१४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्लास्तरीय छनौट शुरु

  • प्रकाशित मितिः फाल्गुन १५, २०८०
  • 148 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १५–१४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्लास्तरीय छनौट खेल शुरु भएको छ । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा छ विद्यामा २३४ पदकका लागि मङ्गलबारदेखि छनौट शुरु गरिएको हो ।
जिल्लास्तरीय छनोट प्रतियोगितामा जिल्लाका ९ स्थानीय तहका विद्यालयका विद्यार्थी सहभागी छन् । १० स्थानीय तहमध्ये जन्तेढुङ्गा गाउँपालिकाबाट सहभागिता छैन ।
जिल्लास्तरीय छनोट प्रतियोगितामा भलिबल, सितोरियो कराँते, तेक्वान्दो, उसु र एथ्लेटिक्समा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले बताए । प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ, केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी, बराहपोखरी र साकेला गाउँपालिकाबाट सहभागिता जनाएका छन् ।
प्रतियोगितामा एथलेटिक्समा २६ स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ । कबड्डीमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, भलिबलमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, सितोरियो कराँतेमा १२ स्वर्ण, १२ रजत, २४ कास्य र तेक्वान्दोमा १२ स्वर्ण, १२ रजत, २४ कास्य तथा उसुमा १२ स्वर्ण, १२ रजत र २४ कास्य पदकका लागि प्रतिस्पर्धा हुने केसीले बताए । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने स्थानीय तहले क्रमशः नगद १५ हजार, १२ हजार र नौँ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
जिल्लास्तरीय प्रतियोगितामा छनोट भएका छात्रछात्राले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पाउने छन् । प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाबाट एथलेटिक्समा २२, कबड्डी र भलिबलमा १८÷१८ तथा सितोरियो कराँते, उसु र तेक्वान्दोमा १२÷१२ जना छात्रछात्राले सहभागिता जनाउने छन् । प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडी सहित संरक्षक, प्रशिक्षक र व्यवस्थापक गरी १११ जना पठाइने केसीले जनाए । जिल्लास्तरीय छनौट प्रतियोगिताको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित