शिक्षा विधेयक २०८० : विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी हुन शिक्षकको पेशागत संघ÷संगठनको आह्वान

  • प्रकाशित मितिः आश्विन १, २०८०
  • 409 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज १–जिल्लास्थित शिक्षकहरुको विभिन्न पेशागत संघ÷संगठनका प्रतिनिधिहरुले असोज ३ गतेदेखि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गरेर आन्दोलनमा जान आह्वान गरेको छ । शिक्षा विधेयक २०८० ले शिक्षक तथा विद्यार्थीको अधिकार खोसेको भन्दै जिल्लास्थित सबै सामुदायिक विद्यालयहरु बन्द गरेर आन्दोलनका लागि काठमाडौं जान आह्वान गरेका हुन् ।
नेपाल शिक्षक संघका मेजर राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका टंक कटवाल, नेपाल शिक्षक महासंघ खोटाङका मिनकुमार दाहाल, नेपाल शिक्षक परिषदका कृतमान राई, प्रगति शिक्षक संगठनका गोविन्द कटवाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका कृष्ण गुरुङ, राष्ट्रिय शिक्षक समाज नेपालका उर्मिला राई र नेपाल विद्यालय कर्मचारी परिषदका गोपाल श्रेष्ठले संयुक्त विज्ञप्ती जारी गरी सामुदायिक विद्यालय बन्द गरी आन्दोलनमा सहभागी हुन आह्वान गरेका हुन् । आन्दोलनका लागि भोलि असोज २ गते नै काठमाडौं जाने नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष मिनकुमार दाहालले बताए ।
भदौ २७ गते संघीय सदनमा दर्ता भएको विद्यालय शिक्षासम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले शिक्षक, विद्यालयका कर्मचारी बालिविकास सहजकर्ता लगायत पेशाकर्मीहरुको ट्रेड युनियन अधिकार, शिक्षकका पेशागत बृत्तिविकास, पेशागत सुरक्षा लगायतका समस्याहरु र नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ को शिक्षासम्वन्धी हकमा व्यवस्था भएका अनिवार्य र निःशुल्क शिक्षा प्राप्त गर्ने मौलिक हक र धारा ३९ को बालबालिकासम्वन्धी हकमा उल्लेखित प्रारम्भिक बालबाविकास र बालसहभागिताको हक समेत निमुट पार्दै सार्वजनिक शिक्षालाई ध्वस्त पारी शिक्षामा ब्यापक निजीकरण, ब्यापारीकरण र व्यवसायीकरण गर्दै पञ्चायत कालको शिक्षा ऐन २०२८ भन्दा कालो शिक्षा विधेयकको संज्ञा दिदै त्यसको विरुद्ध आन्दोलित हुन विज्ञप्तीमा उल्लेख छ । सरकारले मंगलबार वार्तामा बोलाए पनि विधेयक फिर्ता नलिएसम्म आन्दोलन फिर्ता नलिने नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष मिनकुमार दाहालले बताए । जिल्लामा मावि ९३, १–८ आधारभूत ६७ र १–५ तीन सय ३७ सामुदायिक विद्यालयमा दुई हजार दुई सय शिक्षक, चार सय ३५ विद्यालय कर्मचारी र बालबाविस केन्द्रमा तीन सय ६७ कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित