झाप्पा, बुङ्देल र हण्डखामा दूधकोसीको खानेपानी निस्क्यो

  • प्रकाशित मितिः आश्विन ३०, २०८०
  • 210 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ३०–पुस्तौदेखि पानीको समस्या झेलिरहेका हलेसी तुवाचुङ नगरपालिका वडा नं १ बाहुनीडाडाँ, ३ च्यास्मिटार र ४ बडहरेमा लिफ्टिङ प्रविधिबाट असोज २९ गते दूधकोसीको पानी निकालिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको करिब ९६ करोड ४५ लाख चार हजार एक सय ३८ रुपैया“को लागतमा दूधकोसीबाट पम्पिङ प्रविधिको खानेपानी आयोजना अन्तरगत बाहुनीडाडाँको झाप्पा, बडहरेको बुङ्देल र च्यास्मिटारको हण्डखामा निर्माण गरिएको ट्याङ्कीमा पानी निकालिएको हो ।
उक्त नगरपालिकाको वडा नं १ बाहुनीडाडाँको कदुवा लिलिमाबेसीबाट भुम्जुडाडाँ र उक्त नगरपालिकाकै वडा नं ८ सल्लेको महादेवबेसीबाट हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी काभ्रेडाडाँमा पानी तान्न दिवा–महादेव–खिम्ती निर्माण कम्पनीले २०७६ मङ्सिरमा सक्ने गरी २०७४ साल असार २१ गते संझौता गरेको थियो । उक्त काम करिब ३१ करोड ७५ लाख ९६ हजार ५६ रुपैयाँको लागतमा सक्न गरी लिएको थियो । यसमध्ये बाहुनीडाडाँको कदुवा लिलिमाबेसीबाट भुम्जुडाडाँसम्मको मेनलाइन र शाखा लाइनको काम सकिएको तर शाखा लाइनबाट उपभोक्ताको घरसम्मको पाइपलाइन विस्तारका केही काम भने बाँकी रहेको आयोजनाका इन्जिनियर राम दाहालले बताए । सल्लेको महादेवबेसीबाट हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी काभ्रेडाडा“सम्मको मेन लाइनको काम भने करिब दश प्रतिशत बाँकी रहेको दाहालले सुनाए ।
मेनलाइन बाहेक पानी वितरणका लागि भने अर्कै निर्माण कम्पनीले ठेक्का लिएको थियो । लिलिमाबेसीबाट भुम्जुडाडाँसम्म निकालिएको पानी वडा नम्बर १, २, ३ का २४ सय नौ घरधुरीलाई वितरणको ठेक्का लामा क्टङक्सन लिएको हो । ३७ करोड ९३ लाख रुपैयाँको लागतमा २०७७ साउन १ गते सक्ने गरी २०७५ साउन १ गते संझौता गरेको थियो ।
यसअन्तरगत चार लाख लिटर क्षमताको तीन वटा ट्याङ्की, तीन लाख लिटरको एउटा, एक लाख लिटरको पाँच वटा ट्याङ्की र चार किलोमिटर पाइप लाइन र महादेवबेसीबाट तुवाचुङको काभ्रेडाडा“सम्म चार लाख लिटर क्षमताको तीन वटा, तीन लाख लिटरको एउटा र एक लाख लिटर क्षमताको ५ वटा ट्याङ्की तथा आठ किलोमिटर मेन लाइनको पाइप विस्तार गर्ने योजना पर्छ ।
त्यस्तै महादेवबेसीबाट काभ्रेडाडाँमा निकालिएको पानी नगरका वडा नं ५, ६ र ७ का २४ सय ८८ घरधुरीलाई वितरण गर्ने ठेक्का रमण–सगरमाथा–सगरमाथा घिमिरे लिएको थियो । करिब २६ करोड ७५ लाख ५१ हजार ९ रुपैयाँको लागतमा २०७७ साउन १ गते सक्ने गरी २०७५ साउन १ गते संझौता गरेको थियो । दुवै लाइनको ठेकेदारको काम करिब सकिएको तर उपभोक्ताले गर्ने काम भने बाँकी रहेको दाहालले बताए । उपभोक्ताले गर्ने काम पनि धमाधम भइरहेको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित