विद्यालयमा अनियमितता गरेको भन्दै छानविन सुरु

  • प्रकाशित मितिः पुष २४, २०८०
  • 308 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित चम्पावती माविको विज्ञान विज्ञान प्रयोगशाला, भवन निर्माण र खानेपानी योजनामा अनियमितता भएको भन्दै छानविन सुरु गरिएको छ । उक्त संरचना निर्माण अपारदर्शी भएको भन्दै उजुरी परेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले छानविन सुरु गरेको हो ।


आर्थिक वर्ष २०७६/७७ मा विज्ञान प्रयोगशालामा ६ लाख ५० हजार,भवन निर्माणमा १५ लाख रुपैयाँ र खानेपानी योजनामा सात लाख ४० हजार अनियमितता भएको भन्दै छानविन सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले बताए । ‘हामी निर्वाचित भएपछि शुन्यसहनशीलतालाई मध्यनजर गरेर काम गरिरहेका छौं ।’ राईले भने–‘अनियमितता भए त्यसमा संलग्न जोसुकैलाई पनि छाडिदैन ।’


उक्त विषयमा छानविनका लागि विद्यालय पुग्दा यससम्वन्धी कागजातहरु नै गायव भएको पाइएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए । पुस १९ गते नगरप्रमुख भट्टराई, उपप्रमुख राई, नगरपालिकाका इन्जिनियर रामहृदय पटेल लगायतका प्राविधिकहरुको टोलीले छानविनमा जाँदा योजनाहरुको कागजात फेला नपरेको भट्टराईले बताए । ‘छानविन गर्न सम्वन्धित विद्यालय पुग्दा अनियमित भएको भनिएको योजनाहरुको कुनै पनि कागजात भेटिएन ।’ भट्टराईले भने–‘कागजात नभेटिएपछि वडा अध्यक्ष, वडा सचिव लगायतको रोहबरको मुचुल्का गरिएको छ ।’
विद्यालय सञ्चालन गरिएका योजना अनुगमन गर्दा विज्ञान प्रयोगशाला खासै सञ्चालनमा नआएको, कम्प्युटर कक्षमा धेरैजसो कम्प्युटरहरु नचल्ने देखिएको, भूकम्प पुनः निर्माण प्राधिकरणको योजनाबाट बनेको चार कोठे भवन माथि नै विज्ञान प्रयोगशाला र कम्प्युटर कक्ष भवन थपिएको, धारा भन्दामुनि खानेपानी ट्याङ्की बनाइएकाले विद्युत मार्फत धारामा पानी तान्नु पर्ने भएकाले महशुलले आर्थिक भार पर्ने देखिएको, पुस्तकालय सञ्चालन नभएको लगायतका समस्या देखिएको नगरउपप्रमुख राईले बताए । अनियमितताबारे अख्तियारमा समेत उजुरी परेको र अख्तियारले पत्र समेत पठाएको नगरपालिकाका एक कर्मचारीले बताए ।


यसबाहेक विद्यालयको खाजा वापतको रकम समेत स्थानीय गाउँबेसी साना किसान कृषि सहकारीमा जम्मा गर्ने गरेको र उक्त रकम समेत अपारदर्शी हिसावले खर्च गरिएको पाइएको उपप्रमुख राईले बताए । उक्त सहकारीकी प्रवन्धक लिला ढुङ्गानाका अनुसार विभिन्न समयमा रकम जम्मा गरिए पनि खातामा एक हजार छ सय रुपैयाँ मात्र देखिन्छ । ‘विभिन्न समयमा रकम जम्मा गरिए पनि अहिले चाहिँ एक हजार ६ रुपैयाँ मात्र खातामा देखिन्छ ।’–ढुङ्गानाले भनिन् ।
विद्यार्थीको खाजा वापतको रकम सम्वन्धित विद्यार्थीलाई दिनु पर्नेमा सहकारीमा जम्मा गरिएकाले यस विषयमा पनि छानविन हुने नगरप्रमुख भट्टराईले बताए । ‘विद्यार्थीको खाजा वापतको रकम त सम्वन्धित विद्यार्थीलाई दिनु पर्ने हो ।’ भट्टराईले भने–‘कसरी सहकारीमा गैरकानुनी हिसावले जम्मा गरियो ? यो विषयमा पनि अनुसन्धान गर्छौ ।’


विज्ञान प्रयोगशाला, कम्युटर कक्ष, खानेपानी योजना लगायतका योजनाहरुमा कुन प्रक्रियाबाट खर्च गरिएको भन्ने समेत एकीन नभएको भट्टराईले बताए । उक्त विद्यालयकी प्रधानाध्यापक जेनी राईले भने यसबारे आफूलाई केही थाहा नभएको बताइन् । ‘म त भर्खर प्रअ भएकी हुँ ।’ राईले भनिन्–‘यो विषयमा म भन्दा अघिको प्रअ गोविन्द पोखरेललाई सोध्नु पर्ने हुन्छ ।’
सबै आर्थिक कारोबार निवर्तमान प्रअ गोविन्द पोखरेलले गरेको र यसबारे गरिएका निर्णयहरुमा आफूले सही मात्र गरेको निवर्तमान अध्यक्ष उद्धब पोखरेलले बताए । ‘निर्णय गरेर मलाई सही गर्नुस भन्नु हुन्थ्यो, ठिकै होला भनेर गर्थेँ ।’ उनले भने–‘मलाई जहाँसुकै लगे पनि यही कुरा भन्छु, सत्य बोल्दा कानुनले दोषी ठहराए भोग्न तयार छु ।’


निवर्तमान प्रअ गोविन्द पोखरेलले भने अनियमितता नभएको दाबी गरे । विद्यार्थीको खाजा सम्वन्धमा विद्यार्थीलाई दिएर उब्रिएको रकम स्टाफसंग सल्लाह गरेरै सहकारीमा जम्मा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित