पक्राउ परेकाहरुलाई छाड्नु पर्ने माग राख्दै पहिचानपक्षधरहरुको प्रदर्शन

  • प्रकाशित मितिः मंसिर २९, २०८०
  • 353 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर २९–पक्राउ परेका पूर्व संस्कृति मन्त्री गोपाल किराती लगायतकालाई छाडनु पर्ने माग राख्दै पहिचानपक्षधरहरुले मङ्सिर २९ गते दिक्तेल बजारमा प्रदर्शन गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई अवरोध पु¥याएको आरोपमा मङ्सिर २६ गते पक्राउ परेका पूर्व संस्कृति मन्त्री किराती लगायत अन्य पाँच जनालाई विना सर्त रिहाईको माग गर्दै प्रदर्शन गरेका हुन् ।
पूर्व संस्कृति मन्त्री किराती, जनता समाजवादी पार्टी खोटाङका जिल्ला सदस्य राजेश राई, वाइसीयल नगर इन्चार्ज विजय राई, जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राई र नुनथलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङलाई विना सर्त रिहाईको माग गरेका हुन् ।
किरात चौकबाट जुलुस त्रिवेणीचौक हुँदै प्रशासनिक क्षेत्रमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा पहिचानवादीहरु रविन खम्बु, किसन भुजेल, किरण रुम्दाली, मोतिचन्द्र राई, उपार्जुन चाम्लिङ लगायतले पहिचानको आधारमा नामाङ्कन हुनु पर्ने धारणा राख्दै पक्राउ परेकाहरुलाई विना सर्त छाड्न माग गरेका हुन् ।
पहिचानपक्षधरहरुले प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई ज्ञापन पत्र समेत बुझाएका छन् । पहिचानको आन्दोलनमा उत्रिएका पूर्व संस्कृति मन्त्री किराती लगायत अन्य पाँच जनालाई झुटो मुद्दा लगाएर हिरासतमा राखिएको भन्दै तत्काल विना सर्त रिहाई गर्नु पर्ने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित