संकटमा होङ्मा पोखरी

  • प्रकाशित मितिः फाल्गुन ३, २०८०
  • 157 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, फागुन ३–जन्तेढुङ्गा गाउँपालिकाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय होङ्मा पोखरी संरक्षणको अभावमा संकटमा परेको छ । पौराणिक ग्रन्थ हिम्मत खण्डको पुराण र किरात मिथकमा समेत उल्लेख भएको यो पोखरीको संरक्षणका लागि आवश्यक बजेट उपलब्ध नहुदा संकटमा परेको हो ।
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा पर्ने करिब १५ सय उचाइमा रहेको यो पोखरीको पानी सुक्न थालेको छ । भएको पानी पनि धमिलो भएकाले यहाँ पाइने रातो माछा लोप हुने अवस्थामा पुगेको छ । अन्य ठाउँबाट पाइपमा पानी ल्याएर लगाइए पनि अपर्याप्त छ ।

यो पोखरी धार्मिक आस्थाको केन्द्र विन्दुको रूपमा परिचित छ । यहाँ पूजा–आराधना गरे मानव तथा जीव–जन्तुलाई समेत राम्रो हुने जनविश्वास रहेको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काको भनाई छ । ‘पौराणिक ग्रन्थ हिम्मत खण्डको पुराणमा छोरी भानुमतीलाई भेट्न आउँदा विष्णुले बराहापोखरीमा नुहाएको भन्ने उल्लेख छ ।’ खड्काले भने–‘यो होङ्मा पोखरी र बराहापोखरी बीचको धार्मिक सम्वन्ध भएकाले महत्वका साथ मानिन्छ ।’
शिकारी युगमा यो पोखरीमा पानी खान आउँने जीव–जनवारलाई ढुकेर/पर्खेर शिकार गर्ने चलन रहेकाले यसलाई होङ्मा (वान्तवा किराती राईको भाषामा ढुक्नु/पर्खनु) पोखरी भनेर किरात मिथकमा उल्लेख भएको गाउँपालिका अध्यक्ष अरुणादेवी राईले बताइन् । यहाँ बैशाखे पूर्णीमादेखि मङ्सिर पूर्णीमासम्म हिन्दूहरूले परेवा, पाठा र किरात समुदायले कुखुरा लगायतको बलिदिएर पूजा–आराधना गर्ने परम्परा छ ।


यो पोखरी संरक्षणका लागि वडा नं ५ चिसापानीले दश लाख, प्रदेश सरकारले चार वर्षअघि दश लाख र दुई वर्षअघि पाँच लाख विनियोजन गरे पनि उक्त रकमले नपुगेको अध्यक्ष राईले बताइन् ।यो रकमले पोखरीको तल्लोभागमा बाँध र शिकारीथाननेर पर्खाल लगाइएको राईले जनाइन् । आर्थिक वर्ष २०७९/८० देखि संघ र प्रदेशबाट समपुरक, समानिकरण, विशेष बाहेकका अन्य कुनै पनि बजेट नपरेकाले संरक्षण गर्न नसकिएको उपाध्यक्ष खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित