लालुपाते सहकारीले बचत अपचलन गरेको भन्दै बचतकर्ताहरुको प्रदर्शन

  • प्रकाशित मितिः आश्विन १९, २०८०
  • 307 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असोज १९-दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचत अपचलन गरेपछि बचतकर्ताहरुले दिक्तेलबजारमा असोज १९ गते विरोध प्रदर्शन गरेका छन् । बचतकर्ताहरुको साँवा, ब्याजसहित बचत रकम फिर्ता गर्नु पर्ने माग राख्दै विरोध प्रदर्शन गरेका हुन् ।
पीडित बचतकर्ताहरुले संघर्ष समितिको बनाएर आन्दोलन थालेका हुन् । उनीहरुले स्थानीय हेलिप्याडबाट ¥याली सुरु गरी पुरानो बेशक्याम हुंदै रत्नपार्क, रत्नपार्क–त्रिवेणीचोक हुंदै जिल्ला प्रहरी कार्यालय–जिल्ला अदालत गेट पुगेर फेरि हेलिप्याडमै पुगेर कोणसभापछि समापन भएको थियो ।
कोणसभामा बचतकर्ता तथा ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सहकारी सञ्चालनमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको र यदाकदा छोड्ने प्रपञ्च भइरहेको भन्दै त्यसो भएमा थप चर्को आन्दोलन हुने बताए । बचतकर्ताको पैसा ढिलोचाँडो जसरी पनि फिर्ता हुने घिमिरेले आशा व्यक्ति गरे ।
बचतकर्ताले आफ्नो साँवा, व्याजसहित पैसा नपाएसम्म विरोध कार्यक्रम निरन्तर हुने बचतकर्ता धनिराम नछुङ राईले बताए । बचत अपचलनमा संलग्न अन्यलाई पनि पक्राउ गरी कानुनी कारबाही गर्दै बचतकर्ताको पैसा छिटो भन्दा छिटो पाउँनुपर्ने उनको भनाई छ ।
पैसा हिनामिना गरेपछि सहकारी विरुद्ध २०७९ फागुन २ गते सात जनाको नामबाट प्रहरीमा किटानी जाहेरी परेको र हाल तीन जना पक्राउ परेको बचतकर्ता लेखनाथ आचार्यले बताए । आचार्यले मात्रै ५४ लाख सहकारीमा बचत गरेका छन् ।
बचतकर्ता हरिप्रसाद आचार्यले पनि न्याय नपाएसम्म पक्राउ परेकालाई छोड्न नहुने बताउँदै विरोध कार्यक्रम भने भइरहने बताए । २०७८ बैशाख १५ गते कोभिडका कारण सहकारीका अध्यक्ष अनिल जोशीको निधन भएपछि सहकारीको हरहिसाब लथालिङ्ग भएको आन्दोलनकारीको भनाई छ ।
अध्यक्षको निधन भएको २९ महिनापछि पनि सहकारी नचलेपछि आफ्नो लाखौ रकम फिर्ताको माग राख्दै बचतकर्ताहरु दैनिक सहकारीको कार्यालय पुग्छन् तर, कार्यालय बन्द छ । २०७८ बैशाख १६ पछि कुनै पनि कारोवार नभएको सहकारीमा ४ हजार ५०० जना बचतकर्ता र ७४ जना ऋणी रहेका छन् । ऋणीबाट साँवा ब्याजगरी करीव १० करोड उठ्न बाँकी छ । न्युनतम ३० हजारदेखि ७५ हजारसम्म ऋण लगेका छन् । साँवा ब्याजगरी बचतकर्तालाई ७ करोड फिर्ता दिनुपर्ने सहकारीले जनाएको छ । सहकारीका एकजना पदाधिकारीका अनुसार अध्यक्ष र म्यानेजरले मात्रै कारोवार गरेको देखिन्छ । दिक्तेलको पूरानो बैंकचोकमा अहिले सहकारीको कार्यालय पूर्णरुपमा बन्द छ ।
सहकारी सञ्चालनमा संलग्न तीन जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरिसकेको छ । अदालतबाट म्याद थप गरेर पक्राउ परेकाबाट सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम गोप्य राखिएको छ । बचतकर्ताहरुले बचत फिर्ताका लागि भन्दै संघर्ष समिति गठन गरी २०७९ माघ ९ गते पहिलो पटक सहकारी विरुद्ध विरोध ¥याली निकालेको थियो ।

तस्बिर सौजन्य : दिलीप खत्री

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित