१४ औँ राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई

  • प्रकाशित मितिः फाल्गुन १८, २०८०
  • 167 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १८–१४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चुमेको छ । दिक्तेलस्थित माटिकोरे खेलमैदानमा फागुन १८ गते सम्पन्न जिल्लास्तरीय प्रतियोगितामा २५ स्वर्ण, दश रजत र छ कास्य पदकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपाधि चुमेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाले नौँ स्वर्ण, दुई रजत र छ कास्य पदकसहित दोस्रो घोषित भएको छ । आठ स्वर्ण, पाँच रजत र पाँच कास्य पदकसहित केपिलासगढी गाउँपालिका तेस्रो भएको छ ।
प्रतियोगिताका पहिलो, दोस्रो र तेस्रो हुने स्थानीय तहले क्रमश नगद १५ हजार, १२ हजार र नौँ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । विजयी स्थानीय तह तथा खेलाडीलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका छन् ।
फागुन–१५ गतेबाट शुरु प्रतियोगितामा चार स्वर्ण, दुई रजत र चार कास्य पदकसहित ऐसेलुखर्क गाउँपालिका चौथो, दुई स्वर्ण, तीन रजत र चार कास्य पदकसहित खोटेहाङ गाउँपालिका पाँचौँ, दुई स्वर्ण, दुई रजत र एक कास्य पदकसहित दिप्रुङ चुइचुम्मा गाउँपालिका छैटौँ तथा दुई स्वर्ण, एक कास्य र एक रजत पदकसहित साकेला गाउँपालिका सातौँ भएका छन् । एक स्वर्ण, एक रजत र तीन कास्य पदकसहित बराहपोखरी गाउँपालिका आठौँ भएको छ भने नवौँ स्थानमा रहेको रावाबेँसी गाउँपालिकाले एक स्वर्ण पदक हातपारेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लीलाभक्त केसीले बताए । प्रतियोगितामा भलिबल, सितोरियो कराँते, तेक्वान्दो, कबड्डी र एथ्लेटिक्स गरी एक सय ११ पदकका लागि विभिन्न पाँच विद्यामा प्रतिस्पर्धा गराइएको केसीले बताए । जिल्लाको दश स्थानीयतहमध्ये जन्तेढुङ्गा गाउँपालिकामा सञ्चालित विद्यालयहरूले भने सहभागिता जनाएन ।
प्रदेशस्तरीय खेलमा एथलेटिक्समा २२, कबड्डी र भलिबलमा १८÷१८ तथा सितोरियो कराँते र तेक्वान्दोमा १२÷१२ जना छात्रछात्राले सहभागिता जनाउने केसीले बताए । प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडीसहित संरक्षक, प्रशिक्षक र व्यवस्थापकसहित १११ जना पठाइने छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित