लाटकोसेरो तथा हुच्चील उत्सव सुरु

  • प्रकाशित मितिः माघ १८, २०७५
  • 1425 पटक पढिएको
  • संवादताता

सविना अछामे
जालपा (खोटाङ), माघ १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपामा लाटकोसेरो तथा हुच्चील उत्सव सुक्रबार सुरु भएको छ । प्रकृति जोगाउ“न मद्दत गर्ने लाटकोसेरो तथा हुच्चील संरक्षण गर्ने उद्देश्यले आयोजित दुई दिने उत्सवको पहिलो दिन करिब साडे चार हजार पाहुनाले अवलोकन गरेका छन् ।
उत्सवमा हुच्चीलको स्तम्भ, हुच्चील तथा लाटकोसेरोको अस्थायी संग्रहालय अवलोकन, लोपोन्मुख सांस्कृतिक कार्यक्रमहरु संगीनी, हाकपारे, मारुनी, लाखे, साकेला प्रस्तुत गरिएको छ । लोपोन्मुख खेलहरु गिर, लाथ्रो काट्ने लगायतको पनि प्रदर्शन गरिएको छ । यसबाहेक लोपोन्मुख बाजाहरु मुर्चुङ्गो, पीपीरी, यलम्बर, मादल, बासुरी समेत प्रस्तुत गरिएको छ ।
उत्सवको अवसरमा पा“च बुदे घोषणापत्र समेत पारित गरिएको छ । उक्त घोषणापत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाइने लाटकोसेरो तथा हुच्चील संरक्षण गर्दै हुच्चीललाई वडा पंक्षी घोषणा गरिएको छ । यसलाई नेपाल सरकारसंग अनुमोदन गराउने उल्लेख गरिएको छ ।
लाटकोसेरो तथा हुच्चील उत्सव प्रत्येक वर्षको फेबु्रवरीको पहिलो सुक्रबार र शनिबार जालपामा मनाउने घोषणा गरिएको छ । स्थानीय सरोकारवाला, जालपा माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालय अन्तरगत गठित इको क्लबहरुको क्षमता अभिबृद्धि गर्दै प्रकृति संरक्षणमा सहभागी गराउने उल्लेख छ । उक्त वडामा गुलेली निषेधित क्षेत्र घोषणा गरिएको छ । यसक्षेत्रमा पाइने जैविक विविधताको अवथा थाहा नभएकाले चरा, स्तनधारी, उभयचर, वनस्पति लगायतका सम्पूर्ण जैविक विविधताको अध्ययन अनुसन्धान तथा संरक्षणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र वडा नं १२ जालपाले नियमित रुपमा बजेट विनियोजन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
प्रकृतिको साथी र जालपाको आयोजनामा भएको उत्सवको उद्घाटन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गरेका हुन् । उत्सवमा प्रकृतिको साथीका कार्यकारी निर्देशक राजु आचार्यले लाटकोसेरो तथा हुच्चील प्रकृतिका लागि उपयोगी भएकाले यसको संरक्षणका लागि उत्सव आयोजना गरेको बताए । उत्सवको उद्घाटन मन्तव्यमा प्रमुख अतिथि विशाल भट्टराईले लाटकोसेरो तथा हुच्चील संरक्षणमा लाग्नु पर्नेमा जोड दिएका छन् । प्रकृति एउटा महत्वपूर्ण पक्ष भएकाले यसका लागि नीतिगत योजना निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । पूर्व सभासद दुर्गाजयन्ती राईले प्रकृतिको संरक्षण र सांस्कृतिक पहिचानको व्यवस्थापन गर्नु पर्ने बताइन् । यसै आधारमा नीतिगत योजना बनाउनु पर्ने धारणा राखिन् ।
विशेष अतिथि प्रदेशसभा सदस्य राजन राईले लाटकोसेरो तथा हुच्चील संरक्षणका लागि उत्सवले सन्देश दिएको बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले उत्सव ऐतिहासिक र गरिमामय भएको धारणा व्यक्त गरे । संघीय समाजवादी फोरम नेपाल खोटाङका अध्यक्ष नवीन राईले लाटकोसेरो तथा हुच्चील उत्सवको सन्दर्भमा लोपोन्मुख सांस्कृतिक पक्ष जीवित रहेको र यसैको संरक्षणमा जनप्रतिनिधिहरु लाग्नु पर्ने धारणा राखे । उत्सवको पहिलो दिनको कार्यक्रम जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित