दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख भट्टराई लगायत विरुद्ध उजुरी, नगरप्रमुख पुगे गृह मन्त्रालय

  • प्रकाशित मितिः पुस २३, २०८०
  • 769 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई लगायत निर्माणमा सम्बद्ध विरुद्ध उजुरी परेको छ । दिक्तेल अस्पातालचौक–आहाले सडक निर्माणमा संलग्नका लागि भट्टराईले जमानी बसेर सामान उपलब्ध गराएको तर पूरै रकम उपलब्ध नभएकाले सम्वन्धित पक्ष समेतलाई उपस्थित गराई छलफल गराउँनु पर्ने माग राख्दै पुस २२ गते उजुरी परेको हो ।
उक्त सडक खण्डमा काम गर्ने खोटाङ हलेसी कन्स्ट्रक्सन प्रालिले आर्थिक अभाव देखाएर काम गर्न नसकेपछि दश दिनका लागि भनेर विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिबाट १७ लाख ५० हजार बराबरको निर्माण सामाग्री लगेको तर अहिलेसम्म आठ लाख रुपैयाँ मात्र उपलब्ध भएकाले बाँकी रकम उपलब्ध गराउँन माग गर्दै जिल्ला प्रशासन र प्रहरीमा उजुरी परेको हो । ‘ठेकेदारले पैसा नभएको भन्दै काम नगरेकाले जमानी बसेर सामान उपलब्ध गराइयो ।’ नगरप्रमुख भट्टराईले भने–‘अहिले अप्ठेरोमा परियो ।’
नगरप्रमुख भट्टराईले खोटाङ हलेसी कन्स्ट्रक्सन सम्वद्ध शिव चौलागाई सम्पर्क विहीन भएपछि पुस २३ गते गृह मन्त्रालय पुगेर सम्पर्क विहीन ठेकेदारलाई पक्राउ गरी कारबाही प्रक्रिया बढाउँन अनुरोध गरेका छन् । ‘फोन गर्दा उठाउँदैनन्’ उनले भने–‘म्यासेज गर्दा रिप्लाई दिदैनन्, त्यही भएर गृह मन्त्रालय पुगेर पक्राउ गरी कारबाहीको लागि अनुरोध गरिएको छ ।’
भट्टराईले दश दिनमा रकम दिने शर्तमा गत जेठ २६ गते सामान लिएको तर अहिलेसम्म रकम उपलब्ध नभएको उजुरीमा उल्लेख छ । भट्टराईले पसलेको विश्वासका लागि रकम नभएको आफ्नै खाताको १५ लाख रुपैयाँको चेक समेत दिएको खुलासा भएको छ । उनले विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिको नाममा असार ९ गते चेक काटेका छन् ।
तत्काल रकम उपलब्ध नदिए चेक बाउन्समा उजुरी दिने भन्दै विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालि सम्बद्धले दवाव दिएका छन् । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले छलफल गरेर समस्या समाधन गर्ने बताए । प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले भने–‘सिडिओ सा’पकोमा पनि उजुरी परेकाले पहिले त्यहाँ छलफल होला, त्यसपछि समस्या समाधान भएन भने मात्र यहाँको प्रक्रिया अघि बढ्ला ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित