नेपाल संवत् ११४४ सुरू, अबदेखि सरकारी कागजातमा नेपाल संवत उल्लेख गरिने

  • प्रकाशित मितिः कार्तिक २८, २०८०
  • 238 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २८–नेपाल संवत् ११४४ कात्तिक २८ गते देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यसलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । खोटाङको दिक्तेलस्थित शंखधर साख्वा चौकमा नेपाल ११४४ सुरुवातीको अवसरमा एक कार्यक्रम गरी मनाइएको छ । दिक्तेल बजार सामाजिक गुठीले आयोजना गरेको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाअध्यक्ष नवराज राई, वडा नं ५ का वडाअध्यक्ष दिनेश घिमिरे, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्य लगायत सहभागी थिए ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विक्रम सम्वत ९३७ मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराएकाले नेपाल संवत मनाउँन थालेको नेवार समुदायका अग्रजहरुको भनाई छ । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको उनीहरु बताउँछन् । लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो । लिच्छविकालअघि शक संवत प्रचलनमा थियो । नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् मानिन्छ ।
२००७ मा प्रजातन्त्रको स्थापना भएपछि नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउँने गरिन्छ ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
२०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा छ । आज कात्तिक २८ गतेदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत पनि उल्लेख गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित