कडा सुरक्षा स्कटिङमा दिक्तेल आइपुगे एमाले अध्यक्ष ओली

  • प्रकाशित मितिः मंसिर २६, २०८०
  • 283 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २६–नेकपा एमालेका अध्यक्ष केपी ओली कडा सुरक्षा स्कटिङमा मङ्सिर २६ गते साँझ दिक्तेल आइपुगेका छन् । ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा रहेका ओली १३ औं दिनमा दिक्तेल आइपुगेका हुन् ।

ओखलढुङ्गाको हर्कपुरमा आयोजित सभालाई सम्वोधन गरेको दिक्तेल आएका हुन् । उनको हलेसी दर्शन गर्ने कार्यक्रम भने स्थगित भएको छ । एमाले खोटाङले ओलीको हलेसी दर्शन गर्ने कार्यक्रम पत्रकार सम्मेलनमा सार्वजनिक गरेको थियो ।

हर्कपुरमा जाने एमाले नेता–कार्यकर्ताहरुलाई समेत पहिचानपक्षधरहरुको ठाउँ–ठाउँमा अवरोध गरेका थिए । खोटाङबाट हर्कपुर जाने एमाले नेता–कार्यकर्ताहरुलाई हुर्लुङ, नुनथला, हलेसी, दुर्छिम, बाहुनीडाडाँ लगायतका ठाउँहरुमा रुख तथा गाडी तेर्छाएर अवरोध गरेका थिए । त्यसलाई छिचोल्दै सुरक्षाकर्मीको स्कटिङमा हर्कपुर पुगेका थिए ।

सडक अबरुद्ध गरेको अभियोगमा हलेसीबाट पूर्व संस्कृति मन्त्री गोपाल किराती, जनता समाजवादी पार्टी खोटाङका जिल्ल सदस्य राजेश राई, वाइसीयल नगर इन्चार्ज विजय राई र जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राईलाई प्रहरीले पक्राउ गरेको छ । नुनथलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङलाई पक्राउ गरेको छ । उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा राखिएको छ । बन्दकर्ताहरुले मङ्सिर २६गते दिनभर सार्वजनिक यातायात चल्न दिएनन् । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले ओलीको भ्रमणमा कुनै असर नपर्ने गरी सुरक्षा व्यवस्था मिलाएको बताएका छन् ।

भोजपुरमा चार प्रदर्शनकारी समातिएका छन् । प्रदेश १ पुनःनामाङ्कन संघर्ष समिति भोजपुरका संयोजक विदुर राई, जनता समाजवादी पार्टीका जिल्ला सदस्य मिना राई, युवा इन्चार्ज दिनेश राई, रामप्रसाद राई गाउँपालिका इन्चार्ज पवन चाम्लिङ राई समातिएका हुन् । शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरी पक्राउ गरिएको भन्दै विना सर्त तत्काल रिहाई गर्न पहिचानपक्षधरहरुले विज्ञप्ती मार्फत जनाएको छ । ओलीको यात्रालाई बिथोल्न ओखलढुङ्गा, खोटाङ, भोजपुर धनकुटा लगायतका पहिचानपक्षधरहरु जुटेका छन् । प्रत्येक स्थानीय तहमा संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएकाले ओलीलाई यात्रा छिचोल्न चुनौति छ । 

एमालेले भने प्रदेश १ लाई कोसी नामाङ्कन गर्नुमा एमाले सहित कांग्रेस माओवादी पनि भएको र एमालेलाई मात्र लक्षित गरिएको भन्दै आएको छ । कोसी प्रदेश नामाङ्कन गर्ने ८२ प्रदेश सांसद र एमाले अध्यक्ष ओली, महेश बस्नेत र योगेश भट्टराईलाई लक्षित गरेर विरोध गरिरहेका छन् । पहिचानपक्षधरहरुले भने ओली, बस्नेत र भट्टराईले पहिचान विरोधी अभिव्यक्ति दिएकाले उनीहरु विरुद्ध पनि आन्दोलित हुनु परको बताउँदै आएका छन् । राजाको शासन कालमाझै स्कटिङ गरेर यात्रा गर्नुको तुक नभएको प्रदेश १ पुनःनामाङ्कन संघर्ष समिति खोटाङका संयोजक युगसन किरातले बताए । ‘जनताको नेता हो भने छाती फुकाएर भ्रमण गर्नु पथ्र्यो तर पहिचानवादीहरुको अस्तित्व नामेट पार्ने प्रमुख व्यक्ति भएकाले लुकेर हिड्नु पर्ने अवस्था आएको छ ।’ उनले भने–‘यसरी भागेर कतिदिन सक्नु ?’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित