जालपामा सांस्कृतिक संग्रहालय स्थापना

  • प्रकाशित मितिः फाल्गुन ७, २०८०
  • 270 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ७–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सांस्कृतिक संग्रहालय स्थापना गरिएको छ । पुस्तौदेखिको पुराना घरेलु सामग्री सङ्कलन गरेर संग्रहालय स्थापना गरिएको हो ।
वडाअध्यक्ष दानबहादुर राईका अनुसार संग्रहालयमा दुई सय वर्ष पुरानो सामग्री समेत राखिएको छ । उनका अनुसार पुराना दूधेरी, काठको दूध चलाउँने डाडु, छालाको थैली, बेतको भुने, आरनमा आगो फुक्ने भाँटी, जाँतो, काठको कुपी (वत्ती), काठको माना, भाला, धनुषवाण, तरबार, काठको मुखुण्डो, कोक्रो, ढाकर, जाल, थकौली, ढडिया, चर्खा, हतासो, रासी, थुरी लगायतका सामाग्री राखिएका छन् ।


यसबाहेक काठको पन्यू, काठको चम्चा, काठको गिलास, हर्पे, ठेका, मदानी, दाबिलो, डोको, नाङ्लो, ओख्ली, लोहोरो, हलो, फुर्लुङ, मुढा, डोको, थुम्से, टोलङ, दाप, फिपी, घुर्रा, जुवा, हलुडा, सोइला, फिर्के, खरेटो, चिम्टा, हँसिया, कचिया, सिलौटा, दोहोरो, कर्द लगायतका सामग्री पनि राखिएका छन् । ‘हाम्रो पुर्खाहरुले कसरी जीवनयापन गरे ?, समाज कसरी यहाँसम्म आइपुग्यो ? भन्ने विषय संग्रहालयमार्फत बुझ्न सकिन्छ ।’ राईले भने–‘संग्रहालय स्थापनाले लोपोन्मुख सामग्री संरक्षण र पर्यटन प्रबद्र्धनमा समेत यसले टेवा पुग्छ भन्ने लागेको छ ।’


उक्त संग्रहालय जालपाको पुरानो गाविस भवनमा उक्त संग्रहालय स्थापना गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई र स्थानीय ८३ वर्षीय बलबहादुर राईले फागुन ६ गते संयुक्त उद्घाटन गरेर विधिवत रूपमा संग्रहालय स्थापना गरिएको वडाअध्यक्ष राईले जनाए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित