धाप्लाङघाट–सिन्ताङ–बराहापोखरी सडक स्तरोन्नतिको काम अन्तिम चरणमा

  • प्रकाशित मितिः फाल्गुन ७, २०८०
  • 154 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ७–बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका शहर जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । संघीय, प्रदेश र स्थानीय सरकारको बजेटबाट निर्माणाधीन िसडक अन्तिम चरणमा पुगेको हो ।
दुई सडक खण्डमा विभाजन गरेर सडक निर्माण गरिएको हो । धाप्लाङघाट–खाकरगैरा–शङ्खेपाखासम्मको करिब ५०० मिटरको सडक निर्माणको ठेक्का डिजिएस–देउपुर–जेविटीएम जेभीले लिएको हो । संघीय र स्थानीय सरकारको एक करोड ७२ लाख ४१ हजार दुई सय ४४ रूपैयाँको लागतमा २०८१ वैशाख मसान्तसम्ममा सक्ने गरी उक्त निर्माण कम्पनीले २०८० पुस ८ गते संझौता गरेको थियो । उक्त सडक खण्डको काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष सालिकराम बन्जराले बताए । ‘धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरासम्मको सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ ।’ उनले भने–‘अब १५–२० दिनभित्र काम सकिन्छ ।’
त्यस्तै प्रदेश र स्थानीय सरकारको ७७ लाख ११ हजार नौ सय ४० रूपैयाँको लागतमा भान्टार–स्वाँरागाउँ सडक खण्डको हजार मिटर सडकको काम पनि अन्तिम चरणमा पुगेको छ । उक्त सडकको काम शान्ति भूमि कन्स्ट्रक्सन प्रा.लि.ले लिएको हो । २०८१ बैशाख मसान्तसम्ममा सक्नेगरी गत मङ्सिर–२२ गते सम्झौता गरेको बन्जराले बताए । यसको काम पनि १५–२० दिनभित्रै सकिने बन्जराको भनाई छ । ‘यो सडक खण्डको काम पनि १५–२० दिनभित्रै सकिन्छ ।’ उनले भने–‘त्यसपछि प्राविधिकको सिफारिसको आधारमा भुक्तानी गरिने छ ।’
धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिको काम गरिए पनि सुनकोशीस्थित धाप्लाङघाटमा पक्की पुल निर्माण सम्पन्न नहुँदा तराईसँगको सिधा यातायात सञ्चालनमा अवरोध छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित