खोटाङकी पहिलो महिला रेफ्री ‘शशि’

  • प्रकाशित मितिः फाल्गुन २५, २०८०
  • 2455 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन २५–शशि राई उमेरले १८ वर्ष पुगिन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी चन्द्रमायाँ र हेमबहादुर (मणि) राईका चार सन्तानमध्ये कान्छी छोरीको रूपमा २०६२ जेठ २६ गते जन्मिएकी हुन् ।
जिम्मेवारीको हिसावले भने उनी अहिले फुटबलको खोटाङकै पहिलो महिला रेफ्री हुन् । उनी सानै उमेरदेखि फुटबल, भलिबल, कबड्डी लगायतका खेलमा चासो राख्थिन् । त्यसैको मेसोमा उनी फुटबल रेफ्री भएको उनी बताउछिन् । ‘खेलमा त सानैदेखि चासो थियो, खेलप्रतिको चासो भएकैले रेफ्री बनेकी हो ।’ उनले भनिन्–‘अबको जिन्दगी फुटबल रेफ्रीमै बित्छजस्तो लाग्छ ।’


उनी एन्फा (अखिल नेपाल फुुटबल एशोसियसन) रेफ्री हुन् । २०८० असोज ३–९ सम्म धरानमा भएको तालिमपछि भएको एन्फा रेफ्री परीक्षामा उतीर्ण भएकी हुन् । उनी नै जिल्लाको फुटबल खेलको इतिहासमा पहिलो महिला रेफ्री भएकी हुन् । त्यत्तिखेर देशभरका ५१ परीक्षार्थीमध्ये २१ जनाले रेफ्री उतीर्ण गरेका थिए । त्यसमध्ये जिल्लाका दुई जना (शशि र नेर्पाका विरेन गुरुङ)ले रेफ्री उतीर्ण गरेको सुनाइन् ।


रेफ्री उतीर्ण गरेपछि उनले विभिन्न ठाउँमा आयोजना गरिएको फुटबल खेलको रेफ्री गरिसकेकी छन् । सोल्मा, इन्द्रेणीपोखरी, दिक्तेल, नेर्पा लगायतका ठाउँहरूमा आयोजना गरिएको फुटबल खेलको रेफ्री गरेको उनले सुनाइन् । ‘रेफ्री पास गरेपछि काम पनि सुरु गरिसकेकी छु ।’ उनले भनिन्–‘इन्द्रेणीपोखरी, दिक्तेल, नेर्पा र सोल्मामा भएको फुटबलको रेफ्री गरेकी छु ।’
रेफ्री वापत एक दिनको दुई–तीन हजार रूपैयाँ पारिश्रमिक पाएको उनको भनाई छ । ‘पारिश्रमिक पनि आउँछ, त्यो भन्दा पनि फुटबल रेफ्रीमा करिअर बनाउँदैछु ।’ उनले भनिन्–‘करिअर बनेपछि त होला नि ।’ उनले थपिन्–‘अवसर पाइयो भने यसैमा भविष्य देखेकी छु ।’


छोरीको प्रगति देखेर आमा–बुवा पनि खुसी छन् । जिल्लामै पहिलो महिला रेफ्री भएपछि खुसी लागेको बुवा मणिले बताए । ‘छोरीले रेफ्रीमा नाम सुवास कमाएकी छन् ।’ उनले भने–‘तर नाम सुवास जोगाउन पनि सक्नुपर्छ ।’
शशिको फुटबल रेफ्रीमा भविष्य पनि राम्रै देखिएको जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष, सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ का वडाअध्यक्ष ध्रुबबिक्रम राईले बताए । ‘शशिको रेफ्रीमा भविष्य राम्रो छ ।’ उनले भने–‘फिजिकल फिटनेस्, डिसिजन पावर पनि राम्रो छ, प्लस् फुटबलको राम्रो खेलाडी पनि भएकाले रेफ्रीमा उनको भविष्य राम्रो छ, इमानदारिता र मेहनत पनि राम्रो भएकाले राष्ट्रिय रेफ्री हुदै त्यसभन्दामाथि एफसी (एशियाली फुटबल महासंघ)को रेफ्री हुने निश्चित छ ।’


शशिले दिक्तेलस्थित सरस्वती माविबाट कक्षा १२ उतीर्ण गरी दिक्तेल बहुमुखी क्याम्पसमा स्नातकतह सुरु गरेकी छन् । फुटबलसंगै पढाईलाई पनि निरन्तरता दिने उनको बिचार छ । ‘पढाई र रेफ्रीसंगै लाने योजना छ ।’ उनले भनिन्–‘पढाई सकेपछि चाहिँ पूरै समय रेफ्री तिरै हुन्छ, तर अग्रजहरूले अवसर दिनुपर्छ, मलाई यत्तिभए पुग्छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित