‘यू–२३ पुरुष फुटबल प्रतियोगिता’को उपाधि मात्तिमलाई

  • प्रकाशित मितिः फाल्गुन २०, २०८०
  • 217 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन २०–सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको ‘यू–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८०’को उपाधि साकेला गाउँपालिकाको मात्तिमले चुमेको छ । खोटेहाङ गाउँपालिकाको सावाकटरेलाई ट्राइब्रेकरमा ६–५ ले पराजित गर्दै मात्तिमले उपाधि चुमेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा फागुन २० गते सम्पन्न खेलमा विजेता टिमले एक लाख २२ हजार दुई सय २२ रूपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता टिमले ७१ हजार एक सय ११ नगद, ट्रफी र प्रमाणपत्र पाएका छन् । सेमिफाइनलिष्ट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाले ३५ हजार पाँच सय ५५ नगद पाएका छन् ।


उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई ।

उपाधि विजेता टिमलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराती र उपविजेता टिमलाई हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले पुरस्कार वितरण गरेकी छन् ।
खेलको अनुशासित टिम खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी घोषित भयो । उक्त टिमले पाँच हजार पाँच सय ५५ नगद, मेडल र प्रमाणपत्र पाएको छ । बेष्ट प्लेयर मात्तिमका राहुल राई घोषित भए । उनले पाँच हजार पाँच सय ५५ रूपैयाँ नगद, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै बेष्ट कोचमा मात्तिमका हिरन राई छानिएका छन् । उनले पाँच हजार पाँच सय ५५ रूपैयाँ नगद, मेडल र प्रमाणपत्र पाएका छन् ।


हाइ स्कोरर नेर्पाका विकी राईको पुरस्कार वितरण गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई ।

बेष्ट किपरमा मात्तिमकै उमेश थापा, बेष्ट डिफेन्डर सावाकटहरेका युवराज थापा, बेष्ट मिड फिल्डर सावाकटहरेकै सुविन खड्का, हाइ स्कोरर नेर्पाका विकी राई र राइजिङ प्लेयर मात्तिमका साहिल राईले जनही तीन हजार तीन सय ३३ रूपैयाँ मेडल र प्रमाणपत्र हात पारेका छन् । खेलमा जिल्लाको ७९ मध्ये १२ वडाले सहभागिता जनाएको थियो ।


पुरस्कार वितरण गर्दै जिल्ला फुटवल संघ खोटाङका अध्यक्ष तथा सोल्मा स्पोर्टस् क्वलका अध्यक्ष ध्रुबबिक्रम राई ।

भेट्रान्स खेलमा सोल्माले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई हराउँदै प्रथम भएको छ । प्रथमले दश हजार नगद, शिल्ड र मेडल हात पारेको छ भने दोश्रो हुने टिमले पाँच हजार नगद शिल्ड र मेडल पाएको आयोजक अमर श्रेष्ठले बताएका छन् । भेट्रानमा ६ टिम सहभागी थिए ।

प्रतियोगिताको समापनको दिन हास्य कलाकार सुवोध गौतम, गायिका अस्मिता अधिकारीले प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित