सातौं दक्षिण एसियाली करातेमा नेपालले २९ स्वर्ण पदक सहित शीर्ष स्थान ओगट्यो, खोटाङका तीन खेलाडीले पाँच पदक ल्याए

  • प्रकाशित मितिः मंसिर १८, २०८०
  • 1098 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, मङ्सिर १७–सातौं दक्षिण एसियाली कराते प्रतियोगितामा खोटाङका तीन सहभागी मध्ये तीनै जनाले पदक हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा मङ्सिर १७ गते सम्पन्न प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी युमासम राईले महिला माइनस् ६८ केजीमा तथा कुमिते समूह फाइटमा स्वर्ण, उक्त नगरपालिकाकै वडा नं १२ जालपाका रुरीहाङ दुमीले पुरुष सिनियर माइनस् ७५ केजीमा रजत तथा कुमिते समूह फाइटमा पनि रजत र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका दिपेश राईले जुनियर ५० केजी तौल समूहमा कास्य पदक हात पारेका हुन् । 


योसंगै नेपाल सातौं दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा २९ स्वर्ण पदक जित्दै शीर्ष स्थान हासिल गरेको छ । नेपालले थप २६ रजत र ६ कास्य पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्यसाथ दोश्रो भयो । नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा तेश्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्य हात पा¥यो।


त्यस्तै ४ स्वर्ण, १ रजत र १९ कांस्यसाथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कांस्यसाथ श्रीलंका (एनओसी) टिम पाँचौं तथा २ कांस्यसाथ भुटान छैटौं भए ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य–सचिव युवराज लामा, कराते महासंघका महासविच दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित