उपचार गराउँन नसक्दा खोरमा थुनिइन् फुर्दिकु

  • प्रकाशित मितिः फाल्गुन १२, २०८०
  • 199 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, फागुन १२–
आमाले मायाँ गरी किनिदिएको...
चिठी तिमीलाई लेखु भन्छु...मनको कुरा मनमै रह्यो...
मट्टीको कस्सम तिमीलाई, सुम्निमा पारुहाङ...
चाहिदैन हिरा, चाहिदैन मोती, चाहिदैन सम्पत्ति, मलाई चोखो मायाँ देऊ...


यस्ता थुप्रै मार्मिक गीत छाती पिटी–पिटी भक्कानिदै गाइरहन्छिन् फुर्दिकु । माघ १६ गतेदेखि खोरमा थुनिएकी फुर्दिकु यसरी नै दिन–रात गीत गाएर सबैको मन अमिलो बनाई दिन्छन् । आर्थिक अभावले उपचार गर्न नसक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीकी मानसिक सन्तुुलन गुमाएकी २९ वर्षीया फुर्दिकु शेर्पा खोरमा थुनिएकी हुन् ।
मान्छे देख्नासाथ आक्रमण गर्ने, गालीबेइजत बोल्ने, घर छाडेर हिड्ने गरेपछि खोरमा थुन्नु परेको उनका ६५ वर्षीय बाबु पेमाक्षेतर शेर्पाले बताए । फुर्दिकुको माघ ३ गतेदेखि मानसिक सन्तुलन गुमेपछि माघ १६ गतेदेखि खोरमा थुनिएको हो । ‘आफ्नो सन्तान हो, मायाँ त जत्तिको होला नि, नथुनी हुदै भएन ।’ उनले भने–‘अरुलाई आक्रमण गर्ने, गालीबेइजत बोल्ने, घर छाडेर हिड्र्ने, ज्यानै जान्छ कि भन्ने डर, नथुनेर के गर्नु ।’
फुर्दिकुलाई २०६७ सालदेखि नै यो रोगले छोएको पेमाक्षेतरले बताए । एसएलसी परीक्षाका लागि तयारी हुदै गर्दा उनलाई यो रोगले छोएको पेमाक्षेतरको भनाई छ । ‘कोरोना महामारीको बेला पनि यस्तै भएको थियो, त्यत्तिखेर पाटन हस्पिटल लगेर ४५ दिन उपचार गरेपछि सन्चो भएको थियो ।’ उनले भने–‘तर अहिले उपचार गर्ने पैसा छैन, उसको उपचारमा भएभरको जग्गा कृषि बैंकमा राखेर थुप्रो खर्च गरियो, ठिक भएन ।’


फुर्दिकुलाई आँगनमा खोर बनाएर थुनिएको छ । भुइँमा न्यानो हुने गरी कपडा बिच्याइएको छ भने न्यानो सिरक दिइएको छ । खाना, खाजा, सौच सबै खोरमै गर्ने गरेको पेमाक्षेतरले सुनाए । फुर्दिकु दिनभर बेचेतमा गीत गाइरहन्छिन् । पेमाक्षेतरका दुई भाइ छोरा, तीन बहिनी छोरीमध्ये उनी परिवारको ठूली छोरी हुन् । छोरीको यो अवस्थापछि घरपरिवार पीडामा डुबेको छ ।
पछिल्लो समय फुर्दिकुको श्रीमान बितेको करिब साडे तीन वर्षपछि बेथा बल्झिएको ६२ वर्षीया आमा निम्ले शेर्पाले बताइन् । भोजपुर टेम्केमैयु गाउँपालिकाका छिनामखुका दाजाङ शेर्पासंग २०७२ सालमा बिबाह भएको थियो । श्रीमानको मुटुरोगका कारण उपचार गर्दा गर्दै निधन भएको र वर्ष दिने सकिनेसाथ फुर्दिकुको बिराम बल्झिएको निम्लेले सुनाइन् । ‘छोरीको यो अवस्था छ’, निम्लेले भनिन्–‘हाम्रो अवस्था कसले बुझिदेला र ।’


फुर्दिकुको ६ वर्षीय छोरा संगम छन् । उनी हुर्लुङस्थित जनकल्याण प्राविमा कक्षा ३ मा पढ्छन् । कहिलेकाहिँ छोरीले अचेतमा नातिलाई कुटपिट गर्ने गरेको पेमाक्षेतरले सनाए । ‘अस्ती एक दिन त आमाले कुटेर झण्डै नातिको ज्यान लियो ।’ उनले भने–‘धन्न थाहा पाएर बच्यो ।’
पेमाक्षेतरले छोरीको उपचारका लागि स्थानीय सरकारसंग दीर्घकालीन सहयोगको याचना गरेका छन् । ‘यो रोग छोरीको जुनीभरिको हो, हाम्रो सरकारले पछिसम्मलाई सहयोग गर्छ कि भन्ने लागेको छ ।’ उनले भने–‘सरकारले चाह्यो भने गर्न पनि सक्छ, तर मनदेखि नै सहयोगको भावना ुहनु प¥यो ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित