्कपुरस्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर सुनिल निरौलाले बताए । दिक्तेल अस्पतालचौक–दुबेचिवा सडक खण्डमा दुई करोड ९३ लाख र दुबेचिवा–साप्सु सडक खण्डमा एक करोड ८२ लाख रूपैयाँ खर्च भएको छ । ‘दुवै सडकको काम ग्राबेल सहित काम करिब ७०-७० प्रतिशत मात्र बाँकी थियो’–निरौलाले भने–‘नाली बनाउँने, ह्युमपाइप राख्ने, टेवा पर्खाल बनाउँने लगायतका काम सकेर ग्राभेल गर्ने चरणमा पुगेपछि योजना कटौती भयो ।’
निर्माण कम्पनीले काम अलपत्र पारेपछि योजना कटौती भएको र बजेट पनि विनियोजन नभएकाले ठेक्का समेत तोड्ने प्रक्रिया सुरु भएको सडक डिभिजन प्रमुख सिंहबहादुर विष्टले बताए । ‘योजना कटौती भएपछि ठेक्का तोड्ने प्रक्रिया थालिए छ ।’ विष्टले भने–‘ठेक्का तोड्का लागि योजनाको अध्ययन गर्दै छौं ।’
योजना कटौती भएपछि प्रतिनिधिसभा सदस्यहरू रामकुमार राई, सरस्व्ती बजिमय लगायत प्रतिनिधिहरू सहित सम्वन्धित मन्त्रालयको ध्यानाकर्षण गराइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । ‘मन्त्रालय पुगेर बुझ्दा रुग्न आयोजना भएकाले देशैभरिका योजनाहरू कटौती भएको रहेछ ।’ भट्टराईले भने–‘ठेकेदारको ढिलासुस्तीले गर्दा योजनै कटौती भयो ।’
सडक निर्माणको काम अलपत्र पारेर भाग्न खोजेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ढुकुचु–बगाले–बिएनटीको एउटा एक्साभेटर, दुई वटा टिपर र एउटा रोलरमा गत असोज २ गते तथा एउटा ब्याकहो लोडरमा कात्तिक २० गते चाँबी लगाएर नियन्त्रणमा लिएको थियो । उक्त सडक खण्डमा काम गर्ने कामदारले लिएको खाद्य तथा अन्य सामानको पैसा पनि नतिरेको स्थानीयले गुनासो गरेका छन् । यसबारेमा स्थानीयले नगरपालिका लगायत सडक डिभिजन कार्यालयसम्म धाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाअध्यक्ष दिनेशकुमार घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित