खोटेहाङ बोम्लुङको महेन्द्रोदय माविले ६१ औं वार्षिक उत्सव मनायो, उत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिताको बिजेतालाई खसी

  • प्रकाशित मितिः फाल्गुन ११, २०८०
  • 333 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ११–खोटेहाङ गाउँपालिका–२ वाप्लुखाको बोम्लुङस्थित महेन्द्रोदय माविको ६१ औं वार्षिक उत्सवको अवसरमा आयोजित साविक अन्तरवडास्तरीय भलिबल प्रतियोगिताको उपाधि स्वरूप साबिक वडा नं ८ मुखिताङले खसी हात पारेको छ । फागुन ११ गते सम्पन्न खेलमा साबिक वडा नं २ कपासेलाई हराउँदै दश हजार मुल्य बराबरको खसी सहित प्रमाणपत्र हात पारेको हो ।
उपविजेता कपासेले चार हजार बराबरको पाठी र तेश्रो हुने साबिक वडा नं १ बोम्लुङले तीन हजार बराबरको भाले जितेको छ । त्यस्तै अन्तर प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा महकन्या आधारभूत विद्यालय प्रथम, महेन्द्रोय मावि दोश्रो र संस्था समाजकाली आधारभूत विद्यालय तेश्रो भएको छ । प्रथम, दोश्रो र तेश्रो हुनेले नगद १५ सय, हजार र आठ सय हात सहित प्रमाणपत्र पाएका छन् ।
अन्तर आमा समूह स्तरीय नृत्य प्रतियोगितामा सचेतना आमा समूह बोम्लुङ प्रथम, दीपज्योति आमा समूह कपासे दोश्रो र सयपत्री आमा समूह सुम्लिखा तेश्रो भएको छ । प्रथम, दोश्रो र तेश्रो हुने समूहले दुई हजार, एक हजार पाँच सय र एक हजार नगद सहित प्रमाणपत्र पाएका छन् । शिक्षकहरुको हट पोटेटो (तातो आलु) प्रतियोगितामा सावाकाली माविका शिक्षक भानुभक्त सापकोटा पुरस्कार जितेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन थुलुङले बताए । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष रुपेश राईले पुरस्कार वितरण गरेका थिए ।
वार्षिक उत्सवको अवसरमा विभिन्न ११ वटा अक्षयकोषबाट विभिन्न विधामा ३६ जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । वार्षिक उत्सवकै अवसरमा गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बुवा–आमाको नामबाट ५० हजार बराबरको ‘धन्जुमान–लगनशोभा स्मृति अक्षयकोष’ स्थापना गरेका छन् । उक्त विद्यालयमा एसइइलाई लक्षित गरेर १२ जना विद्यार्थीलाई होस्टेलको समेत व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थुलुङले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित