आज राति लाग्ने चन्द्रग्रहण नेपालबाट पनि देखिने

  • प्रकाशित मितिः कार्तिक ११, २०८०
  • 217 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
काठमाडौं, कात्तिक ११-कात्तिक ११ गते राति लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालबाट देख्न सकिनेछ । खण्डग्रास ग्रहणको सुरुवात राति १ बजेर २० मिनेटबाट हुनेछ । यसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा पुग्नेछ । त्यसपछि घट्दै गएर राति २ बजेर ३८ मिनेटमा सकिनेछ ।
चन्द्रग्रहण नेपालका साथै युरोप, अफ्रिका र एसियाको पूरै भूभागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाको केही स्थानबाट देखिनेछ । चन्द्रग्रहणको कुल अवधि १ घण्टा १८ मिनेटको हुनेछ ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमासअनुसार कार्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तब पृथ्वीको छाया चन्द्रमामा पर्दछ । चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाले चन्द्रमा छेकिन्छ, जसलाई चन्द्रग्रहण भनिन्छ ।

सूर्य, पृथ्वी र चन्द्रमा पूर्णिमा वा औंसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुँदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ डिग्रीको कोण बनाएको हुन्छ । चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई बिन्दुमा काटेको हुन्छ । यी दुई बिन्दुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित