सोल्मामा ‘यू–२३ पुरुष फुटबल प्रतियोगिता’ शुरु

  • प्रकाशित मितिः फाल्गुन १३, २०८०
  • 301 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन १३–सोल्मा स्पोर्टस् क्लबले आयोजना गरेको ‘यू–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता–२०८०’ शुरु भएको छ । प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले फागुन १३ गते क्लबको लोगो सहितको बेलुन उडाएर उद्घाटन गरेकी हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको आफ्नै खेलमैदानमा आयोजना गरिएका प्रतियोगिताको उद्घाटनमा भेट्रान्सतर्फ आयोजक सोल्मा स्पोर्टस् क्लब सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका विजयी भएका छन् । नेर्पा स्पोर्टस् क्लब नेर्पालाई १–० ले पराजित गर्दै सोल्मा र जिल्ला अस्पताल खोटाङलाई ३–० गोल अन्तरले पराजित गर्दै सोल्मा र नगरपालिकाले विजयी यात्रा शुरु गरेको हो ।
भेट्रान्स अन्तरगतका प्रतियोगितामा छ टिमले सहभागिता जनाएका छन् । यसअन्तरगत प्रतियोगितामा विजयीले नगद दश हजार र उपविजेताले पाँच हजारको साथमा मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । भेट्रान्स अन्तरगतको फाइनल खेल फागुन–१९ गते सञ्चालन हुने छ ।
यू–२३ प्रतियोगितामा जिल्लाका ७९ वडामध्ये १२ वडाले मात्र सहभागिता जनाएका छन् । जुनियर उमेर समूहका खेलाडीलाई लक्षित गर्दै आयोजना गरिएको गरिएको प्रतियोगिताका विजेता टिमले नगद एक लाख २२ हजार दुई सय २२, उपविजेता हुने टिमले ७१ हजार एक सय ११ र सेमिफाइनलिष्ट दुई टिमलाई प्रतिटिम ३५ हजार पाँच सय ५५ प्रदान गरिने क्लबका अध्यक्ष तथा जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राईले बताए । प्रतियोगिताका विजेता, उपविजेता तथा दुई सेमिफाइनलिष्ट टिमलाई नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने राईले बताए ।
राईका अनुसार खेलका अनुशासित टिमलाई पाँच हजार पाँच सय ५५ र बेष्ट प्लेयरलाई पाँच हजार पाँच सय ५५ प्रदान गरिने छ । प्रतियोगिताका बेष्ट किपर, बेष्ट डिफेन्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र राइजिङ प्लेयरले जनही तीन हजार तीन सय ३३ प्रदान गरिने छ । खेल आगामी फागुन २० गतेसम्म हुने छ । खेलमा सहभागी भएबापत हरेक टिमलाई प्रोत्साहन स्वरुप पाँच हजार, पहिलो चरणमा विजयी हुने टिमलाई थप चार हजार, दोश्रो चरणमा विजयी हुँदा थप पाँच हजार र तेश्रो चरणमा विजयी हुने टिमलाई थप छ हजार प्रदान गरिने राईले बताए ।
यू–२३ वडास्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तरगतको पहिलो खेल फागुन १४ गते दिउँसोबाट शुरु हुने छ । फागुन १४ गते दुईवटा खेल हुने र पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा र खोटेहाङ गाउँपालिका–६ इन्द्रणीपोखरी बीच बिहान ११ः३० बजे सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता समापनको दिन एकजना पत्रकारलाई पाँच हजार पाँच सय ५५ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । समापनको दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा गायिका अस्मिता अधिकारी लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित