काम नगर्ने निर्माण कम्पनीको औजार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नियन्त्रणमा

  • प्रकाशित मितिः आश्विन ३, २०८०
  • 153 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज ३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काम अलपत्र छाड्ने निर्माण कम्पनीको औजार/उपकरण असोज २ गते नियन्त्रण लिएको छ । दिक्तेल–खोटाङबजार सडक अन्तरगत दिक्तेलस्थित अस्पतालचोकदेखि लफ्याङको दुबेचिवासम्मको सडक स्तरोन्नतिको ठेक्का लिएर अलपत्र पार्ने ढुकुछु-बगाले-बिएन्टी जेभीको औजार उपकरण नियन्त्रणमा लिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता तथा वडा नं ५ लफ्याङका वडाअध्यक्ष दिनेश घिमिरेका अनुसार एउटा स्काभेटर, दुईवटा टिपर, एउटा रोलर र ग्रेडर नियन्त्रणमा लिएको हो । यी उपकरणमध्ये ग्रेडर भगाउँदै गरेको अवस्थामा वडा नं ७ दोर्पाचिउरीडाडाँको ढिकुरेबाट नियन्त्रणमा लिएको घिमिरेले बताए । यो कम्पनीको उपकरण २०७९ कातिक २० गते पनि नगरपालिकाले नियन्त्रणमा लिएको थियो । त्यत्तिखेर पनि कामै नगरी भाग्न खोजेपछि नियन्त्रणमा लिएको घिमिरेले बताए । निर्माण कम्पनीले काम गर्ने प्रतिबद्धता जनाएपछि उपकरणमा लगाएको ताला खोलिएको घिमिरेको भनाई छ । त्यो बेला एउटा स्काभेटर र एउटा व्याकहो लोडरमा ताला लगाएर नियन्त्रणमा लिएको थियो ।
ढुकुछु–बगाले–बिएन्टी जेभी निर्माणले पाँच करोड छ लाख ५५ हजार पाँच सय ८६ रुपैयाँको बजेटमा दिक्तेलस्थित अस्पतालचोकदेखि लफ्याङको दुबेचिवासम्मको (तीन किलोमिटर) सडकको स्तरोन्नतिको काम २०७९ पुस २८ गतेसम्म सक्ने गरी २०७८ जेठ २० गते सम्झौता गरेको थियो ।
तस्बिर सौजन्य : दमन राई

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित