पहिचानपक्षधरहरुको बन्द आज पनि जारी

  • प्रकाशित मितिः मंसिर २७, २०८०
  • 318 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २७–पहिचानपक्षधरहरुले आज मङ्सिर २७ गते पनि बन्द जारी राखेका छन् । बन्दले लामो तथा छोटो दूरीका सवारी साधन चल्न दिएका छैनन् ।
कोसी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कन गर्नु पर्ने माग राख्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् । एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई मध्यनजर गर्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् ।

बन्दले सर्वसाधारणलाई सास्ती भएको छ । दिक्तेलबाट काठमाडौं हिडेका सवारी साधान हलेसीमा रोकेर राखेका छन् । रोकिएका गाडीहरु प्रहरीले छुटाउँन खोज्दा घम्साघम्सी गरेको छ । अन्य ठाउँमा पनि सवारी रोकिएको आन्दोलनकारीहरुले बताएका छन् । पहिचानका आधारमा पुनःनामाङ्कन नभइन्जेलसम्म चरणबद्ध आन्दोलन जारी रहने संघर्ष समिति खोटाङका संयोजक युगसन किरातले बताए ।

सडक अबरुद्ध गरेको अभियोगमा मङ्सिर २६ गते हलेसीबाट पूर्व संस्कृति मन्त्री गोपाल किराती, जनता समाजवादी पार्टी खोटाङका जिल्ल सदस्य राजेश राई, वाइसीयल नगर इन्चार्ज विजय राई र जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राईलाई प्रहरीले पक्राउ गरेका छन् । नुनथलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङलाई पक्राउ गरेका थिए । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा राखिएको छ ।

भोजपुरमा पनि मङ्सिर २६ गते चार प्रदर्शनकारी समातिएका छन् । प्रदेश १ पुनःनामाङ्कन संघर्ष समिति भोजपुरका संयोजक विदुर राई, जनता समाजवादी पार्टीका जिल्ला सदस्य मिना राई, युवा इन्चार्ज दिनेश राई, रामप्रसाद राई गाउँपालिका इन्चार्ज पवन चाम्लिङ राई समातिएका हुन् । शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरी पक्राउ गरिएको भन्दै विना सर्त तत्काल रिहाई गर्नुु पर्ने पहिचानपक्षधरहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित