तेश्रो जनआन्दोलनको आवश्यक छ : पूर्व संस्कृति मन्त्री किराती

  • प्रकाशित मितिः पुष १, २०८०
  • 365 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १–पूर्व संस्कृति मन्त्री गोपाल किरातीले पहिचान सहितको अधिकार प्राप्त गर्नका लागि तेश्रो जनआन्दोलन आवश्यक रहेको बताएका छन् । पुस १ गते साँझ दिक्तेलको किरात चौकमा भएको कोण सभालाई संवोधन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।

पहिलो र दोश्रो जनआन्दोलनले पहिचान सहितको अधिकार प्राप्त नभएकाले निर्णायक तेश्रो जनआन्दोलनको आवश्यकता परेको पूर्व मन्त्री किरातीले बताए । तेश्रो जनआन्दोलनका लागि आधार तय भइसकेकाले अब आन्दोलन पछि नहट्ने समेत किरातीको भनाई थियो । यसका लागि लाजेहाङले सहादत प्राप्त गरिसकेको र तमाम उत्पीडित समुदायले समेत आन्दोलनको आवश्यकता महसुस गरिसकेकाले यो अधिकार प्राप्तिको आन्दोलन अझ सशक्त हुने मन्त्री किरातीले बताए ।

किराती लगायतका पाँच जना मङ्सिर २६ गते र प्रदेश १ पुनःनामाङ्कन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरात लगायत आठ जना पुस १ गते पक्राउ परेका थिए । उनीहरुमध्ये मङ्सिर २६ गते पक्राउ परेका पूर्व संस्कृति मन्त्री किराती लगायत जनता समाजवादी पार्टी खोटाङका जिल्ला सदस्य राजेश राई, वाइसीयल नगर इन्चार्ज विजय राई, जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राईलाई र नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङलाई अभद्र व्यवहार मुद्दामा जनही एक हजार रुपैयाँका दरले धरौटीमा छुटेका छन् ।

पुस १ गते विहान पक्राउ परेका दिक्तेलको किरातचौकबाट पक्राउ परेका प्रदेश १ पुनःनामाङ्कन संघर्ष समिति खोटाङका संयोजक तथा नेकपा माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सचिव युगसन किरात, प्रदेश १ पुनःनामाङ्कन युवा संघर्ष समिति खोटाङका संयोजक तथा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष निर्मल राई, संघर्ष समितिका जिल्ला सदस्य तथा जनता समाजवादी पार्टीका जिल्ला सचिव सुनिल राई, संघर्ष समितिका जिल्ला सदस्य तथा नेकपा एकीकृत समाजवादीकी जिल्ला सचिवालय सदस्य संगीता राई, संघर्ष समितिका जिल्ला सदस्य सोनामहाङ राई, संघर्ष समितिका जिल्ला सदस्यहरु मेलिना राई, उपार्जन राई, र लक्ष्मी राईलाई मुद्दा नचलाई पुस १ गते साँझ नै छुटेका छन् । पक्राउ परेका पहिचानपक्षधरहरु रिहाई भएपछि दिक्तेलबजारमा नाराबाजी गर्दै किरात चौकमा पुगेर कोणसभा गरेका छन् । कोणसभामा प्रदेश १ पुनःनामाङ्कन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरात, जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राई लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित