ठेक्का लागेको ७ वर्षमा पनि धाप्लाङघाट पुल अलपत्रै

  • प्रकाशित मितिः फाल्गुन ८, २०८०
  • 205 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ८–जिल्लाको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटको पक्की पुल ठेक्का लागेको सात वर्षदेखि अलपत्र परेको छ । २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्ने गरी २०७३ असार–३० गते रसुवा–एसएनएस–पप्पु जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिए पनि विभिन्न बहानामा निर्माणको काम अलपत्र परेको हो ।
२५ करोड २५ लाख रूपैयाँको लागतमा दुई सय मिटर लामो पुलको वारिपारि एक–एक वटा पिलर र बीच भागमा एउटा वेलमात्र निर्माण गरी अलपत्र छाएिको छ । संझौता गर्ने मध्येको एसएमएस (स्वच्छन्द निर्माण सेवा)ले सुरुमा काम थालेको तर वेलमा ढुङ्गा फेला परेको र त्यसलाई फुटाउँन नसकेपछि त्यत्तिकै छाडेको पुल सेक्टर धरानका आयोजना प्रमुख दारुलाप्रसाद साहले बताए । ‘अहिले डिजाइन परिवर्तन गरेर काम गर्ने तयारी भइरहेको छ ।’ उनले भने–‘डिजाइन परिवर्तनका लागि गत जेठ तिरै सडक विभागमा पेश भएको छ, स्वीकृति हुने साथ काम सुरु हुन्छ ।’
२०८० जेठमा डिजाइन परिवर्तनका लागि सडक विभागमा पेश गरिए पनि विभागले बेलामा स्वीकृति नगर्दा काम ढिलाई भएको हो । दश महिनाअघि डिजाइन परिवर्तनका लागि सडक विभागमा फाइल पेश भए पनि अहिलेसम्म स्वीकृति नहुदा ढिलाइ भएको हो । ‘यो फागुनभित्र डिजाइन स्वीकृत भएर काम सुरु हुन्छ ।’–साहले भने–‘अबको काम संझौता गर्नेमध्येको रसुवा कन्ट्रक्सनले गर्ने छ ।’
लामो समयसम्म पुलको काम अलपत्र पारिएपछि चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले जानकारी दिए । बेलामा पुल नबन्दा दुई जिल्लाबीचको सिधा यातायात सञ्चालन हुन सकेको छैन । यो पुलकै कारण जिल्लाको विकासमा समेत असर परेको बाराहापोखरी गाउँपालिका अध्यक्ष सालिकराम बन्जराले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित