‘कोसीमा सबै मिलेर सरकार बनाउँने प्रयास थालिएको छ’ : मन्त्री मेन्याङ्बो

  • प्रकाशित मितिः आश्विन ४, २०८०
  • 262 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ४–कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तिलककुमार मेन्याङ्बोले प्रदेशमा सबै मिलेर सरकार बनाउँनु पर्ने धारण राखेका छन् । प्रेस चौतारी नेपाल खोटाङले असोज ४ गते दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोशी प्रदेशमा कुनै पनि राजनीतिक दलको बहुमत नभएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सहमतीय सरकार निर्माणको प्रयास थालिएको बताएका हुन् ।
‘जनताले सबै दल मिलेर सरकार बनाउँने जनमत दिएकाले सबै दल मिल्नुको विकल्प छैन ।’ उनले भने–‘प्रदेश सरकार अस्थिर हुँदा जनतामा सङ्घीयताप्रति नै बितृष्णा सिर्जना भएको छ ।’
अहिलेकै अवस्थामा मध्यावधि निर्वाचनमा जाने स्थिति पनि नभएको मेन्याङ्बोले बताए । यदि निर्वचनमा गएको खण्डमा एमाले तयार रहेको तर निर्वाचनमा जाँदा राज्यको ठूलो खर्च हुने र राज्यको खर्च जोगाउन सबै दल मिलेर प्रदेश सरकारलाई स्थायित्व दिन हाम्रो पार्टीको तर्फबाट पहल थालिएको उनको भनाई छ ।
प्रदेश नामाकरणको विषयमा असतुष्ट पहिचान पक्षधरलाई वार्तामा आउँन आव्हान गरे । पहिलो प्रदेशसभाले प्रदेशको नाम राख्नु नसकेको र दोस्रो प्रदेशसभाले जसरी पनि नामाकरण गर्नैपर्ने वाध्यता रहेकाले सबै दलको समर्थनमा नामाकरण गरेको मेन्याङ्बोले दाबी गरे ।
पहिचान पक्षधरसंगको वार्ता समितिका संयोजकसमेत रहेका मेन्याङ्बोले बिमति राख्ने सबैमा छुट रहेको तर पहिचान पक्षधरलाई आन्दोलन नगर्न आग्रह गरे । ‘बिमति राख्न सबैमा छुट छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो ।’ उनले भने–‘बल प्रयोग हुँदा कसैले साथ दिँदैन, बिमति भएका विषयमा वार्ता गरौँ । त्यो नै सबैको लागि उत्तम विकल्प हो ।’
मन्त्री मेन्याङ्बोले प्रदेश सरकारबाट सञ्चालित योजनाका बारेमा प्रचार–प्रसार गर्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित