चिसापानी बजारमा अनुगमन गर्न अबरोध

  • प्रकाशित मितिः आश्विन २८, २०८०
  • 199 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २८–जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा बजार अनुगमनमा व्यवसायीले अवरोध गरेका छन् । असोज २७ गते इलाका प्रशासन कार्यालय खोटाङ बजारको नेतृत्वमा स्थानीय राम राउतको गोदाममा अनुगमन गर्ने क्रममा अवरोध गरेका हुन् ।
दसैंतिहार नजिकिदै गर्दा पसल अनुगमन गर्ने थाहा पाएपछि पसलै बन्द गरेर हिड्नका साथै गोदाममा अनुगमन गर्दा अबरोध गरेको इलाका प्रशासन कार्यालय खोटाङका प्रमुख मोहनबहादुर राईले बताए । होलसेल पसल सञ्चालक राउतले अन्य साना व्यवसायीहरुलाई म्याद नाघेको खाद्यवस्तु दिने गरेकाले उनको गोदाममा अनुगमन गर्ने क्रममा अबरोध गरेका हुन् ।
अनुगमन टोलीले चिसापानी बजारका सबै खुद्रा पसल अनुगमन सकेपछि राउतको गोदाम अनुगमन गर्न गएको राईले सुनाए । ‘बजार अनुगमन गर्ने क्रममा म्याद नाघेको खाद्यवस्तु पाइयो ।’ राईले भने–‘म्याद नाघेको खाद्यवस्तु दिने ठूला होलसेलरकोमा अनुगमन गर्ने क्रममा अबरोध गरियो ।’
होलसेल सञ्चालक राउत चिसापानी माविका प्रअ पनि हुन् । राउतले भने श्रीमती विरामी भएकाले ढोका लगाएर निस्किसकेपछि दोश्रो चोटी अनुगमन गर्न खोजेकाले आफू नभ्याएको बताए । ‘एक चोटी अनुगमन भइसकेको थियो, मेरी श्रीमती विरामी भएकाले निस्कि सकेको थिएँ, गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्कालाई अनुगमनका लागि चाबी दिन खोज्दा उहाँ मान्नुभएन ।’ राउतले भने–‘मैले अनुगमन गर्न अवरोध गरेको होइन ।’
यसै बेला आफूमाथि हातपात भएको राउतले बताए । हातपातमा संलग्न जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङका ४२ वर्षीय ज्ञानबहादुर राईलाई असोज २७ गते पक्राउ गरी फेरि छलफल गर्ने शर्तमा असोज २८ गते छाडिएको चिसापानीस्थित प्रहरी निरीक्षक राजु निरौलाले बताए ।
अनुगमन टोलीले चिसापानी बजारबाट म्याद नाघेका एक ट्याक्टर सामान बरामद गरेको छ । बजार अनुगमनमा फेला परेका एक लाख ६९ हजार ३२० रुपैयाँको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको राईले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित