खोटाङमा ३७ करोड बढीको सुन्तला उत्पादन

  • प्रकाशित मितिः पुष १९, २०८०
  • 515 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १९–जिल्लामा ३७ करोड बढीको सुन्तला उत्पादन भएको छ । पछिल्लो समय सुन्तला खेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादनमा पनि बृद्धि भएको हो ।
सात सय ४२ हेक्टरमा यो वर्ष जिल्लाभर तीन हजार सात सय ३५ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सन्जयकुमार पण्डितका अनुसार यो वर्ष ३७ करोड ३५ लाख मुल्य बराबरको सुन्तला उत्पादन भएको हो । ‘प्रतिकेजी एक सय रुपैयाँको दरले हिसाव गर्दा ३७ करोड ३५ लाख रुपैयाँ हुन आउँछ’–पण्डितले भने ।
पण्डितका अनुसार जन्तेढुङ्गा गाउँपालिकामा ५.६३ मेट्रिकटन, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ५.५० मेट्रिकटन, बराहापोखरीमा ५.३६ मेट्रिकटन, रावाबेसी गाउँपालिकामा ५.२९ मेट्रिकटन, हलेसी तुवाचुङ नगरपालिकामा ५.२६ मेट्रिकटन, खोटेहाङ गाउँपालिकामा ५.२० मेट्रिकटन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४.९० मेट्रिकटन, साकेला गाउँपालिकामा ४.५८ मेट्रिकटन, केपिलासगढी गाउँपालिकामा ४.४० मेट्रिकटन र ऐसेलुखर्क गाउँपालिकामा ४.१३ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।


जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङबाट मात्र एक करोड बढीको सुन्तला निकासी भएको स्थानीय जगत राईले बताए । उनका अनुसार उक्त वडाको फगतपुर, चोभे, सातमारा, केराबारी लगायतको सुन्तलाबाट एक करोड बढी भित्रिएको हो । कसैले आफैंले बजारसम्म पु¥याएर बिक्री गरेको र कसैको बगानमै ठेकेदारले बेचेको उनले सुनाए । ‘मैले चाहिँ आफैंले बजार पु¥याएर छ लाख जतिको बेचे ।’ उनले भने–‘कसैले चाहिँ बोटमै ठेकेदारलाई बेचे ।’
यो वर्ष भन्दा अर्को वर्ष अझै सुन्तला उत्पादन बढ्ने उनले सुनाए । सुन्तलाबाट राम्रा् आम्दानी हुने भएपछि धेरैले व्यावसायिक रुपमा रोप्न थालेको राईले बताए । ‘मैले रोपेको पाँच सय बोटमध्ये दुई अढाई सयले उत्पादन दिन थालेको छ, अर्को वर्ष अरुले पनि उत्पादन दिन थाल्छ ।’ उनले भने–‘धेरै साथीहरुले पनि सुन्तला रोपेकाले अर्को वर्ष झनै उत्पादन बढ्छ ।’
जन्तेढुङ्गा गाउँपालिकाकै वडा नं ५ चिसापानीको घोर्ले एउटै गाउँबाट एक करोड बढीको सुन्तला निकासी भएको स्थानीय कृषक गान्दीप राईले बताए । उक्त वडाको वाचिपाला, खुुटा लगायतका गाउँबाट पनि उत्तिकै मात्रामा निकासी भएको उनको भनाई छ । उनीहरुले बोटमै ठेकेदारलाई बेचेको राईले सुनाए । ‘मेरो ११३ बोट सुन्तला बोटमै साडे चार लाखमा बेचेँ ।’ उनले भने–‘बोटमै ठेकेदारलाई बेच्दा झन्जट पनि भएन, पैसा पनि एकमुष्ट आयो ।’


दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा सुन्तला खेती गर्ने राम कुवरको बगानमा भने यो वर्ष असिनाले क्षति पु¥याएकाले गत वर्षको तुलनामा यो वर्ष आधा मात्र उत्पादन भएको छ । गत वर्ष १५ लाखको सुन्तला बेचेको तर यो वर्ष भने ८–९ लाख रुपैयाँको मात्र बिक्री हुने अनुमान गरेका छन् । अहिले दिक्तेल र गाइघाटमा बिक्री भइरहेको उनको भनाई छ । ‘यो वर्ष सुन्तलाबाट कम्तिमा २० कमाउँने इच्छा थियो तर असिनाले खत्तम गरिदियो’–उनले भने । उनले लगाएको पाँच सय बोट सुन्तलामध्ये एक सय ३० बोटले उत्पादन दिन थालेको छ । अर्को वर्ष अरु बोटले पनि उत्पादन दिन थाल्ने भएकाले थप आम्दानी बढ्ने उनको भनाई छ ।
रावाबेसी गाउँपालिकामा पनि सुन्तलाबाट राम्रै आम्दानी भएको वडा नं २ खार्पाका राजबहादुर मगरले बताए । ‘सुन्तलाबाट वर्षभरि माछा–मासु र अन्य खाने कुराका लागि पुग्छ ।’–उनले भने ।
अन्य स्थानीय तहहरुमा पनि सुन्तलाबाट राम्रो आम्दानी भएको छ । जिल्लामा यातायातको सुविधा भएपछि बजारसम्मको पहुँच बिस्तार भएपछि सुन्तला खेतीप्रति किसानको आकर्षण बढेको छ । खोटाङको सुन्तला स्वादिलो हुने भएकाले बजारको समेत समस्या नभएको कृषि प्रसार अधिकृत पण्डितले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित