विदेश पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

  • प्रकाशित मितिः माघ २२, २०८०
  • 211 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ २२–विदेश पठाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा घर भई मोरङ बेलबारी–२ बस्ने ३३ वर्षीय प्रेम पुरी पक्राउ परेका हुन् ।
पुरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न ६ जनालाई विदेश पठाई दिन्छु भन्दै ठगी गरेको आरोपमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटबाट माघ २१ गते पक्राउ गरी दिक्तेल ल्याएर माघ २२ गते सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।
कार्कीका अनुसार पुरीले दुबईको सेरागन होटलमा काम पाउँने गरी पठाई दिने भन्दै दिक्तेलका इन्द्रबहादुर खड्का, कर्णबहादुर खड्का, राजेन्द्र खड्का, डिल्ली खत्रीबाट ५०–५० हजार, सोमबहादर भण्डारीबाट ३५ हजार र जापान पठाई दिने भन्दै बाबुराम खड्काबाट ६ लाख ६० हजार ठगी गरेको उजुरी परेको छ । उनीहरुले २०७५ माघ ८ गते आइएमई मार्फत रकम पठाएको प्रहरीले जनाएको छ ।
खोटाङमा वैदेशिक रोजगारमा पठाई दिन्छु भन्दै ४६ ठगिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) खोटाङका संयोजक सन्तोष राईले बताए । उनका २०७७ देखि २०८० पुससम्म ४६ जना ठगिएका छन् । यसमध्ये चिनेजानेकाबाट १९ जना, जिल्ला बाहिरका एजेन्टबाट २० जना र मेनपावरबाट ७ जना ठगिएका हुन् ।
चालु आर्थिक वर्ष मात्र १६ जना ठगिएका छन् । खोटाङका विदेश जान चाहनेबाट एजेन्ट र मेनपावरले एक करोड पाँच लाख १३ हजार ठगी गरेको पाइएको छ । उनीहरु अधिकांशले आफूहरु ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित