रुसी सेनामा भर्ती भएका सापातेलका क्षितिज बस्नेत पाँच महिनादेखि सम्पर्क विहीन

  • प्रकाशित मितिः फाल्गुन १९, २०८०
  • 836 पटक पढिएको
  • संवादताता

छोराको फोटो हेर्दै बुवा हेम्बर बस्नेत ।

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १९–दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु सापातेलका ३५ वर्षीय क्षितिज बस्नेत रुस जानुअघि दुवइमा सेक्युरिटी गर्थे । २०७६ असोजमा दुवइ पुगेका थिए । त्यसअघि उनी सशस्त्र प्रहरीमा भलिबल खेलाडीको रूपमा जागिरे थिए । ५–६ वर्षसम्म सशस्त्रमा काम गरेपछि दुवइमा सेक्युरिटीमा गएका हुन् ।
दुवइ सेक्युरिटीमा चार वर्षसम्म काम गरेर साथीको माध्यमबाट रुस पुगेको उनकी श्रीमती भिमकला आचार्य (अन्जली)ले बताइन् । उनका अनुसार खोटाङकै हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी भाडबेसीका सुमन कार्की मार्फत रुस पुगेका हुन् । रुस जानका लागि कति रकम खर्च गरे भन्ने बारे आफूलाई थाहा नभएको अन्जली बताउँछिन् । ‘कति रकम खर्च गरेर जानुभयो भन्ने चाहिँ थाहा भएन तर ४–५ लाख खर्च भयो होला ।’ उनले भनिन्–‘जान चाहिँ खोटाङकै भाडबेसीका सुमन कार्कीको माध्यमबाट जानुभएको हो ।’


रुस पुगेपछि पछिल्लो पटक अक्टुबर १९ (कात्तिक २ गते) राती ८ बजेर ४७ मिनेटमा कुरा भएको अन्जलीको भनाई छ । ‘टेन्सन नलिनु, हामी सेफमै छौ भन्नुभएको थियो, त्यसपछि सम्पर्कमा हुनुहुन्न ।’ उनले भनिन्–‘त्यसपछि रुसको रेस्टपबाट अर्को ठाउँ ट्रेनिङ गर्न लगेको भन्ने सुनेको थिएँ, अहिले बन्धक हुनुहुन्छ या अप्रिय घटना भयो भन्ने थाहा छैन ।’
क्षितिज सम्पर्क विहीन भएपछि परराष्ट्र मन्त्रालयमा मङ्सिर २२ गते आफन्तमार्फत निवेदन दिएकी थिइन् । तर अहिलेसम्म कुनै जानकारी नआएको अन्जली बताउँछिन् । ‘सुरुमा मङ्सिर १०–११ गतेतिर श्रम मन्त्रालय फोन गरेको थिएँ, त्यहाँ सम्वन्धित निकायमा बुझेर खबर गर्छु भन्यो ।’ उनले भनिन्–‘त्यसपछि कन्सुलर विभागमा फोन गरेँ, त्यहाँबाट परराष्ट्रमा निवेदन दिनु भन्यो, त्यसपछि निवेदन दिएको हो ।’
मस्कोस्थित रसियन शैन्य भर्ती केन्द्रमा कार्यरत अफ्गानिस्तानी साहिर भन्ने व्यक्तिसंग कुरा हुदा ‘नाता प्रमाणित लिएर मस्को आए खोजी गर्न सहज हुन्छ’ भनेको बताइन् । तर आफू पनि सशस्त्र प्रहरी पोकलीमा कार्यरत हुनका साथै खुट्टामा समस्या आएर हस्पिटल भर्ना हुन परेको बताइन् । ‘दायाँ खुट्टाको शल्य क्रिया गरिएकाले ३०–३५ दिनदेखि डिटेल अपडेट हुन सकेकी छैन ।’ उनले भनिन्–‘पछिल्लो अवधिमा डिप्रेसनको समेत औषधी खाइरहेकी छु ।’
क्षितिजका बुवा हेम्बर बस्नेतले छोरोको खोजीका लागि अनेक गर्दा समेत पत्तो नलागेको बताए । ‘अनेक गरियो तर छोरोको पत्तो लागेन ।’ उनले भने–‘त्यस्तो ठाउँमा नजानु पथ्र्यो भनेको थिएँ, घरपरिवार श्रीमती सबैलाई ढाटेर गएछ ।’ उनले भने–‘आमा दिनरात रोइराछिन्, अब खोजीका लागि जाने योजनामा छु ।’ बस्नेतका दुई छोरी, तीन छोरामध्ये क्षितिज कान्छा छोरा हुन् । क्षितिजका ८ वर्षका छोरा र ४ वर्षकी छोरी छन् । उनीहरुमध्ये छोरा इटहरीस्थित पिसजोनमा कक्षा २ मा र छोरी रामधुनी नगरपालिकास्थित चिल्ड्रन मन्टेश्वरी स्कुलमा नर्सरीमा पढ्छिन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित